Jun 15, 2011

कल्पनामा सधै

कृष्णकला वनेम
कल्पनामा सधै आउने, राजकुमार छ एउटा,
पुजा गर्छु मनमन्दिरमा, तिमी मेरो देउता,,

भीडमा होस एकान्तमा, तिमी मात्रै आउछौ,
सपनी होस बिपनीमा, लुकामारी खेल्छौ,,
अघी पछी सङ्गै हिड्ने, राजकुमारलार्इ भेट्दा,
कल्पनाको मिठो तृष्णा, तिमी सङ्गै मेट्दा,,

कल्पनामा ………………………………

भमरा भै मनको बागमा, आई भुन्भुनाउछौ,
बैशालु यि दिलको ढोका, तिमी ढकढकाउछौ,,
हजारौमा रोजे तिमीलाई, राजकुमार एउटा,
नजाउ टाढा कहिल्यै, मुटु हुन्छ चोईटा,,

कल्पनामा ………………………

6/13/2011,Monday….

Jun 3, 2011

नसोध मलाई


 
 
 
 
 
 
 
 
 
लोकेश याक्थुङ्बा
 
नसोध मलाई मेरो खबर्,जसोतसो बाचेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु

टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ
पुग्नु छ धेरै टाढा मैले,दोबाटोमा नंअल्झाउ
तिमीले दिएको चिनो त्यो,संगालेर राखेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु

अन्जानैमा भेट भए,नबोलिकन तर्की जानु
नजर हाम्रो जुधेमा,नजिने झै फर्की जानु
सयौ चिरा यो मनलाई,जसोतसो गाँसेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु।

ताप्लेजुङ्

Jun 1, 2011

भुत्ते मन्त्रीहरु र जेष्ठ १४ गते

टंक सम्वाहाम्फे

सारा नेपाली जनताको
सपना बोकेर
देशको उच्च ओहदामा आसीन
प्रधानमन्त्री ज्यू
मन्त्री ज्यूहरु
सभासद् ज्यूहरु
पार्टीका नेता र कार्यकर्ता ज्यूहरु
तपाईहरुलाई थाहा छ
हामी जनताको मत पाएर
त्यहाँ पुग्नु भएको
कति समानुपातीकको घोडा चढेर
सांसद भवन देख्नु भएको
हामी जनतालाई पनि
थाहा छ
कति माननिय ज्यूहरु
राजनितीको र नजानेर
मन्त्री हुनु भएको
कतिले राजनितीलाई खेती गरेर
किसान बनाउँनु भएको
तर खोई कहाँ चल्दैछ
तपाईको राजनिती ?
त्यो हामी जनतालाई थाहा छैन
किनकी सांसद भवन छिरेपछि
जनताको पसीनालाई
बाज्दै जुझ्दै बाडी खाएको
हामी प्रत्यक्ष देख्दैछौ
हामी प्रत्यक्ष बुझ्दैछौ
सायद त्यसैले होला
तपाईहरुले गर्ने राजनिती त
भारतले पो गर्दोरहेछ
चीनले पो गर्दोरहेछ
अर्कै गोलार्द्धको देश
अमेरीकाले पो गर्दोरहेछ
हामीलाई थाहा छ
साङलोमा बाधिएको कुकुर
केवल झम्टिन सक्दछ
तर त्यसले टोक्न सक्दैन
त्यस्तै तपाई पनि पार्टी भित्रको
प्रतिवन्धित मान्छे
जनतालाई ठुल्ठुलो भाषण दिन शिवाय
जनतालाई ठुल्ठुलो सपना देखाउँन शिवाय
अरु के गर्न सक्नु हुन्छ र ?
पार्टी विभाजन गरेर
जनतालाई भाग,भाग लगाएर
जनमस्तिष्क विभाजन गर्दै हुनुहुन्छ
जनमत चिर्दैहुनुहुन्छ
जनबिचार फार्दै हुनुहुन्छ
कसैलाई कम्युनिष्टमा
कसैलाई कांग्रेसमा
कसैलाई फोरममा
अथवा दर्ता भएका सबै पार्टीहरुमा
आवद्ध हुन विवश बनाउँनु हुन्छ
नेता ज्यू
मन्त्री ज्यू
के यसरी नै जनतालाई
अनिर्णयको वन्दि बनाएर देश चल्छ त ?
के यसरी नै सम्विधान बन्छ ?
के यसरी नै नितीनियम बन्छ ?
तपाइलाई थाहा छ
आज नयाँ नेपालको नयाँ सम्विधान जारी हुने मिति
२०६८ साल जेष्ठ १४ गते शनिवार
खोई कहाँ जारी भो त्यो सम्विधान ?
के हामी जनतालाई
सम्विधान चाहिँदैन ?
नितिनियम चाहिँदैन ?
देश चाहिँदैन ?
हामी देशवासी सवैलाई
नयाँ सम्विधान चाहिएको छ
तर खोइ नयाँ सम्विधान
प्रधानमन्त्री ज्यू
मन्त्री ज्यूहरु
सभासद् ज्यूहरु
पार्टीका नेता र कार्यकर्ताज्यूहरु
त्यो ओहदाको कसम खाएर
आफ्नो जिम्मेवारीको प्रतिवद्धता गरेर
देशको विधायीका बन्नु भएको
हामीलाई थाहा छ
तर तपाईहरु त
भुत्ते पो हुनुहुदो रहेछ
नालायक पो हुनुहुदो रहेछ
अयोग्य पो हुनुहुदो रहेछ
किनकी तोकिएको मितिमा
नयाँ सम्विधान जारी गर्न सक्नु भएन
नेपाल र नेपालीको
भविष्य र आशा बोकेर
आफ्नो असक्षमता प्रदर्शन गरी सक्नु भो
तर पनि अझै त्यसलाई
निर्णायक तहमा पुर्याउँने काम
तपाईहरु कै हो
नयाँ नेपालको परिकल्पना गरेर
संघीयताको वकालत गरेर
आत्मनिर्णयको वाचा वाँधेर
देशलाई देश बनाउँने अठोट लिएर
जव काठमाडौ पस्यौ
तव आफ्नो अञ्चल,जिल्ला विस्र्यौ
तव आफ्नो गाउघर,आफन्त विस्र्यौ
तव आफ्नो प्रतिवद्धता विस्र्यौ
अनि नयाँ सम्विधान वनाउँनै विस्र्यौ
ए !भुत्ते प्रधानमन्त्री ज्यू
ए !भुत्ते मन्त्री ज्यूहरु
ए !भुत्ते सभासद् ज्यूहरु
ए !भुत्ते पार्टीका नेता र कार्यकर्ता ज्यूहरु
अव तपाईहरुले देश वनाउँनु हुन्न
नयाँ सम्विधान वनाउँनु हुन्न
शान्ति,अमनचयन कायम गर्नु हुन्न
बरु देशको आर्थिक भण्डार रीत्याउनु हुन्छ
देशको जल भण्डार बेच्नु हुन्छ
अन्य देशसंग आफूले चाहे जस्तै
घातक सम्झौता गर्न तयार बन्नु हुन्छ
हामीलाई थाहा भैसक्यो
भुत्ते खुकुरीको नियती बोकेर
भस्मे फाड्न अवश्य सकिन्न
जनतालाई झुक्याएर
सत्ता सम्हाल्न सकिन्न
हामीले बुझी सक्यौ
तपाईहरु सबै भुत्ते खुकुरीहरु
वेअर्थ त्यो ओहदामा बस्न सुहाउँदैन
ओर्ल ओहदाको कुर्सीबाट
अव हामी नागरिक शासक बन्नेछौ
अव नेपाली जनता मिलेर
नेपाल आमाको निर्माण गर्नेछौ
केहि काम गर्न नसक्ने
ए !भुत्ते प्रधानमन्त्री ज्यू
ए !भुत्ते मन्त्री ज्यूहरु
ए !भुत्ते सभासद् ज्यूहरु
ए !भुत्ते पार्टीका नेता र कार्यकर्ता ज्यूहरु
यो माटोले तिमीहरुलाई श्राप दिनेछ
हामी जनताले दण्ड दिनेछौ
त्यसको भागेदार यिनै भुत्तेहरु हुनेछन् ।

तिम्रो माया


कृष्णकला वनेम
तिम्रो माया पाउन चाहेर पनि सकिन जिउदोमा
मरेको दिन एक चिम्टी सिन्दुर भर्दिनु सिउदोमा

जुन् दिन् देखे तिमिलाई मैले मात्रै चाहीरहे
कहा थियौ तिमी तर जहि तही खोजिरहे
जति टाढा भए पनि आउनु मेरो मलामीमा
मरेको दिन एक चिम्टी सिन्दुर भर्दिनु सिउदोमा
तिम्रो माया……………………………

अर्पण गरी जिन्दगी मेरो तिम्रै यादमा बाचीरहे
मरी जाने चोला रहेछ जिबन बाचुन्जेल पर्खिरहे
रोपी देउ फुल एउटा म जलेको खरानीमा
मरेको दिन् एक चिम्टी सिन्दुर भर्दिनु सिउदोमा
तिम्रो माया……………………………

Apr 27, 2011

फक्ताङ्गलुङ्गको छोरो म

सुरेश सुब्बा

फक्ताङ्गलुङ्गको छोरो म
परदेशीनुको पिडा सँगै,
हङ्गकङ्गको मङकीहिल अनि,
बेलायतको अक्सफोर्ट कम्युनिटीहल
र याहाँका चिसो हावा चल्ने चाउरीहरुबाट ।
हरेक चार्डपर्वहरुमा ।
आ-आफ्नो बिधिहरुबाट ।
आ-आफ्नो परम्परालाई सम्झदा,
मैले आफ्नो धर्म सँस्कार
र सँस्कृतिहरु नियालेको छु ।
तोङ्गबा याङ्गबेन किनीमा अनि
याःलाङ्ग केलाङ्ग माँङ्गलाङ्ग
र हाक्पारे सँगै पालाम ख्याली
सबै सबै सम्झेको छु ।
सहिदहरुको सन्तान म ।
बिश्वयुद्धका सहिदहरुलाई सम्झदै,
जापानको नागासाकी हिरोशिमा,
हङ्गकङ्गको ताम्मी, क्यासीनो लाईन,
सातिन लगायत नेपाल र बिश्वको
धेरै ठाउँहरुबाट पूर्खाहरुको समाधी
स्थलमा पुगी, हरेक पूर्खा दिवशमा
आ-आफ्नै ठाउँहरुबाट
आ-अफ्नै पूर्खाहरुलाई सम्झदा
मैले आफ्नै पूर्खाहरुको समाधीमा
दुर्इ थुङ्गा फूल र श्रद्धाको
दुर्इ थोपा आँशु चढाएको छु ।
लिम्बुवानको छोरो म ।
अब त आफ्नै तरार्इका फाँटहरु
अनि बिजयपुर आम्बेपोजो र कुम्मायक
कुस्शायक डाँडाहरु फेदाप, सुदाफ,आठर्राई
घुङसा लेलेप र सिनाम तेल्लोकहरु घुम्दै,
अरुण, कोशी, मेचि, मेवा मैवा
र काबेली नदीहरुको चिसो पिउदै,
माईबेनी, त्रिशाली, युवामेला,
पोखरी, मदन मेला हुँदै, पुशेमेला
पुगेर फिलिङ्गे र सिन्कीको अचार
सँग तोङ्गबा जाड, आलुको तरकारी
अनि चाम्रे खाजा खादै,साम्याङ्गफूङ्ग,
लाङ्गबाङ्गी र यार्ङ्गइच्छेको हार लाउने
सोल्टीनीहरुसँग एक पल्ट
धान नाची दिने मन छ ।
किसानहरुको छोरो म ।
अब त आफ्नै हिमाल, पाहाड,
लेक, बेँशी र डाँडापाखाका खर्कहरु
अनि चौरी गोठका सेर्पा सार्इला,
भैसी गोठका डाँगी माईला, गाई
गोठका गुरुङ्ग दाई, कुलुङ्ग भाई
र भेँडा बाख्रा गोठलाहरु अनि
तान बुन्ने सुब्बेनी दिदी, बालीघरे
काईला लगायत सबै सबैसम्म
पुग्ने अनि रमाउने मन छ ।
यसपाली त एकजोर खाडीको
दौरा सुरुवाल सँगै एउटा
ढाकाको टोपी लगाउने मन छ ।
बीरहरुको सन्तान म ।
अब त दुःखै दुःख अनि
पिडाहरुमा पिल्सीएको लिम्बुवानको
गाउँ बस्तीहरु भित्र बेवारीस
बनकाडा र उन्यूघारीहरुले
छोपिएका काङ्गसोरे, सिरीजङ्गा,
फाल्गुनन्द र र्इमान सिँ
लगायतका समाधीहरुमा
पुगेर उहाँहरुको कार्यको उच्च
सम्मान गर्दै, भित्री आत्मादेखि
दरिलो सलाम गर्दै, बाकी कार्य
पुरा गर्ने बाचा सँगै श्रद्धाको
दुर्इथोपा आँशु अनि अजम्बरी
फूल रोपी दिने मन छ ।

Mar 17, 2011

कोसीस


डम्वर खड्का

माया यति महँगो हुन्थ्यो भने माया नै लाउने थिइन
भुलेर पनि सामु तिम्रो म आउदै आउने थिइन

सानै देखि तिमीलाई आँखाको नानीमा लुकाए
मेरो मन-मन्दिरमा हरपल तिमीलाई सजाय
एकछिन मलाई नदेख्दा तिमी छट्पटिने गर्थ्यौ
सपनीमा पनि कहिले कही मेरै नाम लिने गर्थ्यौ

बालापनको चोखो-माया लाई कसरी भुल्न सक्यौ
बदलिएछ तिम्रो आचरण तिमी पनि बद्ली सक्यौ

जीवनको मोडमा यस्तो होला भनेर सोचिन
यी आँखाले तिमी बाहेक अरुलाई कहिले रोजिन
पल भरमा नाता यसरी तोडेर जानेलाई
भेट्दा के भनि बोलाउनु मैले तिमीलाई

तिमी बिना पनि अब म बाच्ने कोसिस गर्छु
आशु लुकाएर पनि हाँस्ने कोसिस गर्छु

राजगढ,मोरंग

Feb 25, 2011

तिम्रो मुस्कान


टंक सम्वाहाम्फे

मेरो सारा जीन्दगी
तिम्रो एक न्यानो मुस्कानमा
तिम्रो एक सुमधुर मुस्कानमा
अल्झीएको रहेछ
किनकी तिमीले मुस्कुरार्इ दिएपछि
अनायासै मेरो सारा जीन्दगी
मुस्कुरार्इ दियो
अझ तिमी मुस्कुरायौ
म झन धेरै मुस्कुरार्इ दिए
त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।
मुस्कान बाँच्नुको साहरा
मुस्कान हाँस्नुको लहरा
जस्ले वेरीएर मनहरु हाँस्छन्
जस्ले जेलिएर तनहरु नाच्छन्
त्यसैले त मुस्कानमा प्रेम रहेछ ।
तिमीले अलिकति मुस्कुराएका पलहरुले
जीन्दगी जीउन सजिलो भएको छ
यदि ती तिम्रा मुस्कानहरु
मेरो यादमा नबाँची दिएको भए
मेरो आँखामा ननाची दिएको भए
म यो जीन्दगी कसरी जीउँन सक्थे होला र ?
तिम्रो मुस्कान छ र त
मेरो जीन्दगी पनि छ ।
आज मैले विरानो ठाउँबाट
तिम्रो तस्विरमा त्यहि मुस्कान देखे
जहाँ तिमी उसरी नै मुस्कुरार्इ रहेकी छौ
जसरी मोनालीसा मुस्कुराएकी छे ।
हो तिमीसंगको भेटमा
मुस्कुराएका पलहरु
उस्तै उस्तै लागि रहेको छ
सायद गाढा झझल्कोले हो की ?
वा सम्झनाका छालहरु उर्लिएर आएको हो
केहि थाहा छैन
तर तिमी उसरी नै मुस्कुराई रहेकी छौ
विगतका रोमाञ्चक क्षणहरु
आज आलो भएर मनभरी झ्याङगीएको छ
हुन त कहिले पो यो मनबाट
हुन त कहिले पो यो हृदयबाट
ती स्मृतिहरु ओझेल परेका छन् र ?
वरु झन झन जीवित हुँदै गएका छन्
तिम्रो मुस्कान र मेरो जीन्दगी
अथवा मेरो जीन्दगी र तिम्रो मुस्कान
उस्तै उस्तै भएर बाँची दिएको छ
यदि तिम्रो मुस्कुराहट
मेरो हृदयको पानाहरुमा नमुस्कुराउनु हो भने
मेरो सारा जीवन
अधेरीमा विलाउन सक्थ्यो होला
तर त्यहि एक मुस्कानको उज्यालोले
जीवनका उकाली ओरालीहरु नाघी रहेछु
जीवनका आरोह अवरोहमा बाँची रहेछु
यदि तिमी नमुस्कुराउनु हो भने
मेरो मन मुस्कुराउँदैन
मेरो काम मुस्कुराउँदैन
मेरो यात्रा मुस्कुराउँदैन
मेरो सारा जीन्दगी मुस्कुराउँदैन
मेरो संसार मुस्कुराउँदैन
त्यसकारण तिम्रो मुस्कान
मेरो जीन्दगीको उज्यालो हो
चाहे तिमी जहाँ मुस्कुराउ
तस्विरमा वा साँच्चै मुस्कुराउ
केहि फरक पर्दैन
किनकी ती सवै मुस्कानहरु
मेरा लागि समान छन्
तसर्थ म तिम्रो मुस्कानलाई प्रेम गर्छ
तिम्रो मुस्कान विनाको जीन्दगी
अधुरो नै हुनेछ
मधुरो नै हुनेछ
किनभने तिम्रो मुस्कानमा
जीवन जीउने शक्ती रहेछ
मेरो साहस
मेरो उच्छ्वास
तिम्रो सुमधुर मुस्कानले डोर्याएको रहेछ
अव म कसरी भनौ तिम्रो मुस्कानमा
मेरो जीन्दगी अल्झेको छैन भनेर
सायद तिमीलाई लाग्दो हो
मुस्कानमा जीन्दगी कसरी अल्झीन्छ ?
तर त्यहि अल्झेको हुँदोरहेछ जीन्दगी
किनकी तिम्रो एक न्यानो मुस्कानमा
किनकी तिम्रो एक सुमधुर मुस्कानमा
मैले आफ्नो सारा जीन्दगी पाए
मैले आफ्नो सारा संसार पाए