Oct 30, 2008

रित्तो शुभकामना


आचार्य प्रभा

खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद
त्यसैले के शुभकामना दिउ तिमीलाई ?
ह्रीदयमा संतापको दियो बालेर
बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर
फिक्का हाँसो हाँसी रहेछौ
दशै ,तिहारको रमझम
अब त दन्त्यकथा बनी सक्यो
भाईटीकाको आशिष र मान्यजनको
आशिर्वाद इतिहासको अक्षर बनिसक्यो
त्यसैले.....मेरा सह्रीदयिहरु हो
मैले चाहेर पनि शुभकामना
दिन सकिन अनी........
मनले चाहेर पनि
रमाइलो चाडको अनुभव पोख्न सकिन
किनकी म,तिमी ,हामी सबै
आफ्नोपन र परम्पराबाट बहिष्क्रीत
बनी रहेछौ
भावनाले सम्झेर पनि
इच्छा ,आकङ्क्षालाई
मारिरहेछौ

Oct 28, 2008

यस पालिको तिहार


रत्न बहादुर घर्ती मगर

मखमली फूलको माला त्यसै सुकी जाने भो
दिदी बहिनी भेत्ने मौका अब कहिले आउँने हो ।

पोहोर साल नी निधार मेरो भाईटीकामा रित्तो भो
दिदी बहिनी घरमा मलाई सम्झेर नै दिन बित्यो हो ।

अर्को वर्ष भन्दा भन्दै गए धेरै तिहारहरु
भरपूर्ण आशा भए नी रित्तै भए सधैं निधारहरु ।

छोरो अब आउछ भनी आशामा आमा बसेकी होली
धेरै भो सुन्न नपा भाग्यमानी भएस बावु भन्ने बोली ।

साथी भाई सबै मेरो बाटो हेरी बस्या होलान्
भैलो दिउसी खेल्न भनी सबै सुर कस्या होलान् ।

म त यतै विदेशमा बस्ने भए कल्पनामा
न्यासो लाग्छ मनमा मेरो साथीभाईको सम्झनामा ।

दिदी भेत्ने आशा मेरा यसपालि नी अधुरो भो
दिउसो भैलो खेल्ने चाहना यसपालि नी अपुरो भो ।

यसपालि नी सिरानी मेरो आँशुले नै भिजाउने भो
के छ परदेशी भनी यस तिहारले नी गिजाउने भो ।

हाल यु. के.

धारहरु - जुगौं देखि काटिरहेछन्


परिहास सुब्बा

धारहरुले कहिल्यै
काट्न छाडेका छैनन् ।

हार्नेहरुले अर्को पल्ट जीते पनि
जीत्नेहरुले फेरी खेल्दा हारे पनि
जस्तै जस्तै
उकालोहरु चढ्न छाडेनन्
ओह्रालोहरु नझर्न मानेनन्
उस्तै गरी युगान्त सम्मलाई
आकारमा बद्लिए
रुप सम्म बद्लिए
तर काट्न छाडेनन् ।

हेप्पीनेहरु तात्तिए पछि
मात्तिनेहरु आत्तिए
तब युद्ध शुरु भयो
भीडन्तको निगरानी भीत्र
मृत्युहरु रहे
मान्छेले मान्छे मार्नु
कहां सम्मको मानबता हो
जब महाभारत युद्धमा
रामले रावण मारि दुनियांको मन जीते
सोच्नै पर्ने भो
अमरसिंह हरुले ईतिहास भीरे
उसै गरी ।

धारहरु हिंसा सँगै पनि बाँचीरहे
अरु अरु मरिरहेको बेला
अन्ततोगोत्व
धारहरु धार नै रहिरहे
अमरिसंह जस्तै
राम हरु राम नै रहे
धारहरु जस्तै
सिर्फ रुपमा बद्लिए
आकारमा बद्लिए
तर
युगान्त सम्मलाई धारहरुले
नकाट्न मानेनन्
काट्न छाडेनन्
बस् जुगौं देखि काटिरहेछन् ॥

यात्रा मिथकको गडतिरमा


टंक वनेम

मिथक हो
सावाला खोला कहाँ बग्थ्यो
खोलाको पानी
धमिलो थियो कि ? नीलो थियो
मिथकले
सप्रसंङ्ग ब्याख्या गर्दैन
तर एउटा कुरा चाहि पक्कै हो
सावाला खोला वारि पारि
मृत्युमा बिजोर बिजोर
र
उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो
उसो हो भने
त्यो बन्दुक पड्किने थुम्का थुम्कीहरुमा
अहिले पनि
बारुदको गन्ध छर्दै
मृत्युको बिलौना र
उत्सवको हर्षित मोडमा
एउटा मिथक बोल्छ
जूनको सन्तान जूनले लग्यो
घामको सन्तान घामले लग्यो
बुझनु पर्ने कुरा
सावाला खोला मिथक हो
मिथक सावाला खोला होइन ।

मिथकका अगुल्टाहरुले कुटिएर
सावाला खोलाको गति रोकिन्दैन
मिथककै पेरुङ्गो भित्र च्यापिएर
अस्तित्वको बाजी किन हार्नु
आरेन्नी सुठी नैं सारो
कति लाउँनु यो निधारमा
उत्तरार्ध सरलीकृत भास्यटिका
कति मान्नु
त्रिकालदर्शी रहस्यात्मक कारण
कति समात्नु
इतिहास सम्मत नभएको पुत्छर
कति पालना गर्नु
धृर्त्याइको युगान्तकारी उपदेश
कति आँखा चिम्लनु
कुटनीतिक दृष्टान्तको अभ्रि्राय
कति स्वीकार्नु
नपुंसक सकाइपूर्ण अनुनय बिनय ।

बरु
सावाला खोला सून्दर बग्छ
सावाला खोलाको
अक्षत योनीमा
त्यो बृथाभिमान जन्मदैन
जसरी
पुरुषसुक्त मन्त्रले
चार ठाउँमा सृष्टिको द्धार खोल्यो
मिथक सावाला खोला हो
सावाला खोलाले कहिल्यै पनि
उकालो बग्न जान्दैन्
अब
सावला खोला
कसरी बग्दै जान्छ
सुन्नु छ
वारिपारि जोर बिजोर बन्दुक पड्केको
सुनिन्छ कि सुनिन्दैन
मिथकको आकासमा
कस्तो रंग पोतिन्छ
कृतिमताको खहरे खोलाले
प्राकृतिक बाटो लिन्छ कि लिँदैन
फेरि पनि सावाला खोला
मिथकले जन्माएको
वर्तमान हुन्छ कि हुँदैन
शुरु गर्ने हो भने
शुरु गरौं हो लुङवा !
यही सावाला खोलाको गडतिरबाट
चप्लेटी ढुङ्गामा कविता कुँदेर
यो..........अविजित यात्रा ।

Oct 18, 2008

यो कथा होइन यथार्त हो


जबेगु दिलीप लिम्बू

नशापिएर कुम्भकर्र्णो निन्द्रामा
कति दिन निदाउछौ किरात दाजुभाई ।
तिम्रो शिरमा टेकेर सगरमाथा चढी सके ति झुस्ले भाईहरु
तिमी भने जाड,रक्सी र बियर,हुस्की भन्दै सबै कुरा विर्सिसक्यौ ।

जस्ले जाहा टेकेपनि कहाँ दुख्छर ?
तिनपानेको अमृत पिएका छौ बहादुर भएका छौ ।
आफ्नो परायलाई चिन्नै छाड्यौ, विना सेवनअमृत
हेरत भुत्लेहरुको सञ्जालमा कसरी फसेका छौ ।

भूमिपुत्र भन्ने आज दन्ते कथामै सिमित रहेको छ
बेहोशीमै भए पनि हाम्रो किपट थियो, भन्छौ ।
कस्तो बिडम्बना हो यो ? टिठ लाग्ने
नशामै भए पनि कता कता दुइ -चार कुरा सहि सत्य गर्र्छौ ।

मुखमा मिठास कोखमा दाह्रा ख्याउटे ज्यान छुचुन्द्रे मुख
चिप्लो बोलिले दिमाखि जाल फिजाउछ ।
किरातीहरु जिउडाल जस्तै मोटो बुद्घी, घमन्डी बानि
हङकङ युकेको बन्दुके बिटाले झुसेहरुको कोदो घरमा भित्रयाउँछ ।

अबत छाडि देउ अन्न कुहाउन किरातीहरुहो जाड र रक्सी बनाउन
जाड,रक्सी र बियर,हुस्कीको गित गाउँन
राजा देखि चप्रासी, सेना देखि पुलिस चुच्चेहरुकै ढलिमलि
कस्तो निर्दयी खेल खेलेका छन् तिम्रो भूमिबाट तिमीलाईनै भगाउँन ।

यो कथा होइन यथार्त हो संसारको सबै भन्दा अग्लो सगरमाथा
तिम्रो शिर हो तिम्रो भूमिहो तर ओझेलमा परिसकेको छ ।
अबत उठ जाग ब्यूझ किरात सन्ततिहरुहो, तिम्रो शिर ढल्न लागिसकेको छ
ख्याउटेहरुको दाउमा परिसकेको छ ।

खुडा खुकुरीले लोक जितिदैन किरातहरुहो, रिस घमन्डले हाम्रो लक्ष्य भेटिदैन
ति जाली हातहरुले नलेखेका इतिहास अब किरातीले लेख्नु छ ।
हामी माथिको दमन र अत्याचारको भण्डाफोर गर्नु छ
घुस खोरी र पक्षपाति इतिहासकार झुस्लेहरुलाई नङग्याउने बेला आएको छ ।
देशको लागि ज्यान आहुती दिने शहिद काङसोरे, श्रीजङगा तेयोङसी, राम प्रसाद राई जस्तै वीर किरात शहिदहरुको नाम इतिहासमा लेख्नु छ ।

वल्लो किरात पल्लो किरात माझ किरात हामी होइनौ
यो त झुस्लेहरुले दिएको उपनाम हो ।
राई, लिम्बू , मगर, गुरुङ, हामीलाई जति थरी नाम दिए पनि
झुस्लेहरुले हामीलाई फुटाउने चाल हो, इतिहास बोल्छ हाम्रो थर
केबल मात्र किरात हो ।

हिन्दु धर्मलम्बि होईनौ हामि, हाम्रो धर्म, मुन्धुम साँक्षी छ
हिन्दु जस्तो मान्छे पुज्ने, धर्म होईन हाम्रो, मुन्धुम आफैमा प्रकृतिक छ ।
हाल - साउदी अरब ।

Oct 15, 2008

श्रन्द्धाञ्जली लिम्बुवान आन्दोलनका सहिदलाई


नगेन्द्र ईङनाम "आठराइली"

शताब्दियौं अघिदेखि नै
निरङ्कुश शोषकहरुबाट
सोषित पीडित लिम्बुवानलाई
मुक्ति दिलाउन अघि बढ्दै गर्दा
लिम्बुवान स्वायत्तालाई जकड्याउने
माखे साङ्लोलाइ तोडेर
लुटिएको अस्तित्व फर्काउन्
अनि छोपिएको इतिहास पल्टाउन खोज्दा
तिम्रो सामर्थ्यलाई थेग्न नसकेर
निरङ्कुशतन्त्रले लिम्बुवानको नाममा
तिम्रो जीवनको बलि चडाएको छ
तर तिम्रो बलिदान
त्यो तिम्रो त्याग र जीवनदानले
निरन्कुशताको हांगाबिंगा तोडेर
निरङ्कुशतन्त्र पुरै ढल्मलाएको छ
चीर शान्तिको कामना !
अ्मर शहिद तिमीलाई
पछुताउनु पर्ने छैन तिमीले
केन्द्रिक्रित निरङ्कुशता जरैबाट ढल्दै छ ।

तिम्रो बलियो पहराको अभावमा
मात्र सुनमायां र मेन्छिगेनका आँखामा होइन
पुरै लिम्बुवानका नीरवताले छाएको छ
बेकसुर तिम्रो त्यागको बदलामा
लिम्बुवानीहरूले ए्उटै मुट्ठिभित्र भएर
निरन्तर संघर्षमा होमीने बेला भएको छ

बिना कुनै त्रास निरङ्कुशताको बिरुद्धमा
आफ्नो जीवनको प्रहरान्तसम्म
क्रान्तिको बिगुल फुकेर
ब्युंझाई दिएका छौ लिम्बुवानलाई
सन्देह छंदै छैन कुनै यहां
छिट्टै आउंदै छ बिहानी
नयां परिवर्तनलाई लिएर
नव क्रान्तिको सलाम !
बीर तिमीलाई,श्रद्धाञ्जली अर्पण गर्दछौं
तिम्रो बार्षिक स्मृतिमा
लिम्बुवानको प्रथम शहिद
अ्मर ! अ्मर !! अ्मर !!!
राजकुमार आङ्देम्बे तिमीलाई

( यो कविता लिम्बुवान आन्दोलनका सहिद राजकुमार आङ्देम्बेको वार्षिक स्मृतिमा समर्पण गर्दछु । )

Sep 29, 2008

लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट


टंक सम्वाहाम्फे

लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट
यो वाटो
खुलेको आजै हो
हिजोसम्म हामीले निर्वाध हिड्न पाउँने
यो वाटोलाई
मिचिएको थियो क्रुरताले
रोपीएको थियो संगीनले
छोपीएको थियो हिंसाले
त्यसैले चाहेर पनि
हिड्न सकेनौ यो वाटोमा
र पुग्न सकेनौ गन्तब्यहरुमा
यसरी निरिहताको शिकार भएर
सहिरह्यौ अन्याय अत्याचार
सदियौं सम्म
किनकी षड्यान्त्रको विरुद्घमा
हामी एकजुट हुन सकेका थिएनौ
तर ढिलै भएपनि
सुनामी छाल वनेर उर्लिदिदा
परिवर्तीत भएको छ इतिहास
तोडीएकाछन् पुराना छेकवारहरु
चुडीएकाछन् कुसंस्कारका साङलाहरु
त्यसैले त यो वाटो
निर्वन्ध भएकोछ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यदि हामीले ती पर्खालहरु
हिजै भत्काउँन सकेको भए
हिजै नाघ्न सकेको भए
यो यात्रा
निक्कै टाढा पुगी सक्थ्यो
तर यो वाटो युगौ देखि
वाधिएको थियो दासत्वले
जेलिएको थियो आतङ्कले
थिचिएको थियो कुसंस्कारले
त्यसैले यी पर्खालहरु नाघ्न
हामीले के सहेनौ
हत्या वलत्कार अपहरण
यातना प्रताडना जेलनेल
सहनु पर्ने सवै सह्यौ
खप्नु पर्ने सवै खप्यौ
तर हाम्रा वाटाहरु खुलेनन्
त्यसै ज्वालामुखी झै
ताता विचारका लाभाहरु लिएर
विस्फोटित भई दियौ
तव हाम्रा वाटाहरु हाम्रै भए
अहिले हामी हाम्रै वाटामा छौ
अहिले हामी चाहेको वाटामा छौ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यो वाटोको लागि
जव हामीले अधिकार खोज्दै गयौं
तव वाटो छेक्ने तगाराहरुले
खित्का छोड्दै हाँसे र भने
अव यति नै हो तिमीहरुको यात्रा
अव यति नै हो तिमीहरुको भाग्य
अव यति नै हो तिमीहरुको जिवन
त्यसवेला हामी
अधिकार माग्नु भन्दा
खोस्न हतारिएका थियौं
अजेय शक्तिको हतियारले
त्यो तिनीहरुलाई थाहा थिएन
अन्तत ती सवै वडारिए
अन्तत ती सवै नासीए
हाम्रो अग्नि जस्तै शक्तिपुञ्जले
त्यसैले यो वाटोमा हिड्न
अव कुनै व्यवधान छैन
तिमी हामी सवै हिड्न सक्छौ
ठुलो सानो सवै हिड्न पाउँछौ
आआफ्नै पाईलाले हिड्न सक्छौ
स्वतन्त्रता पूर्ण उपयोग गर्न सक्छौ
किनकी यो वाटोमा
हाम्रो पूर्खादेखि अहिले सम्मको
रगतको खोला वगेको छ
त्यसैले यो वाटो सवैको हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

सदियौ देखि वन्द रहेका
यी ढोकाहरु खुलेकाछन्
भर्खरै खुलेको यो नयाँ वाटो हो
त्यसैले हामी यो वाटोका नयाँ यात्री हौं
यहाँ नयाँ दृश्यहरु देखिरहेकाछौ
यहाँ नयाँ कुराहरु छोईरहेकाछौ
यहाँ नयाँ परिस्थिती भोगीरहेकाछौ
जस्ले नयाँ अनुभव वटुलीरहेछौ
तर पनि यो नयाँ वाटो हो
यहाँ चुनौतिहरु हुनसक्छन्
यहाँ जोखिमहरु आउँन सक्छन्
अनेकौ वाधाका पहाडहरु उभिन सक्छन्
यर्सथ ती सवै अड्चनहरुको सामना गर्दै
यात्राहरु अगाडी वढाउँदै लैजानु
हाम्रो दायित्व हो
हामीले यस्तै चुनौतिहरु चाहेका थियौ
हामीले यस्तै खतराहरु मोल्न खोजेका थियौ
आज यथार्थ भएर
उभिदिएको छ
तर हामी सुरक्षित यात्राको
तयारीमा जुटेकाछौ
त्यसैले यो वाटोमा
निशन्देह ,निर्भय भएर
आआफ्नै पाईतालाले हिडे हुन्छ हरेकले
आआफ्नै अस्तित्व जोह गरे हुन्छ हरेकले
आआफ्नै विचारको घर वनाए हुन्छ हरेकले
आआफ्नै अधिकार सदुपयोग गरे हुन्छ हरेकले
किनकी हामी सवैले वनाएको
साझा वाटो हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट