Aug 21, 2010

चमेलीको चिठी


दिव्य गिरी

सधैंको जस्तै आज पनि
तिम्री दुःखी चमेलीको सादर प्रणाम
तिम्री विरही चमेलीको सदा सम्झना ।

हिजो-अस्तिका चिठीहरू
आँसुले लेखेथें
विछोडको पीडामा बगेको आँसुले कोरेथें
तर आज यो चिठी
रगतले लेखिरहेछु
हो, रगतले
तिम्रै भाइहरूको रातो रगतले
तिम्रै दाजुहरूको तातो रगतले
तिम्रै आमा-बुबा र
दिदी-बहिनीहरूको आलो रगतले ।

साँच्चै, मेरो प्रिय खसम
यतिवेला यो वर्तमान
रगतको आहालमा चुर्लुम्म डुबेको छ
यतिवेला यी बस्तीहरू
आँसुको झरीमा निथ्रुक्क रूकेका छन् ।

मेरो प्रिय परदेशी खसम,
हिजोआज,
म स्वयम् घाइते बाँचिरहेछु
म स्वयम् पीडाको पहाड अग्लिरहेछु
म स्वयम् आँसुको नदी बगिरहेछु
र, कसरी लेखुँ गाउँघरको खबर
घरहरू बलेको खबर
मनहरू जलेको खबर
रगतको आहाल जमेको खबर
आँसुको भेल बगेको खबर
अलाप-विलाप र रूवाबासिको खबर
गन्ति गर्नै नभ्याउने लाशहरूको खबर
दिनदिनै मलाम जानु परेको खबर
सम्पूर्णमा भन्नुपर्दा सिँगै देशले बरखी बारेको खबर ।

देखेर हजारौं टुहुराहरूको मुहार
देखेर हजारौं विधवाहरूको अनुहार
हरदम यो मन हजारौं टुक्रामा विभक्त हुन्छ
हरदम यो छाती चरचरि चिरिन्छ ।
खासै भन्नुपर्दा यतिबेला
चराहरूको चिरविर गुञ्जने आँगनमा
बन्दुक र बम् पड्किरहेछन्
परेवाका बथान उड्ने आकाशमा
भय र त्रासको मुस्लो उठिरहेछ
अशान्ति र अँध्यारोको आँधी चलिरहेछ
यस्तो परिवेशमा
यो सङ्कटग्रस्त देशमा
मेरो प्यारो खसम् ,
तिम्री चमेली पनि सुरक्षित छैन ।

त्यसैले यसवेला
मभित्र तिमीभन्दा पनि बढी
शान्तिको खाँचो छ
तिम्रो मायाकोभन्दा पनि बढी
शान्तिको भोक छ ।

फूल हुँ म


टंक सम्वाहाम्फे

फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु
नसझाउन सक्छौ यी मेरा सपनाहरु
अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु
नगाउन सक्छौ यी मेरा गीतहरु
विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

संगीत - दिनेश सुब्बा
स्वर - सुनिता प्रधान

केही विम्बमा रत्नपार्क


प्रकार अन्तर

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो.........

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच .........
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

यथार्थको धरातलमा रहेर बाँच्ने रहर छ


कल्पना तुम्रोक

साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले

तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो ।

ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो ।

समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए ।

लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन ।

एक्कासी छायो सन्नाटा
चल्यो आधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा

मनको वाटोहरुमा
पाइला खोज्दै हिडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु ।

तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु ।

आहा यहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाँकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु ।

साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ ।

किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ ।

Jul 27, 2010

गजल


आचार्य प्रभा

अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ?
बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ?

आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ
आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

हिमाल नै,शान हाम्रो,भन्ने कुरा,कँहा गयो ?
बैमनष्य ,पालेर पो,शत्रु बनी,ठड्यौँ किन ?

शान्ति हाम्रो, देशलाई,आवश्यक,हुनुपर्छ
अशान्ती र,अन्यायमा,हामी सबै अड्यौँ किन ?

अनमोल,बस्तु बिर्सी, हामी अन्धो,बनिरह्यौं
बनावटी,मोती टिपी,आँखाभरी,जड्यौँ किन ?

(देशकै गुनासोमा समर्पित गजल )
(रचना -अप्रिल २७ /२०१० )

ओ ! मेरी हिमाली रानी


र्इश्वर चाम्लिङ

ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ यो मनमा
ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।
सायद तिम्ले माया लायौ होला मलाई
तिम्ले माया लायौ भा'
किन माया लायौ म सुयोगवीर जस्तै मान्छेलाई
अब रुने भयो ति म्रो मन पारीजात भएर
चालै नपाई माया बसेको वा मैले माया लाको'भा
सायद यो ठूलो भुल भयो
म त चाँडै फर्कन्दैछु हिमाली रानी
फर्कनु पर्छ मैले त्यहि परदेशमा
अब रुने भयो यो मन पनि ति म्रो सम्झनामा
अब बग्ने भयो बलिन्द्र धारा आँशु तिम्रो तिर्सनामा
मेरी हिमाली रानी
तिम्ले इशारा गर्‍यौ की ?
मैले प्रेमपत्र लेखे ?
माया बसिसके छ हामीमा
माया कसरि बस्यो
माया किन बस्यो
त्यो त मैले चाल पाईन तर माया पक्का बसेछ हामीमा
नत्र, किन चिसो बतासले मलाई पछ्याइ रहन्छ
र म अनुभूत गर्छु हिमाली चुम्वनको
नत्र, किन म घरि न घरि उत्तर तिर तिमीलाई चिहाँउछु
र प्रेमिला मुस्कान साट्छु तिमीसँग
अझ भनौ,
भुतुक्क हुन्छु र मुस्कुराउँदै हेरिरहन्छु , मस्किरहन्छु
म हरेक चोटी मुस्कुराउँदा
तिमी पनि त मुस्कुराएकी हुन्छ्यौ
म हरेक चोटी मस्किन्दा
तिमी पनि त झन धेरै मस्किराखेकी हुन्छ्यौ
म त तिम्रो मायामा पागल भएको छु
विहानी किरणको बुर्इ चढिआएर चुमिदिउँ तिमीलाई
कि भुँइकुहिरोसँग काँत लाग्दै आएर गम्लङ्ग अङ्गालो हालि दिउँ तिमीलाई
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ मनमा
तिम्रो झलकहरू नाचिरहन्छ यी आँखाका नानीहरूमा
अब रोएरै बित्ने भए ति पर्देशि दिनहरू
अब झन दुखि हुने भयो यो पर्देशि मन
ओ ! मेरी हिमाली रानी ।

२८ मार्च २०१०

औलाको बहश


स्यानु पाईजा

कयौ औला चोर औलाको नामले मरे
अचेल चोर औलाहरु अदालतमा छन
आफुलाई जबर्जस्ती चोर औला भनेकोमा
उस्को वकिल बहश गर्दै थिए-
परापुर्वकालमा हर्पेको ध्यू निकालेको भरमा
कयौ पुस्ता पछिको औलालाई चोर भन्न पाईन्न
कयौले टिगर पनि यसैले दवाउछन
के तपाई भोलि शिकारी औला भन्नु हुन्छ ?
बिरताको कदर गरेर तक्मा दिनु हुन्छ ?
या अपराधी,ज्यानमार औला भनेर फाँसी दिनु हुन्छ ?
मैले माउस यसैले चलाउछु माउस औला भन्नु हुन्छ ?
बुढी औलासँग मिलेर नाक भित्रको रौ उखेल्छु
के भोली यो औला लाई चिम्टी औला भन्नु हुन्छ ।
टिगर दवाउने औलाले प्रतिवाद गर्यो
टिगर दबाउने काम मेरो हो अरुको अधिकार नखोस्दा राम्रो
प्रतिपक्षले वकिलले बिचैमा रोकेर प्रतिवाद गरे
जसरी चोर औला भन्दा तपाई को औलालाई पीर पर्छ
बुढी औला भन्दा मेरो क्लाईन्टलाई पनि पिर पर्छ
एक्कै गर्भबाट एकै दिन जन्मेका औला किन बुढी ?
फेरी औलाको लिंग हुदैन महोदय
न यो बुढो हो न बुढी न तरुनी
मेरो औलाको आपत्ती छ मोहदय
सबै भन्दा महत्व पुर्णकाम यसैले गर्छ
त्यो हो नागरिकता लिदा लगाउने ल्याप्चे
फेरी गलत अर्थ नलगाउनुस महोदय
ल्याप्चे अनपढहरु लगाउछन
यो औलालाई अनपढ औला नभन्नुस
यो भगवानले बनाएको युनिक औला हो
सन्सारमा फरक छ भने त्यो फरक यहि औला चक्रमा छ
फेरी अरु औला को आपत्ती आयो
हाम्रो औला पनि छोडाएको आलु जस्तो छैन महोदय
हामी पनि युनिक रेखा लिएर जन्मिएका छौ
अब ल्याप्चे लाउने बेलामा हामीलाई पनि स्थान दिनु पर्छ
थुप्रै बर्षको बहश पछि पनि कुन औलालाई के भन्ने
अदालतलाई निर्णय गर्नु मुस्किल छ रे
औलाहरु लाई आफुलाई मन पर्ने नाम आदालतलाई बुझाउनु भनियो।
तर कुनै औलाले पनि आफ्नो नाम यो हुनु पर्ने मस्यौदा बुझाएका छैनन्
तिन औला मिलेर चम्मच उठाउछन र चाउमिन खान्छन
पाँच औला मिलेर हुस्कीको ग्लास उचालेर पिऊछन
मुडक्डी कसेर नाक ओडारा-ओडार गर्छन
बर्षौ देखि अदालत मा छन नामको लागी
बहश र आपत्ती गर्दछन
चोर औलाको बहश
नेपालको राजनिति जस्तै गन्जागोलमा छ
जान्नेहरु औलालाई जस्तै जनतालाई जातको लागी लड्न उक्साउछन
औलाहरुलाई अदालतमा लडाए जस्तै
जनतालाई हरेक गल्लीमा राजनितकले लडाउदैछ
कहिले अन्त होला यो अन्तहीन बहश

पात्लेखेत-७, म्याग्दी