Dec 19, 2009

केहि बोल


स्यानु पाईजा

उ मुस्कुराउछ
उ लेख्दैछ
बयान, बर्णन
सोझै भन्दा
चाप्लुसी, चाकारी
तिमी हराउछौ
म हराउछु
परिचय बिहिन
खोई तिम्रो परिचय ?
उ कहि उभिएको छ
तिमी किन ब्रश गर्दैनौ ?
तिम्रो सास गनायो
मुख नै नधुने ?
बिहानै बिहानै चढाउनु भो ?
कि हिजो को नउत्रेको ?
बन्द सिसाको काउन्टर भित्र
तपाईको स्वाँस कसरी छिर्यो ?
यति बिध्न गनाउने
खोई तिमी भित्र को मान्छे
किन बोल्न सक्दैन ?
किन ? सक्दैनौ ??
तिमी बिहान ब्रश गर्दैनौ कि ?
ब्रश गर्न बिर्सन्छौ ?
कि अरुको गनाउने स्वाँसलाई
मेरो होला भन्ने भ्रम मा छौ ?
बोल चुपचाप नबस
स्वाँसको गनाउछ भन्दैमा
मुख न मोड
तिम्रो आवश्यकता चिनेर
तिम्रो हक चिनेर
बोल केहि त बोल

गजल


बिष्णु नन्द चाम्लिङ्ग

साथ आयौ र पो नत्र मैले पाउँने कसरी ।
आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।।

शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु ।
उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।।

फुटेका थे मनका मेरा मुरली र बाँसुरी ।
जोडि दियौ तिमीले र पो नत्र बजाउँने कसरी ।।

एक्लो लाग्थ्यो सधैँ शहरको बीचमा पनि ।
हेरि दियो बैशलाई र पो नत्र लजाउँने कसरी ।।

नियतिले सधै भरि बिरहमा डुवाए थियो ।
खुशी दियौ मनलाई र पो नत्र हँसाउँने कसरी ।।

२८ अक्टुबर ००९

मान्छेहरु आफुलाई


डी. वी. पालुङ्वा

मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन
हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन

कोरस-
यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ
यो दुनियां बुझेर बुझी नसक्नुको छ

जुन तारा आकाशमा धर्ति माथि झार्छु भन्छन
एउटा झुट कुरा छोप्न यहां सयौ झुट बोल्छन

आफ्नो घर बनाउन छानी सोझो रुख ढाल्छन
स्वार्थ बिनाको आफ्नो मान्छे हुदै हन्न रैछन

स्वार्थ पुरा गर्न पाए मान्छे भीर देखि ठेल्छन
दोष जति अरुलाई असल चाही आफु बन्न खोज्छन

हङकङ

Dec 4, 2009

हे वुद्ध अव त व्यूउँत


केवल गंगा गुरुङ

तिम्रो घरको वलियो खम्वाहरु
हेर आज खोक्र्याई सके
तिमी खेल्ने आँगन
केहि पड्कीएको थर्कनाले भ्वाङ परिसक्यो
न त गनि साध्य छन् यहाँ
मुर्दाहरु
न त गनि साध्य छन् यहाँ
अपाङ्गहरु
न पुछी साध्य छन् यहाँ
आँसुका छालहरु
न त सम्हाली साध्य छन् यहाँ
मांसपेसी र अस्थिपञ्जरका पहाडहरु
के सोची तिमी आज
जताततै वारुद
वम,वन्दुक पड्कदा
कुम्भकर्ण निद्रामा छौ
संसारलाई शान्तिको पाठ सिकाउँने तिमी
संसारमा शान्तिको दियो वाल्ने तिमी
संसारलाई सत्मार्गतिर डोर्याउँने तिमी
तर आज
आफ्नै आँगनको नरसंहार
कसरी हेरिरहेकाछौ शान्तिका आँखाले
तिम्रो चिनारी ओम माने पेमे हो
पनि विकृति वनिसके

तिम्रो तपस्यास्थल खोतलेर
ज्वालामुखी फुकी सके
के यतिले पनि पुगेन र ?
तिम्रो शान्तिप्रीय मनलाई
यो अशान्त वातावरणले झक्झक्याएन ?
हे वुद्ध अव त व्यूउँत
म फेरि प्रणाम गर्दैछु तिमीसँग
हे वुद्ध अव त व्यूउँत
तिम्रो सपनामा परेकालाई व्यूताउ
वेहोसी मै घर जलाउँनेलाई व्यूउताउ
तिम्रा ती सितल नयनहरुले
घोल शान्ति आँखाहरुमा
तिम्रो पवित्र हातले छुवाएर
घोल घोल मर्मस्पर्श घाउ
वुद्धम् शरणम् गच्छामी ।

कानुन कस्ले मानेन


चकेन्द्र राई कैदी

कानुन कस्ले मानेन
बिदेशिहरुले
कि नेपाली जनताहरुले
जन प्रतिनिधिहरुले
कि कानुन बनाउने कानुनबिदहरुले
आखिरी कानुन कस्ले मानेन
या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले

गणतन्त्र आए पछि पनि
लुटिएकै छन् निमुखा र लाटाहरु ।
लुट्दै छन् यहाँ दलाल र बाठाहरु ।
मलाई थाहा छैन,
कानुनका का बाङ्गा टिङ्गा बाटाहरु ।
जान्दिन म,
कानुनका दफा उपदफाका पाटाहरु ।

मलाई त यति थाहा छ
बम बारुद आफु सगँ हुन पर्छ ,
जहाँ र जहिले पनि पड्काउन पाईन्छ ।
मन्त्रि मात्र हुनु पर्छ ,
सि।डि। ओ। सम्मलाई चड्काउन पाईन्छ ।
कानुनले सार्वजानिक मुद्धा भन्दोरहेछ
तर माफी मागे पछि माफी पनि पाईन्छ ।
किन कि उ त मन्त्रि हो
मन्त्रि कानुन भन्दा धेरै माथी मानिन्छ ॥

मान्दैनन भने
नेपाली जन्ता सस्तै छन्
मन लाग्यो भने गोली ठोकि दिए हुन्छ ।
क्षति पुर्तिको लागी भनेर
नेपालीहरुको मुल्य दश लाख तोकि दिए हुन्छ ।
यो हाम्रो सरकारी रेट हो
शक्ति रहुन्लेल समजदारीको कुरा गर्दैनन् ।
हातमा बम बारुद रहुन्जेल शान्तिको कुरा गर्दैनन ।
बर्दिमा नै कुटिएका छन् प्रशासकहरु
सडकमा मरि रहेका छन् जनताहरु
भैगो अब सोध्ने छुईन
म कानुन कस्ले मानेन

धनकुटा

अनुत्तरीत चित्र


प्रतीक चाम्लिङ्ग

जिन्दगी -
एउटा खाली क्यानभास
जहा बांच्नुको अनगिन्ती चित्रहरु
केरमट केरमेट भइरहन्छ
म क्यानभासमा
कूची, रङ्ग र पेन्सिलले
आफ्नै जिन्दगी उतार्नु चाहन्छु ।
तर
औलाहरु लरबराउछन्
उफ !
कुन विन्दु देखी शुरु गरु ?
जिन्दगीको चित्र कोर्न
हाँसो देखी ?
अहं !
हांसो त घाम छायां हो
यसको आकृती छैन
आंशु देखी ?
अहं !
आंशु त पानी हो
यसको आकार छैन
मिठो आकांक्षाहरु देखी ?
अहं !
आकांक्षाहरु त सपना हो
सपनाको रङ्ग हुदैन ।

जसो तसो
चित्र कोर्छु मधुरो जिन्दगीको
जिन्दगी भरीको वेदना उतार्छु
चित्रमा म आफ्नै जिन्दगी दुख्छु
अहो !
दुखाईको कस्तो रङ्ग पोत्ने ?
कालो, सेतो, रातो, नीलो ?
अहं !
वेदनाको रङ्ग हुन्न
आहत् पीडाहरुलाइ म
रङ्गीन रङ्गहरुले सजाउन चाहन्न ।

सोचमग्न म
अधुरो चित्र नियालीरहन्छु
रङ्गविहीन चित्र संगै
बेस्कन म दुख्छु
क्यानभासमा अनुतरित म
मेटिदिन्छु म आफैले
क्यानभास फेरी रित्तो हुदै जान्छ
म जस्तै खाली खाली हुदै जान्छ ।

टाढा-टाढा जाँदैछु


लोकेश याक्थुङ्बा

टाढा-टाढा जाँदैछु म,सायद अब भेट हुन्न होला
अधरमा राखेको पिरतीले,यो मनलाई छुन्न होला

गन्तब्यहीन पाइलाहरु,खोइ?कहाँ पुगेर रोकिने हुन
सफलताले चुम्ने हुन या,बिच बाटैमा ठोकिने हुन
जीर्ण-जीर्ण कल्पनाहरु,अब चाँही म बुन्न होला
अधरमा राखेको पिरतीले,यो मनलाई छुन्न होला

बाध्यताको घुम्टो ओडेर,बिछोडको लाज छोपी जाँदैछु
फूल जति तिमलाई छाडी,काडां सबै आफ्फैसँग लाँदैछु
रुदाँ रुदै आँशु सबै रित्तिसके,अब चाँही रुन्न होला
अधरमा राखेको पिरतीले, यो मनलाई छुन्न होला।

फाकुम्बा,ताप्लेजुङ

सिमानाको नेपाली


बिक्रम सुब्बा

उसकै पार्टीको सिद्धान्तजस्तो
खिया लागेको ईण्डियन ताल्चा खोल्यो
उसकै गुटको दिमागजस्तो
कलकत्तातिर निर्मित
मक्किएको पुरानो ट्यांका उघार्‍यो
उसकै अव्यवस्थित चिन्तनजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्‍यो, खोज्यो
तर कतै भेटेन ।

सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाको कागजातका पोकोमा
घरीघरी ऐनाझैँ हेर्ने गरेको गीता-ग्रन्थको खोलभित्र
दातृसँस्थाले गोष्ठीमा दिएको ब्यागभित्र
छोरी बिहे गर्न सर्त राखेपछि
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको ज्याकेटको भित्री गोजीभित्र
कहीँ पनि नभेटेपछि
सुस्ताजस्तै लामो सास फेरेर ऊ सुस्तायो
र भन्यो - "कहिले हराउँछ...कहिले भेटिन्छ
यसपल्ट फेरि कुन छिमेकीले कता घुसार्‍यो?!"
बाजे-बराजुको पालादेखि आफ्नो भन्दै आएको
उसको वंशजको नाता लाग्ने जमीनको सिमाना
यसपल्ट फेरि हरायो
जहाँ उसका घर, गोठहरू उभिएकाछन्
त्यो जमीनका अंग प्रत्यंग अचेल
कसको विस्तारित चारकिल्लाभित्र परेका छन्?
2004