Jan 15, 2012

पत्रसाहित्य भाग - २

प्रिय क्रिसा
जीवन र जगतको मुलबाटोबाट जीवन जीउँनुको अभिवादन ।
हामीले समयको तीरैतीर जीन्दगीका गोरेटाहरु पछ्याउँदै जाँदा जीउँनुका आरोह अवरोहलाई पार गर्दै कुनै उदेश्यमा र्स्पर्श गर्न तम्सिन्छौ । तर ती उदेश्यहरु स्पर्श नगर्दै समय निरन्तर तन्किन्दै जान्छ जसरी रबरको पेटी तन्कन्छ । र जति यात्रा बढाउँदै लैजान्छौ उति नै हाम्रा लक्ष्यहरु,उदेश्यहरु,बिचारहरु,गन्तब्यहरु नयाँ नयाँ आउँदै जान्छन् । त्यसवेला हामीलाई समयसापेक्षताले औंला ठड्याउँन पुग्दछ । हामी यी नयाँ बिषयबस्तुसंग घुलमेल हुने कि नहुने ? नयाँको रफ्तारमा अगाडी बढ्ने कि नबढ्ने ? अथवा पुरानोलाई कुन तवरले नयाँसंग समायोजन गर्ने ? यी प्रश्नहरुको सामना पक्कै नगरी हुन्न । किनकी समयसापेक्ष बन्नको लागि हामीले नयाँ समयसंग,परिस्थितिसंग,अथवा नयाँले बोकेर ल्याएका सबै अवस्थालाई स्विकार्नु पर्ने हुन्छ । यदि पुरातन सोच,बिचार र शैली मै अल्झी रहने हो भने निश्चितरुपले समय भन्दा पछि पर्न सक्छौ । जब हामी समयको पछि पर्र्छौ तव हामीले बाँच्दै गरेको जीवनको श्रृङखला टुट्न सक्दछ । त्यति मात्र हैन अनेकौ समस्याको भुमरीले मर्डार्न सक्दछ । यो मोडमा मात्र समयसापेक्षको अर्थ बुझ्न पुग्दछौ । बिति सकेपछि त्यसको अर्थ र महत्व बुझ्नुको कुनै तुक रहदैन क्रिसा । जति पनि गर्नुपर्ने,जान्नुपर्ने,देख्नुपर्ने,भोग्नुपर्ने समयलाई त्यो परिस्थिती अनुरुप सदुपयोग गर्नु नै जीवनपयोगी हुन्छ । तिमीलाई पनि थाहा छ क्रिसा एउटै समान मान्छेमा पनि फरक वा एकरुपता पाइदैन । उसको जीवन शैली,स्वभाव,क्रियाकलाप,ब्यावहार मात्र नभएर मानिससंग जोडिएका सवै कुराहरु फरक नै हुन्छन् । तर पनि समाजमा रहेपछि फरकबाट पनि समानता अपनाउँनु पर्दछ । समयमा नै समस्याको पहिचान गर्दै सदैव अगाडी बढ्नु पर्दछ । कतिपयले समयलाई समयमा नै बुझ्न नसक्दा पछि परेको हामीले परिवारमा,समाजमा,देशमा देखेका छौ । मानिस अन्य प्राणीहरु भन्दा चेतनशील प्राणी हो तर पनि आफै कहिले कहि जानेर वा जान्दै नजानेर चेतनाबाट ओझेल परेका हुन्छ । हुनत कस्लाई पछि परौं लाग्दछ र - गर्दै भन्दै लैजादा त्यो परिस्थिति चिन्न,जान्न नसक्दा पछि परिन्छ । त्यति मात्र होइन ठुलै आपत विपतले पनि निचोर्न सक्दछ ।
क्रिसा जीन्दगीको पहिचान नै समयको पहिचान हो । समय मानिसको लागि हो । जगतसंग जोडिएका सम्पूर्ण बस्तुहरुको लागि पनि हो । तर हामी मानिसले ती सम्पूर्णलाई भन्दा पनि उच्च ठान्दछौ,वेग्लै सोच्दछौ र तिनीहरुको जीवनलाई विनाश गर्न तम्सिन्छौ । कति हामीले विनाश पनि गरी सकेर यस जगतमा उनीहरुको अस्तित्व नै लोप भएर गईसकेको छ । क्रिसा तिमीले यी सबै कुराको लेखाजोखा राखेर चेतनाको अभिवृद्धि गर्नुपर्दछ । जस्ले जगतमा भएका सम्पूर्ण प्राणी र बनास्पतिले आफ्नो जीउँने अधिकार पाउँन् । यी सम्पूर्ण कुरा जानेर बुझेर संरक्षणका पाईलाहरु चाल्नु तिम्रो कर्तब्य पनि हो । आजको विश्वले संकट मोल्नुको प्रमुख कारक तत्व नै मानिस बनेको छ । आजका आधुनिक मात्र नभएर उत्तरआधुनिक मान्छेहरुले जानी जानी आफ्नो मोजमस्ति र फाईदाको लागि आफ्नै विनाश निम्त्याउँन तम्तयार भएका छन् । सायद तिमीले यी सबै कुराहरु थाहा पाएर पनि त्यतातिर पाईला मोडेका हुन सक्छौ । तर ती गलत बाटाहरुलाई छोडेर नयाँ जीवनको खोजीमा आउँनु पर्दछ ।
यो समयको लागि मानविय मनहरु,विचारहरु,आत्माहरु,भावनाहरु जुट्नु पर्दछ । अव पनि दुनियाँसंग हातेमालो नगरी एक्लै जीवन जीउँन खोज्नु अधुरो हुन्छ,अपुरो हुन्छ । म संग म जस्तै अरुपनि छन् भन्ने सोचको विकास दिमागमा पलाउँनु पर्दछ । हामीले समाजमा यस्ता ब्यक्तिहरु पनि देख्छौ,भेट्छौ र संगत गर्र्छौ जो एक जीवन बाँच्नु वाहेक अरु जीवन नदेख्ने र नजान्ने । ती अथवा त्यस्ता मान्छेहरु साँच्चै जीवन,इच्छा,आकांक्षा,चाहना भोग्दैनन्,देख्दैनन् । जन्मनु र मर्नुलाई नै जीवनको सम्पूर्ण ठान्दछन्,त्यस्ता मान्छेहरु ।
तर जन्मेपछि हामीले परिवारलाई,समाजलाई,देशलाई र बिश्वलाई केहि गर्न सक्दछौ । हामीले देखि रहेकाछौ,आँखाले नदेखे पनि सुनिरहेकाछौ । हामी जस्तै ब्यक्तिले बिश्व हल्लाएको । न त उ भगवान नै हो न त उ मानवको अर्को स्वरुप नै हो । के हामीले त्यस्तो काम गर्न सक्दैनौ र क्रिसा ? निश्चय नै सक्छौ तर हामीमा गर्ने आँट,उत्साह,साहस,उमांग,जोस,जाँघर हुनु पर्दछ । यदि यी सबै कुराहरुलाई साहसका साथ जीवनमा लागू गर्यौ भने कहिल्यै पछाडी सर्नु पर्दैन । कायर मान्छेहरु मात्र गर्नुपर्ने कामबाट पछाडी सर्ने गर्दछन् । आत्मा विश्वासको उज्यालोले अरुले नजानेका,नदेखेका,नभेटेका बाटाहरु पछ्याउँन सक्दछौ । जीवन जीउँनुको र्सार्थकता यहि नै छ क्रिसा । त्यसैले यो पथमा मान्छेहरु धेरै अगाडी बढी सकेकाछन् । हामीले पनि अवेर गर्नु हुँदैन । केहि न केहि गरेर समयलाई,बिचारलाई र आत्मशक्तिलाई उपयोगमा ल्याउँनु पर्दछ । यो नै जीवन र जगतको लागि सबैभन्दा उत्कृष्ठ काम हुन्छ ।

No comments: