Jun 29, 2010

लिम्वूवानको खातिर


टंक सम्वाहाम्फे

सेवारो आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर
कति मेलापातमा मात्र सिमीत रहने
धनको लोभ र लालचमा फसेर
कति परदेशी मात्रै भैरहने
अव त हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ
र लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ

आदाङवे
अव हामीले यो देशमा
आत्मानिर्णयको अधिकार खोज्नु पर्छ
हरेक तह र ताप्कामा
हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ
हक र अधिकारको लागि एकाधिकार चिरेर
हामी अगाडी अगाडी वढ्नु पर्छ
लिम्वूवानको लागि
हामी सवै लिम्वूहरु लड्न तयार हुनु पर्छ
किनभने हामीले
जाति भाषा र संस्कृतिको संरक्षण गर्नु छ
समग्र लिम्वू र लिम्वूवानको उत्थान गर्नु छ
त्यसैले आदाङवे
यसवेला हामीले
लिम्वू र लिम्वूवानको लागि
केहि सोचेनौ भने
लिम्वूवान राज्यको लागि
लागि परेनौ भने
मात्र इतिहास वन्नेछौ
जो हिजो लेखिएको थियो त्यस्तै
अव साच्चै लिम्वू भएर जाग्नु पर्छ
लिम्वूवानको खातिर

आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन : निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ

Jun 27, 2010

गजल


सूर्यविक्रम याक्खा

अब मेरो देशमा वुद्व चाहियो
पात्तीले चोखो पार्ने शुद्व चाहियो ।

देशको विकाश रोजगार दिने ,
एउटा शमशेर जुद्व चाहियो ।

अब मेरो देशमा वुद्व चाहियो .........
कुर्सी ताक्ने ,खुट्टा तान्ने प्रथा रहे ,

फेरी दशवर्षे जनयुद्व चाहियो ।
अब मेरो देशमा वुद्व चाहियो
पात्तीले चोखो पार्ने शुद्व चाहियो ।

मिति - २०१० / ०६ / २२

समायका अनेक कथा


स्यानु पाईजा

मान भन्ज्याङबाट ओरालो वाटो
गन्तब्यको क्षितिज धमिलो देखिन्थ्यो
तोक्माले अडाएका भारिहरु भित्र
खोई के छन के थाहा ?
उ त भरिया न हो
निस्तो सपनालाई रंगिन आकार
बजार पसेको बेला रंगिन मेला
हिजो मैले भन्ने गर्दथे
म मेरो कुरा सनेर कान्छी फुपु
यो केटाले गरि खान्न भन्नु हुथ्यो
लाहुरेले गाउँ बन्ने भए
मेरो गाउँमा पुरै एक गोर्खा पल्टन छ
गाउँ बन्नु पर्ने नि ?
किन गाउँ झन रित्तो छ ?
पैसाले गाउँ,देश बन्ने भए
हरेक दिन कति पैसा नेपाल भित्रिन्छ
यस्तो गाँउ के हरेर बस्नु
पैसा बोकेर गाँउनै बसाई सर्दछ
यहि बसौ भन्दा...............
स्वास्नी छोरा-छोरीले दु:ख पाउछ भन्थिन
क्रान्ती गर्नु भन्दा गाह्रो हुन्छ
आफु भित्रको शान्ती चिन्नु
शान्ती कहाँ ? छ ?
अचेल उनिलाई
एक किलो आलुको भाउले तर्साउछ
चार मुन्टो रायोले रायो बारी सम्झाउछ
महिनै पछि खस्ने बम
घरको किराया र स्कुलको फि ले सताउछ
केटाकेटी के सिक्दैछन चिन्ताले सताउछ
म कान्छी फुपुले भने जस्तै गरि खान थालेको छु

पात्लेखेत-७, म्याग्दी

Jun 22, 2010

राजनीतिमा जे देखियो


लिलिमहाङ

छतिस सालमा पाकिस्थानमा जुल्फिकरअलि भुट्टोलाई
के झुण्ड्याईएको थियो फाँसीको लट्खरामा
बस् नेपालमा आयो राजनीतिको धमिलो भेल
जालहारीहरु लागिहाले खेल्न माछामार्ने खेल
त्यसैबेला आफुपनि सत्रवर्षे नौजवान
किन मान्थ्यो र चुपचाप बस्न त्यो मन
माछाखाने सपनामा जालहारीहरुको पछिलागियो
राजाको देशमा त्यसो गर्नुहुन्न भनि सम्झाउने
बा-आमाका अर्तिउपदेश नसुनि भेलतिरै भागियो

घोटाएर सिद्धान्त पिलाउने कामरेडहरु भन्थे
हाम्रो भविष्यमा सपनाको सून्दर संसार छ
तर लड्नुपर्ने लडाईहरु अपार छ
जित्नकालागि माकस्रवाद र लेनीनवादको
हामीसँग शक्तिशाली हतियार छ

त्यसैले लड जीवन संघर्ष हो
संघर्ष नै जीवन हो
बोलका संगित र गीतहरु गुञ्जिएका
अझै अभिलेख रहेछन मानसपटलमा कतै जस्तो
भईरहेको पाउँछु अतितलाई सम्झँदा

बिस्तारै वाढी सङिलंदै गएपिछ
पुरानै जालीले नै नदीहरु कब्जा गर्दै गयो
माछामार्न धेरै कष्टगर्न रुचि नगर्नेहरु
उसैको पछिलागेर साझेदारी खोज्न थाले
थोरैमात्र भागमा चित्त बुझाउनेहरु
त्यहि कित्तामा धमाधम लागिहाले
ठूलोभाग खोजेर अर्घेल्याईं गर्नेहरु
कोहि विदेश भागे कोहि जेल लागे
घोटाईएको सिद्धान्तको राग अलाप्ने
म जस्ता बबुराहरु मान्छेको कुहिरोभित्रै
वर्षौं वर्ष त्यतै निस्सायियौं

ढाई दशकपछि आएको ठूलो बाढीमा
गणतन्त्रको ह्वेल भन्थे मनुवाहरु
ठूल्ठूलो स्वरमा कराईरहेछन जालहारीहरु
कोहि भन्छन् यसलाई तैर् याउने नाउ मसँग मात्र छ
कोहि भन्छन् टाउको दक्षिण फर्केकोले
यसमा मेरो सर्वश्व अधिकार लाग्छ
तर फेरिपनि मान्छेहरु पुच्छर मात्र देखापरेको
चर्चा परिचर्चा गर्दै गरेको सुनिन्छ
थाहा छैन टाउको कसले बेस्कन अठ्याएको छ

धेरै भयो पूर्वका रैथानेहरुले तितेमाछामा अधिकार गुमाएको
सङ्लिएको कावेलीमा असलाको शिकार गर्नेहरु
भदौरे बाढीमा तितेमाछालाई जालो थाप्ने
तर आज उनीहरुको तमसुक बेपत्ता भएको छ
खोजिमा निस्किएका जत्थाहरुलाई
उनीहरुकै नाईके भनाउंदाहरुले
अलमलाएर दिग्भ्रमित पारिरहेका छन्
इतिहासको विरासतबाट जित्ने युद्धहरु
भडुवाहरुको कारणले हारिरहेका छन्

पहिचान र अधिकारको पुलबाट
तर्नुपर्ने जाँघर निकै नै ठूलो थियो
समुहमा मिलेर लस्करै नछुट्टिने यात्रा गर्नुथ्यो
तर भेडाबथान धपाउने गोठाला जस्ता चित्त भएकाहरु
अगुवाभई पङ्तीमा उभिदिनाले
छिचोल्न गाह्रो भैरहेको छ जाँघरहरु
किनभने तीनिहरु स्वार्थै स्वार्थको पासो थापेर
मनगढन्ते शिराबाट यात्रालाई चिरा पार्दै छन्
अभ्रक भैनसकेको मुक्तिको मियोलाई किरा पार्दैछन्

पहिचान र मानवसँस्कृतिरहित सिद्धान्त रटेर
रोटीको लागि गर्दै गरेकॊ राजनीति त्यागेर
धेरै सुन्दर अवसरहरुबाट टाढा भागेर
पुर्खौली विरासत र माटो खोज्न पाईला टेक्दा
समाईरहेको राजनीतिमा अहिले जे देखियो
भविष्यका सपना बुन्ने अशाका त्यान्द्रोहरु
नछिनुन भनेर आज कविता लेखियो
सेवारो !

Jun 21, 2010

यस्तै छ साथी...


भानेन्द्रकुमार सम्बाहाङ्फे

यस्तै छ साथी, यहाँको हाल, बेहालै बेहाल् छ ।
क्यै भयो भने, भैहाल्छ बन्द, नेपाल जल्दैछ ।

बिहान निस्की, फर्कन घर, साह्रै नै गाह्रो छ
बँचेर हिँड्न, यहाँ त साथी, साँच्चै नै साह्रो छ
गएकी छोरी, पाठ्शाला पढ्न, फर्किन्छे फर्किन्न ?
बिग्रियो साथी, देशको हाल, भयको राज छ ।

मारिन्छन् मान्छे, सजिलै यहाँ, लुटिन्छन् सम्साँझै
बेपता पार्नु, मानिस यहाँ, भा'को छ पेशा झैं
सेवक् हौँ भन्ने, रक्षकहरु, मस्तिमा बाँच्दैछन्
त्यसैले साथी, नेपाली हामी, भा'छौं है टु'रा झैं ।

Jun 16, 2010

तिमी रिसाउनुको अर्थ


सरोज पङ्हाङ्गो

होला
मैले केही भने
अर्थात
-
झोक्किएर
तिम्रो स्वप्निल संसारमा
लात बजारे ।
फलत :
तिमी रिसायौ
र सर्तबाट
अलग्गियौ ।

अलग्गिनुको
'अर्थ'
अर्को बाटो रोज्नु
अर्थात फेरी एउटा
शक्तिको स्रीजना गर्नु
यही न हो
-
तिम्रो र मेरो बर्तमान
र बर्तमानभित्रको
खोक्रो आदर्श ।
धेर थोर
तल - माथि
म र हामी बिचको कुरा
हिजो हामी थियौ
आज म र मेरो
भएका छौ !
अब त -
स्वतन्त्रता छ तिमीलाई
आफु खुशी चल्न सक्छौ
उडाउ
'हिट्लर' को 'यान'
हामी हेरौं ;

सक्दैनौ
मेरो प्रिय मित्र !
बिदुवा आमाइको स्वप्ना जस्तो
स्वर्निम सुहागरात -
बिना बित्थामा
अर्को स्वप्ना
बिलखबन्द हुनसक्छ
बिच बाटोमै -
फ्यात्त ......

त्यसैले
तिमी जित्दैनौ
र म पनि -
अब आउँदा युद्दहरु
हिजो जस्तो
सजिलै !
नकि -
तिमी रिसाउनुको अर्थ
-
यहाँ अर्को पर्तिस्पर्दा जन्मिनु हो
आक्रमण बड्नु र ...
एउटा ब्रिहत शक्ती टुक्रिनु हो
त्यसैले आउ !

मित्र- 'बरु तयार होउ'
अर्को परजय भोग्न -
अस्ति झैं
चुप्चाप ......

गजल


दिव्य गिरी

कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे
संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे ।

बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि
मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।

स्वार्थी यो दुनियाँमा स्वार्थरहीत कोही छैन
मत्लव खातिर कोढीको पाउ मल्छ मान्छे ।

अवसर अवसरमा फाइदा लिन पल्केपछि
समय-समयमा आफ्नो रुप बदल्छ मान्छे ।

वैरी खोज्न टाढा जानु पर्दोरहेनछ मित्र !
आफन्तको छातीमा नै मुगी दल्छ मान्छे ।

कसैलाई गन्दैन, आफ्नो-आर्को कोहि भन्दैन
शक्तिको घमण्डले काँढा भएर फुल्छ मान्छे ।

धन, बल र शक्तिको तुजुक जब सकिन्छ
अनि पो चैतको आँधीमा रुखझैँ ढल्छ मान्छे ।

सेडा, त्रि.वि.वि., कीर्तिपुर

घाइते सिपाही


अप्जसे कान्छा

अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन
बाँकी जीवन भर्ने बुट्‍टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन

संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी
आँखा हुनेहरुले तिमीलार्इ हेर्ने हो कि होइन

युद्धमा छुटेको अंग,आशा फर्किएको छैन
बहादुरीको तक्मा चर्कीएको छैन
देशको लागि लड्‍दा घाइते भयौ तिमी
तिम्रो तक्माले बाँकी सास चल्ने हो कि होइन
ब्रेकन,वेल्स

गजल


बिष्णुनन्द चाम्लिंग

नेताहरु साह्रै भुक्छन्
एकलेअर्कोलाई थुक्छन्

संविधानको स नजान्ने
सभासद भई पुग्छन्

राजनीतिको बारे सोधे
प्रतिगामी भन्दै फुक्छन्

ढुकुटीमा आँखा गाडि
मौका छोपि सारा लुट्छन्

जनताले गुहार माग्दा
कानमा तेल हाली सुत्छन्

चुनाउ शुरु भए नेता
जनता सामू फेरि झुक्छन्

http://bishnunandacham.blogspot.com/
१७ एप्रील ०१०

बिष्णु नन्द चाम्लिंग
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंगकंग
८५२-६३४०७०१४

Jun 2, 2010

अमर लिम्बुवान


नगेन्द्र ईङनाम "आठराईली"

शीरमा छ उच्च फक्ताङ्लुङ
फैलिएका छन स्वतन्त्र सबै थूम
हिमाल,पहाड र तराईको संगमस्थल
थरीथरी आवाज एकसाथ गुञ्जन्छन
परीपरीका ताल यहाँ संगै बज्दछन
अनेकतामा एकताको प्रतीक हो
सबैको साझा लिम्बुवान
अमर ! अमर ! अमर ! रहोस
हाम्रो लिम्बुवान ! ! !