Aug 21, 2010

चमेलीको चिठी


दिव्य गिरी

सधैंको जस्तै आज पनि
तिम्री दुःखी चमेलीको सादर प्रणाम
तिम्री विरही चमेलीको सदा सम्झना ।

हिजो-अस्तिका चिठीहरू
आँसुले लेखेथें
विछोडको पीडामा बगेको आँसुले कोरेथें
तर आज यो चिठी
रगतले लेखिरहेछु
हो, रगतले
तिम्रै भाइहरूको रातो रगतले
तिम्रै दाजुहरूको तातो रगतले
तिम्रै आमा-बुबा र
दिदी-बहिनीहरूको आलो रगतले ।

साँच्चै, मेरो प्रिय खसम
यतिवेला यो वर्तमान
रगतको आहालमा चुर्लुम्म डुबेको छ
यतिवेला यी बस्तीहरू
आँसुको झरीमा निथ्रुक्क रूकेका छन् ।

मेरो प्रिय परदेशी खसम,
हिजोआज,
म स्वयम् घाइते बाँचिरहेछु
म स्वयम् पीडाको पहाड अग्लिरहेछु
म स्वयम् आँसुको नदी बगिरहेछु
र, कसरी लेखुँ गाउँघरको खबर
घरहरू बलेको खबर
मनहरू जलेको खबर
रगतको आहाल जमेको खबर
आँसुको भेल बगेको खबर
अलाप-विलाप र रूवाबासिको खबर
गन्ति गर्नै नभ्याउने लाशहरूको खबर
दिनदिनै मलाम जानु परेको खबर
सम्पूर्णमा भन्नुपर्दा सिँगै देशले बरखी बारेको खबर ।

देखेर हजारौं टुहुराहरूको मुहार
देखेर हजारौं विधवाहरूको अनुहार
हरदम यो मन हजारौं टुक्रामा विभक्त हुन्छ
हरदम यो छाती चरचरि चिरिन्छ ।
खासै भन्नुपर्दा यतिबेला
चराहरूको चिरविर गुञ्जने आँगनमा
बन्दुक र बम् पड्किरहेछन्
परेवाका बथान उड्ने आकाशमा
भय र त्रासको मुस्लो उठिरहेछ
अशान्ति र अँध्यारोको आँधी चलिरहेछ
यस्तो परिवेशमा
यो सङ्कटग्रस्त देशमा
मेरो प्यारो खसम् ,
तिम्री चमेली पनि सुरक्षित छैन ।

त्यसैले यसवेला
मभित्र तिमीभन्दा पनि बढी
शान्तिको खाँचो छ
तिम्रो मायाकोभन्दा पनि बढी
शान्तिको भोक छ ।

फूल हुँ म


टंक सम्वाहाम्फे

फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु
नसझाउन सक्छौ यी मेरा सपनाहरु
अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु
नगाउन सक्छौ यी मेरा गीतहरु
विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

संगीत - दिनेश सुब्बा
स्वर - सुनिता प्रधान

केही विम्बमा रत्नपार्क


प्रकार अन्तर

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो.........

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच .........
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

यथार्थको धरातलमा रहेर बाँच्ने रहर छ


कल्पना तुम्रोक

साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले

तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो ।

ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो ।

समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए ।

लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन ।

एक्कासी छायो सन्नाटा
चल्यो आधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा

मनको वाटोहरुमा
पाइला खोज्दै हिडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु ।

तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु ।

आहा यहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाँकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु ।

साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ ।

किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ ।