Dec 6, 2008

छेकिए पनि

ध्रुव मधिकर्मी

1.छेकिए पनि
छेकिए पनि सडक बजार कालो छैन
आज यो आँगनमा उज्यालो छैन

ठाउँ ठाउँबाट उप्किरहेछन् जिन्दगीका घाउहरु
यसलाई छोप्ने कुनै टालो छैन

परिवेश बसिरहेछ एउटा कुप्रो बूढो झैं
समय अब चाहे जति आलो छैन

जो कोहीलाई पनि शिकारको दाउमा देखें
कसरी पत्याऊँ यहाँ बिछ्याइएको जालो छैन

कि अग्ला पहाड छन् कि गहिरा खाल्डा
भाँच्चिएको भर्‍याङ्ग छ, उकालो छैन ।

2 .जसको हातमा
जसको हातमा लामो तीर देखें
उसैको नतमस्तक शिर देखें

कस्तो अपरिचय आफ्नै अनुहारसँग
उफ् ! यो कसको तस्बीर देखें

रित्ता छन् आम हत्केलाहरु
केही मुठ्ठीहरुमा मात्र खीर देखें

खै, कहाँ हराए उकालीहरु
ओराली होइन ठाडो भीर देखें

सूर्यको केही भरोसा रहेन, मित्र
दिउँसै यहाँ घना तिमिर देखें

जसलाई कृष्ण भनी ठानेथें
उसैको हातमा द्रौपदीको चीर देखें ।

भक्तपुर ।

No comments: