Jun 1, 2009

हेर न हेर, उत्तरतिर, चादी झैं हिमाल् टल्केको


भानेन्द्रकुमार सम्बाहाम्फे

हेर न हेर, उत्तरतिर, चाँदी झैं हिमाल् टल्केको
फर्केर हेर, दक्षिणतिर, सुन झैं धान फलेको
नियाली हेर, पहाडलाई, योद्धा झैं सधैं उभेको
त्यही हो मेरो, नेपाल देश, साँच्चैको स्वर्ग धर्तीको

गुराँस फुल्दा, रम्दछ वन, पहाड हुन्छ जवान
त्यो लालुपाते, जाही र जुही, सुन्दर मेरो बगान
नाग्बेली बग्ने, हजार नदी, हजार खोला दोभान
रङ्गी र चङ्गी, प्रकृति राम्रो, देश छ मेरो महान

मुनाल डाँफे, याक र चौंरी, चिनारी खासा हिमाली
उत्सव हुन्छ, गाउँदै नाच्दा, वनमा मयुर कोइली
मारुनी बालुन्, झ्याउरे हुड्का, संस्कृति राम्रो नेपाली
सोरठी पालाम्, गाइने लय, चलन खासा नेपाली

गण्डकी कोशी, कर्णाली भेरी, मेट्दछन् तृष्णा देशको
पूर्वको मेची, त्यो महाकाली, रोक्दछन् कदम् वैरीको
दुःखका साथी, भञ्ज्याङ्ग पाटी, द्यौराली अनि चौतारी
सगरमाथा, वीरको गाथा, गोर्खाली मेरो चिनारी

काठमाण्डौ ।
२०६६/०१/२४

गजल


राकेश कार्की

पार्टी भित्र फुट छ
पार्टी भित्रै गुट छ

देशको आफ्नै सरकारले
अर्को पार्टीलाई कुट छ

पार्टीमा बस्दिन भन्नेलाई
जबरजस्ती चुट छ

जनताको नाङ्गै खुट्टा
सेना संग बुट छ

शासकले ठोक भन्नासाथ
रिस उठनेलाई भुट छ

स्याहारेको निजी संपति
लुटी खानेलाई लुट छ

नरपिशाच सन्तान देखी
आमाको मन टुट छ

स् एन्जेलस्

गजल


देबराज ओलि

छोडिदियौ बल्ल बल्ल,बसेको मायालाई
बिर्सीदियौ चोखो मनमा,पसेको मायालाई

मेरो सरा जीवन्,तिमीलाई नै अर्पेको थिय
फुकाइदियौ गाठो, कसेको मायालाई

निस्ठुरी नै रहेछौ,बिश्वास गर्नु मेरो भुल हो
उठाएछु बेर्थै मैले,खशेको मायालाई

माया लाउदै छोडिहिड्ने, तिम्रो त बनी रहेछ
अंगाल्नु नै थिएन मैले, फसेको मायालाई

दाङ घोराही हाल दुबै U.A.E.

कसरी भुल्न


दिलिप योन्जन

कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि
कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि।

कहिले हासेको छुर,तिम्ले आँशुमा डुबाए पछि
खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि
मनको बाध फुट्दोरहेछ,तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।

रसाई दिन्छ परेलीहरु,बितेका याद बल्झे पछि
झस्कि दुख्छ रातहरु, मिठा सपनीले छाडे पछि
टुटे फुटे चाहानाहरु , फुलेको फुल झरे पछि
काँडा भयो जिन्दगानी,बिश्वासमा घात लागे पछि।

अस्टिन, अमेरिक

कवि लेखक आँफै पागल बन्नु पर्छ


आचार्य प्रभा

खोइ !कुन गन्तब्य रोजुँ म
जताततै इेर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रीजनाको परकाष्ठमा पुगु कसरी ?
यहाँ श्रिजिएका सबै श्रीजनाहरु
मुल्यहिन भै पलायनतामा बिलिन भै रहेछन
मेरा आकाक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इक्षाहरु ............,
यहाँ उदेश्यहिन गन्तब्यको पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रीजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनी...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै /
त्यसैले........ आजकल त कसैले पनि
सहि सदुपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउछन सबै
अनी..... त बिवशता ,बाध्यताको चपेटामा परि
गन्तब्यहिन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कार को दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै /

(अमेरिका )

तरुनी रात


केदार श्रेष्ठ'गगन'

ओएलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सगरमा
जब बिलाउँछ
तब झ्याउँकिरीको
झन्झटिलो आवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला,
स्याल,

ब्वाँसाहरु
रात हाम्रै त हो नि भन्दै,

दुधकटुवा साँझ
कालरात्रिको आगमनसँगै
तरुनी हुन्छे
र आफूतिर सबैलाई
आकर्षित गर्न भरमग्दुर
प्रयासरत रहिरहन्छे
बालक सूर्यको जन्म नहुन्जेल,

त्यही
वयस्क रातको आडभरोसामा
हाप्सीला,
स्याल,
र ब्वाँसाहरु
निरीह प्राणीहरुको
निर्मम हत्या गरेर
आफ्नो पेट भर्दै
राम राज्य,
मोजमस्ती गरिरहेका हुन्छन्
पूर्वको क्षितिज नउघ्रुन्जेल,
मिर्मिरे नहुन्जेल,
विहान नहुन्जेल,
सूर्य नउदाउन्जेल ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर