Jan 23, 2009

यस्तो किन भएको छ ?


स्यानु पाईजा

जुनकेरीको पुच्छर किन बल्छ रात मा ?
कुकुर किन अंग्रेजी मा भुक्दैन ?
बिदेशी बिरालो ले सुरी सुरी किन बुझ्दैन ?
रंग बिहिन पानी जस्तै पानी
स्वाद बिहिन पानी जस्तै पानी
पानी को रंग र स्वाद पानी जस्तै नै हो ?
हामी पनि मान्छे जस्तै मान्छे भएको भए
साहेद अरुको दुखाईमा दुख्थ्यो होला
तर मान्छे त मन भरि लोकचार
मन भरि स्वार्थ भरेर उभिएको छ
सापुलै बोकालाई खसी बनाउछ
जीऊदै खसीलाई प्लेट भरि देख्छ
जरुरी परेमा ३ लाई धुमाएर६भन्छ
खुशी भएको बेला पुजा गर्छ
रिसाएको बेला गाली गर्छ
मन्दिर उहि हो भगवान उहि हो
उ चाहेको नामले बोलाउन मा रमाउछ
भगवान लाई, गड, अल्लाह
अनेक नाम दिन्छ
मनले चाहेको तरिकाले पुकारछ
तर उस्ले दिएको नाम बाहेक
अरु नाम को भगवान हुदैन भन्छ
मान्छे भएर मान्छेलाई नियालौ त
मान्छे कति स्वार्थी बनेको छ
मान्छे कति बेसरम बनेको छ
मान्छेलाई मान्छै नै मान्दैन
तै पनि मान्छेको मृत्युमा
लोकचारको भारी बिसाएर
लाशमा फुल चढाउनु पर्छ मान्छेले
देखावती भए पनि आँशु झार्नु पर्छ
म पनि मान्छे हुँ ,म पनि उस्तै छु

पात्लेखेत-७, म्याग्दी

भरियो सिउंदो


भूपेन्द्र महत

भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ

गोहीको आसु


दिलिप योन्जन

रोपे हुन्थ्यो झिरले मलाई, किन उन्छौ पिरमा सधैई
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

छोड्नु नैरहेछ दोबाटोमा मलाई,झुटो नाता किन जोडेउ
पबित्र माया झुटो भनी, ब्याथै किन बदनाम गर्छेउ
किन सियोले मुटु घोच्छउ, चट्टै काट घाटी मेरोई
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

हास्नु नैरहेछ रुवाई मलाई,मायाको खेल किन खेलेउ
बाचा बन्धन आफै तोडी, बिना कसुर दोशी पारेउ
मर्यो भन्दै किन हिड्छेउ,जलाउ चितामा जिउदै मलाई,
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

अस्टिन, अमेरिक

तिम्रो सपथ सहि सत्य होस्


आचार्य प्रभा

आज तिमी आत्मा साक्षी राख्दै
सपथ खाइरहेछौ ,
मेरो,उस्को अनी सबैको मनले इेश्वरसँग
प्रार्थना गरिरहेछ /
हे!इेश्वर ...
यो सपथ सत्य,सांचो र साक्षात होस्
समानता,समानुपातिकता र एकताको
प्रतिक होस् ,
सद्भभावना र सदबिवेक को जित होस् /
नयाँ इेतिहास कोर्छु भनेर
धेरै आए,गए ,
उज्यालो किरण छर्छु भनेर
धेरै उदाए,अस्ताए
त र ---अफ्सोच !
सबै इेतिहास पुरानै दोहोरिए
सबैका अधरमा अन्धकार नै छाए
त्यसैले ओबामा ...
तिम्रो सपथ अन्तरात्माभित्रको
स्वछ बोली हुनु पर्छ /
तिमी जात,अजात छुवाछुतको
बिरोधी बन्नु पर्छ ,
तिमीले कालो रङको अनुयायी
भएर होइन ,
त्यस्तै सेतो रङको बिरोधी पनि
बनेर होइन
बरु ---सबै रङको मिश्रणको
मीठो अनी ज्वलन्त उदाहरण
बन्नु पर्छ /
तिमी एउटा देशको मात्र होइन
धर्तीको नै मेरुदन्ड हुनुपर्छ
आउने पिढीहरुको
उत्साह र उमङ बन्नु पर्छ /

(ओबामाको सपथ पश्चात तुरुन्त श्रीजित कबिता)

Jan 21, 2009

बीरको गाँऊ


स्यानु पाईजा

दान नगरेको दानबीर
मान नपाएको मानबीर
धन नभएको धनबीर
कहिल्यै नजितेको जीतबीर
यो हो सुन्दरपुरी गाँऊ
कति सुन्दर नाऊ
तर यि सुन्दरपुरीमा
असुन्दर लाग्ने कुरा के ??
पिपलु बोटमा अईजेरू लागेको छ
सिस्नुको बोट मा आकाशेजेली
र बनभरी भनमारा फैलिएको छ
बिचारा अनेक बीरको गाँऊ
यसपाली ठुलै कुरा भयो रे
दश बर्ष पछि बल्ल
दानबीर ले मत दान गरे
मानबिर ले मान पाए
धनबिर ले छोरा सहिद भएकोले
क्षति पूर्तिमा अलिकति धन पाए
जीतबीर ले चुनाव जित्यो
पहिलो चोटी जीतबीरको जीत
आशामतिले आशा गरिन
अब त केहि हुन्छ
तर भोलि पल्ट उनि
दिउसै बलत्कृत भईन
महिलाको पिडा नबुझ्ने
आमाले नजन्माएका अमान्छेहरुले
बिचरीलाई गाँऊ निकाला गरे
बिना बाउको गर्भ बोकेको मा
कोई मनबीरको मन पलाएन
कोई ज्ञानबीरको ज्ञान काम गरेन
बेश्या, ,,,,,भए जति गाली गरे
ऊनको ठाऊँ म भएको भए
साहेद आत्महत्या गर्थे होला या
साँचीकै बेश्या बनेर हरेक
हरेक कुदृष्टी राख्नेलाई
एड्स सारेर मारर्थै होला
नशालु बिष खुबाएर मारर्थे होला
सृष्टीलाई नै कुजो बनाई दिन्थे होला
तर उनको ईच्छा अलग छ
यो गाँऊलाई लायक छोरा दिने
आमाको माया बुझने छोरा दिने।
गाँउलाई फेर्न सक्ने छोरा जन्माउने
यो हो बिर हरु को गाँऊ
कोहि मारिन्छन
कोहि बलत्कृत हुन्छन
तर त्यहिका मान्छे
जातीको नाममा छुट्टिदै छन
धर्मको नाममा टुक्रिदै छन
फलानो र ढिस्कानो पार्टीको
नाम मा बाँडिएका छन
छिमेकी छिमेकीमा बोलचाल छैन
फुटबल जस्तै कहिले कस्को
कहिले कस्को गोल पोस्टमा
प्रहार भईरहेका छन ।

पात्लेखेत -७, म्याग्दी

नयाँ मान्छे


टंक सम्वाहाम्फे

उ नयाँ युगको नयाँ मान्छे
अथवा यो देशको नयाँ मान्छे
हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे
जसरी परिभाषा गरेपनि
उ नयाँ युगको नयाँ मान्छे
हामी जस्तै भएर पनि
यो देशको लागि नयाँ भएर आएको छ
त्यसैले उसलाई नयाँ देखिरहेकाछौ
हिजो उ हामीसँगै हिड्दा
हाम्रो लागि नयाँ थिएन
तर उसले परिवर्तन हुरीवतास वोकेर आएपछि
यहाँ नयाँ मान्छे भएको हो
किनभने उसको परिवर्तीत विचारले
हामी सवै नयाँ पथमा हिडेकाछौ
उसको नौलो प्रभावले
हाम्रा दृष्टिकोणहरु नयाँ भएकाछन्
त्यसैले हामी नयाँ भएकाछौ
उसले केहि नयाँ सम्भावनाहरु
उसले केहि नयाँ लक्ष्य र उदेश्यहरु
समयको ढाकरमा वोकेर ल्याएकोछ
नयाँ युगलाई डोर्‍याउँदै आएको छ
त्यसैले उसको आगमन र्सवत्र नौलो वनेको हो
यर्सथ हामी प्रत्येक दिन
नयाँ योजना तय गरिरहेकाछौ
नयाँ कुराको विमर्श गरिरहेकाछौ
जो हामीले नयाँ देख्न खोजीरहेथ्यौँ
त्यहि समय नयाँ मान्छेले ल्याएको हो
अव हामी हरेक कुरा
नयाँ विचारको सामार्थ्यले
पुराना संरचनाहरु बदल्न चाहान्छौ
तिनै संरचनाहरु वदल्नैको लागि
नयाँ मान्छेको आवश्यकता थियो
हो त्यहि नयाँ मान्छेले
हाम्रो आवश्यकता पूर्ति गरिदिएको छ
त्यसैले त उसको हातेमालोमा उनीएकाछौ
किनकी हामीले नयाँ सपनाहरु देख्दै जानुछ
त्यहि सुनौलो क्षण यहाँ आईपुगेको छ
जस्ले नयाँ युगको ढोका खोलेर
नयाँ वास्तविकता पदार्पण गरि दिएकोछ
किनभने उ नयाँ युगको नयाँ मान्छे
अथवा यो देशको नयाँ मान्छे
हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे
जसरी परिभाषा गरेपनि
उ नयाँ युगको नयाँ मान्छे

बिवेक


पुरुषोत्तम सुवेदी

अबसर छोपी फाईदा लिने स्वार्थी पन लाई छोड्नु पर्छ ।
समाज हितको बिरोधको घमन्ड लाई तोड्नु पर्छ ।।

सके सम्म संझाइ बुझाई अर्ती बुद्धी दिनु पर्छ ।
बिबेक बुद्धी नबुझ्नेलाई समाजले चिन्नु पर्छ ।।

काफल पाक्यो चरी नाच्यो जस्तो सोचलाई छोड्नु पर्छ ।
कुलत र बिसंगत लाई समयमै त्याग्नु पर्छ ।।

कुरा काटी खर्च गर्ने समय लाई बचत गरौ ।
रक्सी चुरोट राम्रो होइन समाज लाई खर्च गरौ ।।

धनै मात्र ठुलो होइन समाज पनि प्यारो सम्झ ।
समाज बिना धनले मात्र निकास पाउन गाह्रो सम्झ ।।

तर्क बिहिन बिबेक बिचार कुनै अर्थ लाग्दैन रे ।
सोच न बिचार राजनीतिको मनमा जांगर जाग्दैन रे ।।

सम्म बाटो छोडि भिरमा के नियतले किन गयौ ।
अम्रित खोसी दुधको गिलास समाजलाई दिने भयौ ।।

साथी (बाल कविता)


निङवा शक्ति मादेन

म साथी हो अरुको
मेरो साथी धरै छ ।
साथी जहाँ पनि हुन्छ ।
साथी मजाको लागी हो
साथी धरै प्रकारको हुन्छ
साथी साथी मिली जुली खेल्छ ।
साथी कहिले पनि छुट्दैन
म र साथी धेरै मिल्छौं ।
साथी बिना मलाई मज्जा लाग्दैन ।
तपाइ र म साथी बनुम ल ।

Ninja
Ninja my favourite things in the world.
Ninja the thing a kite
Ninja the attact of it.
Ninja the fighting thing that I copy
Ninja the thing I learn from it .
Ninja the thing I thought it is masic.
Ninja the I love it .

मीठो सहानुभुति


आचार्य प्रभा

सहानुभुतिका शब्दहरु देउ तिमी
तर ---झुठो आश्वसन् दिएर
भ्रममा नफसाउ कसैलाई पनि /
तिम्रो मीठो सहानुभुति
कसैको बाँच्ने आधार बन्न सक्छ भने
तिम्रो झुठो आश्वसन
कसैको जीवनको समाप्ती पनि हुन सक्छ /
मान्छे भन्नु नै ,
आशा अनी निराशाको संयोजनमा
अल्झने प्राणी हो ,
त्यसैले ऊ हरपल
सहारा,सहानुभुती र आश्वसनको
अभिप्शामा बाँची रहेको हुन्छ,
आशाको सुनौलो कल्पनामा डुबेर
जीवनलाई रङिन क्षितिज बनाउन
लालायित हुन्छ ,
त्यसैले म भन्छु
झिनो सहानुभुतिले पनि
कसैको बाँच्नुको अर्थ हुन्छ भने
अनी बचाउनुको मूल्य हुन्छ भने
बांड तिमी सहानुभुतिका शब्दहरु
छर तिमी मीठासरूपी
सत्य बचनहरु
अनी पो मान्छे हुनुको सार हुन्छ /
(अमेरिका )

मेरो शहर


दिलिप योन्जन

सागुरो बाटोमा भब्य-भब्य घर छ
नपाइने केही छैन, सबै पाइन्छ
पैसामा मात्रै.................?
असख्य नि:सहाय छन्
भोक र रोगले तड्पेका छन्
वेदना र पीडा बोकी बाँचेका छन्
धर्ती ओछ्यान आकास सिरक बनाएका छन्
बाँच्ने आसमा माग्दै हिडेका छन्
पैसामा मात्रै............?
सस्तो केही छैन, सबै महङो।

टोपी खस्ने महल छ
मान्छे बेच्ने दलाल छ
प्रशासनको रबाफ छ
रबाफ र दलाल बीच कमिसन छ
दुबैले मस्ती लुटेको छ
मेरो शहरमा सब थोक छ
पैसामा मात्रै....................?

फालेको भातमा लडाई छ
पाटी र फुटपाथमा घर छ
औषधि उपचार बिना मरेको छ
बाँच्ने आसमा दौडेको छ
भोकले मातेर हावा चपाउदै
यहाँ यस्तै छ................? सबै छ
पैसामा मात्रै...........?

खुलेर हैन प्रशासनको आडमा भित्र भित्रै छ
सिसै सिसाको घर छ
भोकै र नाग्गै देख्दा हाँसेको छ
कतिले तस्बिर बेचेको छ
बिदेशी........गरिबी देखेर हाँसेको छ
थरि थरिका फोटो खिचेको छ
मेरो शहरमा सब थोक छ
पैसामा मात्रै...........?
जाडोले काम्दै छ
गर्मीले पाक्दै छ
पानी झरीले भिज्दैछ
हावा हुरीले पुरिन्दैछ।

सक्ने बाँचे नसक्ने मरे
बेवारिस लास
ठेलामा डुमले फ्याँकेको छ
चिल र स्यालको होडबाजीमा
छिपिएको हड्डी बाँकी रहे
यहाँ यस्तै छ..............? अनि सबै थोक छ
पैसामा मात्रै...........?
न त शहरबासीलाई मत्लब छ
न त सरकारलाई मत्लब छ !

साँगुरिएको सडकहरुमा
बस र कारको भिड छ
पोलुसनको बढ्दो चाप छ
नाङो फेसनको बढ्दो माग छ
मंहगीले घोडा चढेको छ
पि र जी को बढी माग छ
केटा केटीहरु नाग्गै बन्ने होड्बाजी छ
यहाँ यस्तै छ.........? अनि सबै थोक छ
पैसामा मात्रै...........?

कती भोक र प्यासले अलास तलास छ
बेदना र पीडाले जलेको छ
रुने र कराउने सिबाय केही छैन
जाडो गर्मी भन्नु पाइदैन
यहाँ यस्तै छ........? अनि सबै थोक छ
तर यहाँ धेरै खाली पेट
खाली हाट र खुट्टा छ
बोराले आङ र लाज छोपेको छ
मेरो शहर यस्तै छ
झन् झन् बिकृति बढिरहेछ
धुवाँ र धुलोले पुरिदैछ
गरिबीले सगर्माथा टेकेको छ
मेरो शहर यस्तै यस्तै छ।

अस्टिन, अमेरिका
hyounjon111@gmail.com

गजल / राष्टिय गीत


चन्द्र मादेन "आन्छन्”

गजल
धर्मको मार्गले ज्ञान दिन्छ भन्छ
धर्मको वाटोले सहारा दिन्छ भन्छ
धर्मको सिद्धान्तले सत्य वोल्छ भन्छ
धर्म मान्नहरु आफैं उलङघन गर्छ ।

वन्द गर धर्म वीचको लडाइहरु
दिन दःखीको सहारा वन धर्महरु
धर्मको नाममा कलंक नवन धुर्तहरु
धर्म मान्नेहरु आफैं उलंघन गर्छ ।
तिम्रो सिद्धान्तको पालना गर
सत्य शान्तिको कामना गर
झुटा हिंसा कुकर्म भने गर्दै नगर
धर्म मान्नेहरु आफै उलङघन गर्छ ।
.
राष्टिय गीत
नभुल पर्देशी यो जन्म दिने माटोलाई
नविर्श प्रवाशी हो छाडेर गएको वाटोलाई
तिमीले देश छोड्दा हिमाल साथी बसेकी थिइन
तिमीले वाटो तताउँदा नेपाल वेदनाले रोइरहेकी थिइन
जन्म भूमि भन्दा प्यारो अरु कोहि हुन्न
नेपाल आमा भन्दा शुन्दर अरु कोहि हुन्न

नभुल परदेशी यो ............................................
नविर्श प्रवाशी हो .............................................

तिमी जन्मेउ बढ्यौ खेल्यौ यहि भूमिमा
तिमीले शैशवकाल वितायौ यहि धर्तीमा
देउराली भञ्ज्याङ र चौतारीले तिमीलाई खोजिरहेछ
तिम्रा वाल सखा संगी हरपल तिमीलाई सोधिरहेछ

नभुल पर्देशी यो ................................
नविर्श प्रवाशी हो ...............................

Jan 14, 2009

मुक्त-उन्मुक्त मेरी आमा


मानप्रसाद सुब्बा

१।
मलिलो माटोसित मेरी आमा
खेतबारीका फाँट बनेर आइन्
आशा र आकांक्षाका पहाड-पर्वत उठिन्
माया-ममताको मधेश फैलोँदै गइन्
र थाम्नलाई घरेटी बसि दिईन्
हाम्रो लागि पूरै धरती नै सृष्टि गरी
आफू चाहिँ माटोबाटै मुक्त भएर गइन्
२।
पानी उम्रेर आमा पँधेरो झरिन्
हाम्रा गाग्री, बाल्टी, भुल्डुङभरि भरिएर बसिन्
फूलदानीहरूमा फूलको तिर्खा मेट्दै बसिरहिन्
खेतहरुमा पसिन् कुलो बग्दै
हाम्रै निम्ती निधारबाट पसिनाको झरना झारिन्
कहिले सानु आँखामा महासमुद्र अँटाइन्
खडेरी सुकिरहेको मनको बारीमा
वर्षा गुन्गुनाउँदै झरिदिइन्
हामीलाई यसरी पानीको धनी बनाइराखेर
आफू भने पानीबाट मुक्त भइन्
३।
पुजाथानमा आमा धूपबत्ती बलेर
घरभरि मगमग उज्यालो भइआइन्
चुल्हामा मायालु आगो भुरभुर बलिन्
जाडो लाग्दा उनको काख तापेर पाएको
न्यानोपन हाम्रो छाती र हत्केलाभरि छ
यसरी उज्यालो ताप दिइराखेर
आफू चाहिँ उज्यालोबाटै मुक्त भइन्
४।
हाम्रो छातीभित्र प्राणवायु बनेर
हामीलाई आ-आफ्नो श्वास-निश्वाससित
भित्र-बाहिर गर्न सिकाइन्
विपदका भत्भत् भाभरहरूमा
शितल हावाको सिर्सिर लहरले सुम्सुम्याइरहिन्
उनकै नाक-मुखबाट लहरिँदै आउँने
सुगन्धित हावाको बुइ चढेर
शब्द र सङ्गीतहरू आइरहे
यसरी हामिलाई हावासित बाँच्न सिकाइराखेर
आफू भने हावाबाटै मुक्त भइन्
५।
अग्लिने र उड्ने ठाउँ प्रशस्त बनाइदिएर
आमा सँधै हाम्रो आँखाभरि आकाश फैलिरहिन्
दु:ख-पीरका नीलडामहरूलाई नीरमा रङ्गाएर
आकाश फिँजिएको उनी
हाम्रा कोठाकोठा भएर आइदिइन्
बाँसुरी र सहनाइभित्र पसिन्
सादा पन्नामा आकाश टाँगिएर आमाले
शब्दका ताराहरूलाई निम्त्याइरहिन् सँधै
हत्केलाहरू अञ्जुली बन्नासाथ
अञ्जुलीभरि हुन्छ आकाश
मेरी आमा फिँजिएकी आकाश
मैले आँ गर्दैपिच्छे पस्छ मुखभित्र
अनि मेरो चेतनाको सिलिङसम्म टाँस्सिएर बस्छ
भोको भाँडाभित्रको पर्खाइ भएर पनि बस्छ
अनि सपनाहरूको क्षितिज उघार्दै फैलिरहन्छ
मेरो सारा अस्तित्व नै आकाशमय बनाइराखेर
मेरी आमा अब
आकाशमै पनि नबाँधिने गरी मुक्त भइन्

उपसंहार:
यसरी आकाशसहित सिंगो पृथ्वी नै
हाम्रै निम्ति छोडिराखेर
आमा त युमासाम् भइगइन्
निर्बन्ध निराकार
अब युमा हुनुबाट पनि उन्मुक्त भई
परम तागेरा निवाफुमाङमा लीन हुँदैछिन्
ऊँ तागेरा निवाफुमाङ
सेवारो !
आम्मा ए ! आसेवारो !!

म अवसरबादी होइन


आचार्य प्रभा

म,
अवसरबादी र निर्दयी होइन साथी
स्वाभिमानको छात्ती फूलाएर
आफ्नी आमाको काखमा
रमाउन खोज्दा,खोज्दै
अभिमानिहरुको लुछाचुंडिमा
मेरी आमाको छात्ती रुग्ण बन्यो
छोरा,छोरी खेल्ने रमाउने काखमा
निर्दयी लातहरुको परेड बज्यो
निर्मल आसुँ बग्ने आँखाबाट
रगतका आसुँ बग्न थाले /
अब भन साथी ,
यस्तो बिव्हल द्रिश्यको
म कसरी मूकदर्शक बनु ?
आमालाई हँसाउने पलहरुमा
म अझ किन बोझ बनु ?
तिम्रो सोंचको म बिपरित मान्छे भए
म निरीहताको मुखुन्डो भिरेर
पलायन भएकोमा लज्जित छु
मलाई अवसरबादिको सङ्या नदिनु
बिवस्ता र परिस्थितीको दासी सम्झिनु
म भित्र पनि आफ्नी जननीको
रगत बगेको छ /
पराइभूमिमा टेके पनि
आमाको काखको न्यानोपनको आभाष छ
त्यसैले ---साथी,
म त्यो शुभघडिको प्रतिक्षामा छु
मेरा यी हातहरुको भरोशामा
आमाको बैशाखि बन्ने प्रयत्नमा छु /
म आफ्नी आमाकै काखमा
लुट्पुटिन लालायित छु
अनी त ---भन्छु साथी,
म अवसरवादी होइन /
(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन
साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।

सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
रहर होईन छाडेर जान बाँध्यता मलाई छ

यो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनु
थापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।

सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच है

आएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।

Jan 8, 2009

साजारा लुम्दाङ्वा


टंक वनेम

बग्दिन आजै म साजारा लुम्दाङ्वा
अग्लिन्छु वशाङ्लुङ भएर चुलिन्दै
च्यापेर उन्यु काखिमा पखेट्टा
नसम्झीउँन आमाहरुले
यि असुभ लक्षणका संङ्केत हुन
म मृत्यु जित्न चाहान्छु
यो युगको
सम्मान गर्छु
बछिउँ,काङमु र खबुहाङलाई
तर
अब गुहार्दिन फ्यात्लुङमा बसेर
भिरबाट ओर्लीन

जम्मा नहुन गाउँलेहरु
हेल्लुङवाको मैदानमा
बग्दिन अब
साङ्लासिङको डुङ्गामा
भिर्छु वशाङ पङघे
सुनाखरीको जाबेझोला
मेख्ली र दुम्सिका काँडाहरु
फलाक्दै मुन्धुम्का मन्त्रहरुले
खेदाउँदै फक्ताङलुङ वरिपरि
जाग्ने ति प्रेतात्माहरुलाई
भगाउँछु यसरी कि
भस्मासुरले
महादेबलाई लखेटेको थियो ।

अवतार लिएर
पोमु केत्छाङले
तमोरको धमिलो नदीमा
पारुङको रातै रगत बगाएको थियो
उद्घोष हो यो
पारुङको मृत्युमा एउटा युद्ध
एउटा अनुष्ठान

एउटा भविश्यको लागि
एउटा उत्सर्ग
चाहिएको छ वर्तमानलाई
एउटा युगको शुरुवात
म बग्न चाहान्न आजै
साङलासिङको खोङबेमा
नकाटिओस
शक्तिका प्वाखहरु
नभन आमा
तिम्रो कोखमा
म बोक्सा छोरा भएर जन्मिएँ
यो माटो सिरमा राखेर
वशाङलुङ अग्लाउँन चाहान्छु
तमोर खोलाको पानी पिएर
तेन्जीयेप येवाले झैं
अन्यायमा बलेका
आगोका लप्काहरुलाई
निभाउँन चाहान्छु
खागो काड्ने भिरमा
नझुण्डियोस मृत्युका काम्रोहरु
अनुष्ठानको वेदीमा
सत्यवाचाको कसम खाँदै
उद्घोष गर्दैछु
साजारा लुङदाङवा मर्न सक्दैन आजै
जुठो परेको घाम जून मुन्तिर ।

मा: लाम्मीन्


सेसेहाङ् फियाक लिम्बू

आङ्गा? लाङघेक्काबा आलाम्हा?
आम्बा-आम्मासिरे मा: लाम्मीन्
मेजोगु मेधआङ् नेस्सेबा,
खाम्लाधाआङ् लोक्मा मेसुक्ल फा?आङ्
अन्हा?आङ् लाङघेक्मा मेसुक्ल फा?आङ्
सिक्चो, फे?बात् केरेक्-केरेक्
लाङघेक्मा उस्स्रु मेबोङ्ल फा?आङ् ।
आल्लो हेन् मा: लाम्मीन्
थुक्वारे ए पक्खु ते?रुबी ?
लुन्देआङ् ने हत्छे-वत्छे सेरेपेबी ?
खाम्लाधाआङ् हे?यो मेन्लोक्नेन्
सिक्चो-फे?बात्हा?आङ् लाङमेन्घेक्कीन्
थक्सा-पुसाहा?आङ् लाङमेन्घेक्कीन्
आलाङ्योक्खा,आङ् हे?यो तगी मेबोनेन्
नोरिक्काङ् मिक्चो म:र्इ
आम्बा-आम्मासिरे तयेत्छुबा मा: लाम्मीन्
निङ्वा? इत्तुङ्ल ओमेत्तुङ्-
मनाहा?रे लाङघेक्मा मेलेरुआङधो
सुङ्लारे तिम्से पे रेत्छ,
थाक्पारे युक्नारक् पोक्खेरेत्छ,
किप्मा पघु-केघुबा
तिङ्ग्रेगलास्रक् पोक्खे पे रेत्छ,
पयम्-यम्बा सिगेबा-खिरेबाहा?
चुङमादेन्लक् पोक्खे पे रेत्छ ।
बा कन् निस्सेत्छुआङ्ङेबिला-
आसेप्माङमो? आम्बा-आम्मासी
थान्नेत्छीआङ् हाप्सीर-हाप्सीर
माङबान्नेत्छीर पात्छीरनेसी-
आस्सा ए, केत?यान् मिक्सी थोक्तेआङ् पत्
हारा तम्सीङ् चोगेआङ् सेप्तेलारेओ
हेने? लाङकेघेक्लफा?बा मास्लाम्मिन्
तिङगेक्ला रक् पोक्खेआङ् ने
हारा साक्तेआङ् लाङघेगेओ ।
तेदाप् ल?आआङ् निङ्वा? इत्छिङ्ङा
आम्बा-आम्मासी रे तयेत्छुबा लाम्मिन्
साक्माआङ् लाङघेक्मारे लागि
आर कुनुम्-थङ् चोक्मा पोङ् ।
कन् तेन्धङ्हा?ओ सिगेबाहा?आङ् सिमा मेसुक्,
थुम्लामिबा थङ्-इबुहा?आङ् पु?मा मेसुक्,
कुनुम्मो इनोगेन् खदेम्माङ् पोङमा सुक्
आङ्गा? थङ् ग चोक्मै पोङ् ।
हेक्याङ्लक्
आस्सा?आम्मेन्छाहा? तायेम्मो
कन् मा : लाम्मो उस्स्रुआङ् लाङ्घेक्मा मेघो
आम्बा नु आम्मासीरे लामतई इत्तेच्छुबा
निङ्वा?हा?आङ् कुसाङ्धो केत्मा मेघो ।

२०६०/१०/८, आर्बोटे, पान्थर ।

आधारमा धार


भूपेन्द्र महत

आधारमा धार थ्यो कि माया आरो भो
रेटी रैछ मुटु मेरो बांच्न गारो भो

छुन्छु भनी भनी यो मन भत्कायौ
बिझिँ बाँचा आज त्यो आँखाको छारो भो

दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तिर छाती तारो भो

सतहमा भेट्या माया मुटुमा राख्न नि
निल्नै नपाई जालमा पार्ने चारो भो

मन नपर्नेको श्वाससै गनायो कि
फन्की फन्की रन्किने रिसको पारो भो

प्यासी जिबन प्यासमै सिमित भा छ
पिउन पनि बिना पानीको धारो भो

परित्याग-प्रतिक्षा


टंक वनेम

बैँस ध्वाँसे फर्सीको फूलमा रंगिन्दा
भुनभुनाउँदै आयौ
घुम्यौ नाच्यौ
ति म्रा भोका दाँतहरुले
कुन्नी ? के के टोक्यो
जि ब्रोको स्वादले
थाहा भएन के के चाख्यो
सूर्यमुखी खितखिताउँदा
तिमी पनि खुव हाँस्यौ
अनि
पखेट्टा फटफटाउँदै उड्यौ
थाहा छैन
कस्तो फूलको वाशनामा डुली रहेछौ
कस्तो यात्रामा भुली रहेछौ
त्यही बैँस
तिम्रै प्रतिक्षामा मुर्झाइ रहेछ
तर पत्यार लागेको छैना
तिमी त्यही बैँसमा फेरि
त्यसरी नैं
त्यस्तै रहरले उडेर आउँछौ
र भन्छौ
हाय प्रिय !
सूर्यास्तको कैदी हुँदा
धोकाको बीउ रोप्यो भन्छौ भने
तिम्रो परागको सिन्दुर पहिरेर
तिम्रै वरिपरि घुमी रहन्छु ।

प्रभातलाई मोड्दै


एकलव्य राज

सन्नाटाका जंजिरहरु तोड्दै जादा मैले
विहानीका प्रभातलाई मोड्दै जादा मैले
आए जंघार तर्नेहरु जीवनको गोरेटोमा
वा”डी खुसी, मायाहरु जोड्दै जादा मैले
रंगीन भनि दुनिया, मस्त प्याला पिएसी
होस गुमाई साथहरु छोड्दै जादा मैले
वालुवाका महलहरु जीवनमा खसेपछि
विचलनका सास्तीहरु फोड्दै जादा मैले
टुक्रिएका जीर्णहरु संगालेर मुटुमा
सुन्यताका हावापानी ओड्दै जादा मैले

बयरवन ३ हरकपुर (मोरङ)

म साहित्यकार हुँइन


आचार्य प्रभा

साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन /
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु/
'कबी''कबिता'हुनुपर्दछ
'कबिता' 'कबी',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबी बन्ने प्रेरणा पाएका छन /
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबी हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र हुँ /
(अमेरिका )

यो साल कसरी गयो ?


स्यानु पाईजा

फाईदा र नोक्सानको खाता नै बनाईएन
किन कि यो बर्ष कुनै ब्यबसाय नै गरिएन
कता कति जुलुसमा गईयो थाहै भएन
कहाँ कति चोटी बन्द भयो हिसाबै भएन
कहिले पेट्रोलको लाईनमा बसियो
कहिले ग्याँसको लाईनमा
कहिले मुबाईलको सिम किन्ने लाईनमा
कहिले मुबाईलमा टेलीकमको दिदी बोलेको सुनेर बसियो
भनौ भने यो साल आधा नै लाईनमा गयो
कहिले कोशी डुबेको टिभी मा हेरियो
कहिले नेपाल खुम्चीएको समचार पढियो
कहिले एमाले र माओबादीको बहर जुझेको हेरियो
कहिले स्यालले कुखुरा ढुके झै, झाडीमा लुकेको हेरियो
अल्छीहरुले लुट्ने जाँगर निकालेको देखियो
कायरहरुले कुटने साहस जोडेको देखियो
सासले बोल्नेहरु फेरि गर्जेको देखियो
आश गर्दा गर्दै सास जाने हाम्रो नयाँ नेपाल देमो देखियो
मरेको समचार सुनाउने टिभीले लुटेको समचार सुनायो
कामदारले मालिक कुटेको समचार सुनायो
केहि उपलब्धि नभए पनि धन्य हो बाँचियो
नयाँ साल र नयाँ आश्पासन पाउन लाई बाँचियो
नयाँ सालको शुभकामना पाउने र दिने मा परियो
केहि उपलब्धि नभए पनि धन्य हो बाँचियो
नयाँ सालको शुभकामना

पात्लेखेत-७, म्याग्दी

Jan 3, 2009

स्वागत छ नव बिहानिलाई


आचार्य प्रभा

बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ/
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं /
बिगत,बिगत भयो
नव आगमनको पललाई सिगार्न
मनको फूलबारिमा जाहिजुही फूलाउँ
बिषादिका खोटहरुलाई
मिठासरूपी मुस्कानका छिटाहरुले
स्वागत गरौं /
पूराना समयका तीता बचन र पीडालाई
नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ
समग्रमा ---नव बर्षलाई स्वागत गरौ
तीता सम्झनाका प्रहरहरुलाई
नव बिहानिमा अनुवाद गरौ /

सावधान !


रामप्रसाद ज्ञवाली

बारीमा कसले जोत्छ त्यल्ले धेरै पढ्यो भने ?
मलाई कसले बोक्छ त्यल्ले गाडी चढ्यो भने ?
'जी हजूरी' विना मेरो कसरी बच्छ स्वाभीमान ?
देशको उन्नती चाडै गर्न पाइन्न सावधान ?

सवैले खान पाएमा म सामु माग्छ को बता ?
सवैले कपडा लाए म सामु काम्छ को बता ?
पाएमा सवले बास म हुन्छु कसरी महान ?
सवैको जीन्दगी राम्रो पार्न पाइन्न सावधान ?

ल्याप्चे ठोक्न लगाएर पारेर विधि सम्मत !
सयौं विधा जगा आफ्नै बनाएथ्याँै सगौरव !
लुटेको जनताबाटै भए नि बुद्धि थ्यो महान !
जग्गा फिर्ता नभै शान्ती गर्न पाइन्न सावधान !

'दान' हो रे 'महापुण्य' 'भक्ति' रे मुक्तिको पथ
त्यसैले गण्डकी-कोशी दान भक्ति गर्‍यौँ सव
अमेरिका-इण्डिया हुन 'पुजनिय सखा' महान !
मेरा मालिक हुँन, गाली गर्न पाइन्न सावधान !

तर्राईका सवै जाती, जनजाती, जमिन, धान,
देश टुक्रयाउनानिम्त्तिm बेचेँ बुद्धि र स्वाभिमान !
अनेक देश यो पार्न मात्रै हो 'सहकार्य-काम'
यो देश एकताबद्ध पार्न पाइन्न सावधान !

सम्झौता गरिए जे जे वाध्यात्मक थिए सव
बेला यो फेरिएको छ माँनिदैनन कुनै अब
लुट्नु ता धर्म हो हाम्रो हर्न पाइन्न सावधान !
समायोजन सेनाको गर्न पाइन्न सावधान !

वेस्या वृत्ति हुनै पर्छ रोक्न पाइन्न सावधान !
भूमि सुधारको नारा बोक्न पाइन्न सावधान !
बाटाहरु खुला पार्न तोक्न पाइन्न सावधान !
जनताहरुको 'वाद' बोक्न पाइन्न सावधान !

सहरी गन्दकी मैला फाल्न पाइन्न सावधान !
जन्ताका चुहिने छाना टाल्न पाइन्न सावधान !
अध्यारा गाँउमा बक्ति बाल्न पाइन्न सावधान !
हाम्रो साम्रज्यमा भाजो हाल्न पाइन्न सावधान !
कपन-१, काठमाडौ

सुख दु:ख सगै रमाउ


बिमल गिरी

कैयौ बिते हिउदहरु तिमी आउने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

बाझिगए भस्मेहरु बाली नलाई पाखामा
तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा
सुख दु:ख सगै रमाउ आफ्नै स्वदेशमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

सुकिगए मुहानहरु डल्ला फोर्दै बिते जीबन
उराठछन लेक बेसी पतकर झै उठछ यो मन
सुम्प्यौ बैश परदेशलाई कुबेर बन्ने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा,

चारपाने झापा
हाल बेल्जियम

इज्जत र प्रतिष्ठा


दिलिप योन्जन

फेवातालमा हाँस्ने माछापुच्छ्रे
विश्वसामु नझुक्ने सगरमाथा
राष्टियता र प्रतिष्ठाको लागि
जोश, जाँगर र प्रतिभा जगाई
हामी बिर गोर्खाली
इज्जत र स्वाभिमान बेचेर
खुशियाली कसरी मनाउँछौ मसँग....?
अन्याय र अत्याचारको बिरोधमा
एक पेट र एक आङ् छोप्न लड्दैनौ भने
तिमीले मोजमस्तीमा संसार भुल्यौ
कुनीति र कु संस्कार बुझेनौ
इतिहासलाई पल्टाएर किन हेदैनौ
कैयौ शताब्दी बित्यो
हामी बहादुर र लडाकु
किन बुझ्दैनौ......?
प्रयास त गर.......?
मान्छे चन्द्र्मा पुगिसक्यो
हामी अर्काको सेवामा
कैयौ सताब्दी बित्दा निन्द्राले छाडेन
कति संसार जित्ने दाबी गर्छन्
युदमा बाजी लगाउने जिबन
इतिहासले तिमिलाइ चिन्दैन
पैसाको मुल्य.... त मृत्यु.....
जंग बहादुरको घमण्डले
हामीलाई अन्धकारमा फसायो
भए पनि प्रयोग र परीक्षण
बिसौ शताब्दी त के, अझै कति-कति
अधिकार र कर्तब्य नबुझ्दा
मोजमस्ती र खुशियाली बटुल्नेहरुले
इतिहास पल्टाएर कहिले हेरेनन्
रुढिवाद र कुरीति बुझ्ने प्रयास नै छैन
तर उ बुझ्दैन............. ?
बुझ्ने बेला भएको पनि छैन
बिसौ शताब्दी त बित्दैछ।

अन्योलमा नपारी दिशा निर्धारण गरेमा
हामी हक र अधिकार लिन सक्नेछौ
उन्नति त प्रगातिले शिखर चुम्नेछ
हामी माथि लादेको परम्परा सकिनेछ
अनिस्चित भबिष्य सुनिश्चित हुनेछ
शुर्य हाँस्ने छ
चन्द्रमा पिल्पिलाउने छ
डाँफे र मुजुरले राष्टियता देखाउने छ
धर्तिले गर्भाधान गर्ने छ
शान्तिको दुत बुद जन्माउन
समानता र स्वतन्त्रता पाउन
कचेल्तिएका ओठहरु फक्रिनेछ
भोक र रोग बिरुदमा बाँच्ने आशा छर्न
हातमा हात मिलाउँदै देश बिकास गर्न
अतितसँगै बर्तमानको इतिहास कोर्न
बुझ्ने प्रयास गर
समय धेरै बितिसक्यो
किन बुझ्ने प्रयास गर्दैन उ............?
घाम र पानीले नथाकेको जीबन
दुख र ब्यथाले नपाकेको शरीर
मुत्युसंग पछाडी नहट्ने योदा
नसा नसामा बारुद भरेर लड्नु छ
असमानताको पर्खाल भत्काउन
इज्जत र प्रतिष्ठा कायम गर्नको लागी
हिमाल जस्तो जिन्दगी के गर्नु
हिउ नपर्दा अस्तित्व मेटिन्छ भने
झरना जस्तो जिन्दगी के गर्नु
बर्षा नभए भीर पखेरा बन्छ भने
कति भन्नु...........? प्रयास त गर....?
मुक्तिको लागि क्रान्ति गर्नु छ
हातमा मसाल लिएर उठाउनु छ
झुक्दै नझुक्ने सगरमाथा बन्नु छ
पबित्र फेवाताल जस्तो बन्नु छ
राष्टियता र मातृभुमी जोगाउनु छ
शताब्दियौ पुरानो इतिहास कोर्नु छ
मेटिएको पाइला कोटयाउनु छ।

अस्टिन, अमेरिक
२ बैशाख २०४८