Dec 7, 2008

जरासन्ध

कृष्ण प्रसार्इ

जरासन्ध फेरि बिउँझिएको छ
उसलाइ थाहा छ ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा ।
अहिले यतिखेर -
तिम्रो भुखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुज्रिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाई लान्छना लागो भने पनि,
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ,
जरासन्धले उसलाई पनि किनेको छ ।
जरासन्ध ऊ संग पनि मिलिसकेको छ ।

उसले जरासन्धकै नुनको सोझो गर्दैछ ।
सपालु छ जरासन्ध,
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ,
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध,
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर,
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा,

कहिले मृगको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई,
लालपूर्जा मिच्नलाई

च्याखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध,
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध,
बन्दी बनाउन तिमीलाई ।
खवरदार !
असंख्य बाहाना वनाएर,
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध,
मात्रै दाउ हेरेर वसेको छ ।

अनामनगर, काठमान्डौ
जरासन्ध - महाभारतकालिन असुरराज जस्ले सयौं निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो ।

No comments: