Oct 30, 2008

बिन्ती !


बसन्त मोहन अधिकारी

अध्यारो गुँफा
अन्कन्टार छ ।
छामछुम छामछुममा
कयौं पटक लडे ।
भाषण र नारा
बाचा र कसम
शब्दलाई आधार मान्दा
धेरै बर्षलडे ।
आखाँ नदेखे पनि
कान सुन्छु ।
यहि अध्यारोमा
छोराछोरी हराएका धेरै भयो ।
घुम्दै फिर्दै
तिहार ! तिमी आएछौ ।
यो गुफामा
तिम्रो दियो
शान्तिको हातबाट बाल्न पाए
प्रकृती सम्पदाको
म धनी राष्ट
यै पानी पिउँन पाए
न पैसा लाग्थ्यो ।
न हात फैलाउनु पर्थ्यो ।
न म,
आखाँ नदेखेर लड्नु पर्थ्यो ।
मेरो बिन्ती लागोस्
लौ न तिहार !
शान्तिलाई डाँक
घरको दियो बालौं ।
उज्यालो पारौं ।
ताकी म,
सबैलाई चिन्न सकुँ ।
दृष्य खुट्टयाएर
सत्य असत्य
छुट्टयाउन सकुँ ।
अब म !
आफ्नै घरमा
आखाँ देखेर
हिड्न सकुँ ।

म मदन र मेरी मुना


टंक सम्वाहाम्फे

उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्,

हङकङमा हामीले
परीपरीका सपनाहरू देख्यौ
तर मात्रै देख्यौ
थरीथरीका सपनाहरू भेट्यौ
तर मात्रै भेट्यौ
किनकी यहाँ त ती सपनाहरू
देख्ने र भेट्ने संयोग मात्र मिलेको छ
तर पनि त्यसको मोहले
छुन खोज्दा
यहाँको अग्लो महलहरू भन्दा माथि
अग्लिएकाछन् सपनाहरू
चुम्न खोज्दा
यहाँको भूमिगत रेल भन्दा
तिव्र गतिमा
हुईकिएकाछन् सपनाहरू
भेट्न खोज्दा
यहाँको दुईतले गाडीभन्दा
हतार-हतार
गुडेकाछन् सपनाहरू
त्यसैले म मदन र मेरी मुना
सपनाहरूको रमिते मात्र भएकाछौँ
तै पनि हाम्रा मनहरू
त्यसै त्यसै लोभिएकाछन्
सपनाहरूलाई देखेर
यसकारण सपना खोज्नेहरूको
भीडमा धकेलेर
हङकङ शहरमा
बर्षौदेखि हराई रहेकाछौँ
उत्ता गाउँलेहरू सोच्दै होलान्
मदनले
सपनाको महल ठड्याई सक्यो
उत्ता शहरका
आफन्तहरू भन्दै होलान्
मुनाले सपनाको भकारी
भराई सकि
तर यता हङकङ शहरमा
म मदन र मेरी मुना
जीउँनुको बाध्यताले
जीवन यन्त्रवत बनाई रहेकाछौँ
किनकी दिनभरीको
जोखीम र हैरान मोलेर
हरेक साँझ लखतरान
निदाएका हुन्छौँ
र हरेक विहान
अल्लामको घण्टिले
शिथिल जीउलाई उठाईरहेका हुन्छौँ
यो यन्त्रवत जीवनको भोगाईहरूमा
खोई कहाँ छ र ?
बिहानीको त्यो मीठो निंद्रा
खोई कहाँ छ र ?
मखमलको त्यो नरम ओछ्यान
खोई कहाँ छन् र ?
ती आफन्त जनहरू
यहाँ त सपनाले सवै सुखशान्ति
र चयनहरू
निर्मम लुटि दिएको छ
निर्मम खोसी दिएको छ,

हङकङका चाईनिज सिफुहरू
सपना दौडेको देख्छन्
घोडारेसमा
र घोडासँगै दौडाउँछन्
महिनाभरी कमाएको सपना पनि
तिनै सिफुहरू
सपना नै छापीएको देख्छन्
मार्क सिक्समा पनि
र स्वास्नीको सपनाले
किनी दिन्छन् मार्क सिक्स
तर, जब घोडा दौड सकिन्छ
र मार्क सिक्स खोलीन्छ
तब उनीहरूको हातबाट
सपना टाढी सकेको हुन्छ
तत्क्षण पाश्चातापले पोलिँदै
रीसले मुर्मुरीदै
र्फकन्छन् खाली हात आफ्नै घरतिर
यसरी सपनाले
म मदन र मेरी मुनालाई
मात्र नभएर
चाईनिज सिफुहरूलाई पनि
छक्याउँनसम्म छक्याएको छ
तै पनि हामीले
सपनालाई खोज्न छोडेनौँ
खोजीरहेकाछौँ
यता हङकङ पसेदेखि
त्यसकै पछिपछि दौडिरहेकाछौँ
थाहा छैन सपना कहिले भेटिने हुन् ?
थाहा छैन सपना सपना भएर
कहिले आउँने हुन् ?
तर पनि खोज्ने क्रम निरन्तर जारीछ
यसरी हङकङमा
म मदन र मेरी मुनालाई
वर्षौ देखि सपनाले अल्मल्याएकाछ ।

मेरो देशको माटो


सुनिता गिरी

आहा ! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको जिन्दगीमा आफु एक्लो पाए

डाँडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरहृयो हिमालको छाया
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला

लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आटो पीठो आफ्नै मीठो सुहाउने भेष

देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्झी आउँछु लड्दै पड्दै मेरो देशको माटो

हङकङ

बटुवा


बिमल गिरी

उफ...कति लामा र
अनन्त घुम्तिहरु
अन्जुलिमा विश्वाशका खडेरी उघ्घाउदै
बर्तमानको भ्रुणलाई
आँखामा भ्रम पार्दै
कहाली लाग्दा
अक्कर र खोचहरी पारगर्दै
सुनगाभा फक्राउने
जीबनको सपना बुन्दै
छहरा र पहरामा
मुस्कान छर्न
बिहान खोजिरहेछ
बिचरा बटुवा
धाक्रे र तोक्मासगै
कैले दियालेको ओरालो
कैले सागुरिको उकालो
कैले पिलुवा र अरुणका
बगरहरुमा सुन्यतालाई रिक्ततालाई
ढाक्रेभरी बोकी
उराठलाग्दा बिभत्स बर्तमान
बोकिरहेछ
बिचरा बटुवा।

नाङिएकाछन खुट्टाहरु तुसारोले
चोइटिएकाछन कुर्कुचाहरु
प्रतेक सडक र गल्लिहरुमा
स्नेहका पोल्टाबाट
गौथलिले पठाएकी सातु
अरुणको पानीसग
गुन्द्रुक भिजाएर गरीबीसग पिउदै
उकुसमुकुस चपाइरहेछ
बिचरा बटुवा

रित्तो शुभकामना


आचार्य प्रभा

खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद
त्यसैले के शुभकामना दिउ तिमीलाई ?
ह्रीदयमा संतापको दियो बालेर
बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर
फिक्का हाँसो हाँसी रहेछौ
दशै ,तिहारको रमझम
अब त दन्त्यकथा बनी सक्यो
भाईटीकाको आशिष र मान्यजनको
आशिर्वाद इतिहासको अक्षर बनिसक्यो
त्यसैले.....मेरा सह्रीदयिहरु हो
मैले चाहेर पनि शुभकामना
दिन सकिन अनी........
मनले चाहेर पनि
रमाइलो चाडको अनुभव पोख्न सकिन
किनकी म,तिमी ,हामी सबै
आफ्नोपन र परम्पराबाट बहिष्क्रीत
बनी रहेछौ
भावनाले सम्झेर पनि
इच्छा ,आकङ्क्षालाई
मारिरहेछौ

Oct 28, 2008

यस पालिको तिहार


रत्न बहादुर घर्ती मगर

मखमली फूलको माला त्यसै सुकी जाने भो
दिदी बहिनी भेत्ने मौका अब कहिले आउँने हो ।

पोहोर साल नी निधार मेरो भाईटीकामा रित्तो भो
दिदी बहिनी घरमा मलाई सम्झेर नै दिन बित्यो हो ।

अर्को वर्ष भन्दा भन्दै गए धेरै तिहारहरु
भरपूर्ण आशा भए नी रित्तै भए सधैं निधारहरु ।

छोरो अब आउछ भनी आशामा आमा बसेकी होली
धेरै भो सुन्न नपा भाग्यमानी भएस बावु भन्ने बोली ।

साथी भाई सबै मेरो बाटो हेरी बस्या होलान्
भैलो दिउसी खेल्न भनी सबै सुर कस्या होलान् ।

म त यतै विदेशमा बस्ने भए कल्पनामा
न्यासो लाग्छ मनमा मेरो साथीभाईको सम्झनामा ।

दिदी भेत्ने आशा मेरा यसपालि नी अधुरो भो
दिउसो भैलो खेल्ने चाहना यसपालि नी अपुरो भो ।

यसपालि नी सिरानी मेरो आँशुले नै भिजाउने भो
के छ परदेशी भनी यस तिहारले नी गिजाउने भो ।

हाल यु. के.

धारहरु - जुगौं देखि काटिरहेछन्


परिहास सुब्बा

धारहरुले कहिल्यै
काट्न छाडेका छैनन् ।

हार्नेहरुले अर्को पल्ट जीते पनि
जीत्नेहरुले फेरी खेल्दा हारे पनि
जस्तै जस्तै
उकालोहरु चढ्न छाडेनन्
ओह्रालोहरु नझर्न मानेनन्
उस्तै गरी युगान्त सम्मलाई
आकारमा बद्लिए
रुप सम्म बद्लिए
तर काट्न छाडेनन् ।

हेप्पीनेहरु तात्तिए पछि
मात्तिनेहरु आत्तिए
तब युद्ध शुरु भयो
भीडन्तको निगरानी भीत्र
मृत्युहरु रहे
मान्छेले मान्छे मार्नु
कहां सम्मको मानबता हो
जब महाभारत युद्धमा
रामले रावण मारि दुनियांको मन जीते
सोच्नै पर्ने भो
अमरसिंह हरुले ईतिहास भीरे
उसै गरी ।

धारहरु हिंसा सँगै पनि बाँचीरहे
अरु अरु मरिरहेको बेला
अन्ततोगोत्व
धारहरु धार नै रहिरहे
अमरिसंह जस्तै
राम हरु राम नै रहे
धारहरु जस्तै
सिर्फ रुपमा बद्लिए
आकारमा बद्लिए
तर
युगान्त सम्मलाई धारहरुले
नकाट्न मानेनन्
काट्न छाडेनन्
बस् जुगौं देखि काटिरहेछन् ॥

यात्रा मिथकको गडतिरमा


टंक वनेम

मिथक हो
सावाला खोला कहाँ बग्थ्यो
खोलाको पानी
धमिलो थियो कि ? नीलो थियो
मिथकले
सप्रसंङ्ग ब्याख्या गर्दैन
तर एउटा कुरा चाहि पक्कै हो
सावाला खोला वारि पारि
मृत्युमा बिजोर बिजोर

उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो
उसो हो भने
त्यो बन्दुक पड्किने थुम्का थुम्कीहरुमा
अहिले पनि
बारुदको गन्ध छर्दै
मृत्युको बिलौना र
उत्सवको हर्षित मोडमा
एउटा मिथक बोल्छ
जूनको सन्तान जूनले लग्यो
घामको सन्तान घामले लग्यो
बुझनु पर्ने कुरा
सावाला खोला मिथक हो
मिथक सावाला खोला होइन ।

मिथकका अगुल्टाहरुले कुटिएर
सावाला खोलाको गति रोकिन्दैन
मिथककै पेरुङ्गो भित्र च्यापिएर
अस्तित्वको बाजी किन हार्नु
आरेन्नी सुठी नैं सारो
कति लाउँनु यो निधारमा
उत्तरार्ध सरलीकृत भास्यटिका
कति मान्नु
त्रिकालदर्शी रहस्यात्मक कारण
कति समात्नु
इतिहास सम्मत नभएको पुत्छर
कति पालना गर्नु
धृर्त्याइको युगान्तकारी उपदेश
कति आँखा चिम्लनु
कुटनीतिक दृष्टान्तको अभ्रि्राय
कति स्वीकार्नु
नपुंसक सकाइपूर्ण अनुनय बिनय ।

बरु
सावाला खोला सून्दर बग्छ
सावाला खोलाको
अक्षत योनीमा
त्यो बृथाभिमान जन्मदैन
जसरी
पुरुषसुक्त मन्त्रले
चार ठाउँमा सृष्टिको द्धार खोल्यो
मिथक सावाला खोला हो
सावाला खोलाले कहिल्यै पनि
उकालो बग्न जान्दैन्
अब
सावला खोला
कसरी बग्दै जान्छ
सुन्नु छ
वारिपारि जोर बिजोर बन्दुक पड्केको
सुनिन्छ कि सुनिन्दैन
मिथकको आकासमा
कस्तो रंग पोतिन्छ
कृतिमताको खहरे खोलाले
प्राकृतिक बाटो लिन्छ कि लिँदैन
फेरि पनि सावाला खोला
मिथकले जन्माएको
वर्तमान हुन्छ कि हुँदैन
शुरु गर्ने हो भने
शुरु गरौं हो लुङवा !
यही सावाला खोलाको गडतिरबाट
चप्लेटी ढुङ्गामा कविता कुँदेर
यो..........अविजित यात्रा ।

Oct 18, 2008

यो कथा होइन यथार्त हो


जबेगु दिलीप लिम्बू

नशापिएर कुम्भकर्र्णो निन्द्रामा
कति दिन निदाउछौ किरात दाजुभाई ।
तिम्रो शिरमा टेकेर सगरमाथा चढी सके ति झुस्ले भाईहरु
तिमी भने जाड,रक्सी र बियर,हुस्की भन्दै सबै कुरा विर्सिसक्यौ ।

जस्ले जाहा टेकेपनि कहाँ दुख्छर ?
तिनपानेको अमृत पिएका छौ बहादुर भएका छौ ।
आफ्नो परायलाई चिन्नै छाड्यौ, विना सेवनअमृत
हेरत भुत्लेहरुको सञ्जालमा कसरी फसेका छौ ।

भूमिपुत्र भन्ने आज दन्ते कथामै सिमित रहेको छ
बेहोशीमै भए पनि हाम्रो किपट थियो, भन्छौ ।
कस्तो बिडम्बना हो यो ? टिठ लाग्ने
नशामै भए पनि कता कता दुइ -चार कुरा सहि सत्य गर्र्छौ ।

मुखमा मिठास कोखमा दाह्रा ख्याउटे ज्यान छुचुन्द्रे मुख
चिप्लो बोलिले दिमाखि जाल फिजाउछ ।
किरातीहरु जिउडाल जस्तै मोटो बुद्घी, घमन्डी बानि
हङकङ युकेको बन्दुके बिटाले झुसेहरुको कोदो घरमा भित्रयाउँछ ।

अबत छाडि देउ अन्न कुहाउन किरातीहरुहो जाड र रक्सी बनाउन
जाड,रक्सी र बियर,हुस्कीको गित गाउँन
राजा देखि चप्रासी, सेना देखि पुलिस चुच्चेहरुकै ढलिमलि
कस्तो निर्दयी खेल खेलेका छन् तिम्रो भूमिबाट तिमीलाईनै भगाउँन ।

यो कथा होइन यथार्त हो संसारको सबै भन्दा अग्लो सगरमाथा
तिम्रो शिर हो तिम्रो भूमिहो तर ओझेलमा परिसकेको छ ।
अबत उठ जाग ब्यूझ किरात सन्ततिहरुहो, तिम्रो शिर ढल्न लागिसकेको छ
ख्याउटेहरुको दाउमा परिसकेको छ ।

खुडा खुकुरीले लोक जितिदैन किरातहरुहो, रिस घमन्डले हाम्रो लक्ष्य भेटिदैन
ति जाली हातहरुले नलेखेका इतिहास अब किरातीले लेख्नु छ ।
हामी माथिको दमन र अत्याचारको भण्डाफोर गर्नु छ
घुस खोरी र पक्षपाति इतिहासकार झुस्लेहरुलाई नङग्याउने बेला आएको छ ।
देशको लागि ज्यान आहुती दिने शहिद काङसोरे, श्रीजङगा तेयोङसी, राम प्रसाद राई जस्तै वीर किरात शहिदहरुको नाम इतिहासमा लेख्नु छ ।

वल्लो किरात पल्लो किरात माझ किरात हामी होइनौ
यो त झुस्लेहरुले दिएको उपनाम हो ।
राई, लिम्बू , मगर, गुरुङ, हामीलाई जति थरी नाम दिए पनि
झुस्लेहरुले हामीलाई फुटाउने चाल हो, इतिहास बोल्छ हाम्रो थर
केबल मात्र किरात हो ।

हिन्दु धर्मलम्बि होईनौ हामि, हाम्रो धर्म, मुन्धुम साँक्षी छ
हिन्दु जस्तो मान्छे पुज्ने, धर्म होईन हाम्रो, मुन्धुम आफैमा प्रकृतिक छ ।
हाल - साउदी अरब ।

Oct 15, 2008

श्रन्द्धाञ्जली लिम्बुवान आन्दोलनका सहिदलाई


नगेन्द्र ईङनाम "आठराइली"

शताब्दियौं अघिदेखि नै
निरङ्कुश शोषकहरुबाट
सोषित पीडित लिम्बुवानलाई
मुक्ति दिलाउन अघि बढ्दै गर्दा
लिम्बुवान स्वायत्तालाई जकड्याउने
माखे साङ्लोलाइ तोडेर
लुटिएको अस्तित्व फर्काउन्
अनि छोपिएको इतिहास पल्टाउन खोज्दा
तिम्रो सामर्थ्यलाई थेग्न नसकेर
निरङ्कुशतन्त्रले लिम्बुवानको नाममा
तिम्रो जीवनको बलि चडाएको छ
तर तिम्रो बलिदान
त्यो तिम्रो त्याग र जीवनदानले
निरन्कुशताको हांगाबिंगा तोडेर
निरङ्कुशतन्त्र पुरै ढल्मलाएको छ
चीर शान्तिको कामना !
अ्मर शहिद तिमीलाई
पछुताउनु पर्ने छैन तिमीले
केन्द्रिक्रित निरङ्कुशता जरैबाट ढल्दै छ ।

तिम्रो बलियो पहराको अभावमा
मात्र सुनमायां र मेन्छिगेनका आँखामा होइन
पुरै लिम्बुवानका नीरवताले छाएको छ
बेकसुर तिम्रो त्यागको बदलामा
लिम्बुवानीहरूले ए्उटै मुट्ठिभित्र भएर
निरन्तर संघर्षमा होमीने बेला भएको छ

बिना कुनै त्रास निरङ्कुशताको बिरुद्धमा
आफ्नो जीवनको प्रहरान्तसम्म
क्रान्तिको बिगुल फुकेर
ब्युंझाई दिएका छौ लिम्बुवानलाई
सन्देह छंदै छैन कुनै यहां
छिट्टै आउंदै छ बिहानी
नयां परिवर्तनलाई लिएर
नव क्रान्तिको सलाम !
बीर तिमीलाई,श्रद्धाञ्जली अर्पण गर्दछौं
तिम्रो बार्षिक स्मृतिमा
लिम्बुवानको प्रथम शहिद
अ्मर ! अ्मर !! अ्मर !!!
राजकुमार आङ्देम्बे तिमीलाई

( यो कविता लिम्बुवान आन्दोलनका सहिद राजकुमार आङ्देम्बेको वार्षिक स्मृतिमा समर्पण गर्दछु । )