Apr 8, 2010

पारि गाउँको निष्ठुरी


केवल गंगा गुरुङ

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्‍यो यो मुटु माझ ।

उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।

यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।

आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?

गजल


इप्सुल मगर

जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?

भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?

आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?

राम्रो निद्रा पनि रातमा ला’कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?

जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?

स्वतन्त्रताको लागि आवाजहरु


टंक सम्वाहाम्फे

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति ,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि
तर आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु
अनि ज्यु र हजुरीयामा
शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं
नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर
भौतारीन्छ वटुवाले वाटो भुले झैं
र रमिते वन्छ
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भूतकालवाट वग्दै आएको
वर्तमान इतिहास
अव इतिहास कसरी भविष्यमा लेखिनेछ त्यो थाहा छैन
तर एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलार्इ
इतिहास भन्दा भोकोपेटको महत्व धेरै हुन्छ
आवाजहरु यसरी नै आवाजवाट हराउदै गए पछि
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

हरदम यसरी नै इमान्दार आवाजहरुको विश्वास लुट्दै
भन्छन् गाउवाट शहर पस्नेहरु
अव इतिहास आवाजहरुको हातले आवाजहरु कै लेखिने छ
तर इतिहासको लेखनी सुरुआत हुदा
युध्दका सामग्रीहरु थोपरीन्छन् हाम्रा हातहरुमा
या भोक , शोक र रोगहरु
कल्पना गर्नुहोस आफै
कसरी लेख्न सक्छ यी हातहरुले साचो इतिहास ?
वाच्नुको लडाइमा समस्याले धावा वोलिसहेको वेला
इतिहास समाधान वन्दैन त्यसवेला
अलिकति सपनाको चारो छरीदिएर
अलिकति इतिहासको चर्चा गरीदिएर
त्यसको अभिमानमा
व्यर्थै फस्दै आएकाछौ युगौ देखि प्रलोभनमा
जस्ले फुकाएका छौ विस्तारै कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएका छौ दृढ संकल्पहरु
लगाम विनाको समय घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
दिशाविहीन वनेकाछन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले आफ्नो भाग्यको फैसला आफै गर्न
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

Mar 29, 2010

तिम्रै सम्झना


कल्पना तुम्रोक

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फुलको अस्तित्व हुदैन र ?
किन यो मनहरु लाग्छन रित्तो रित्तो
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो
अनि फेरि उही बियोगको कोशेली जस्तो ।

तिमी आउछौ भन्ने आशमा
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई
छोडेर हिड्न पनि सकिन ।

छल्किएको नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

भो मलम नलगाउ घाउहरुमा
झनै पोल्छन भतभती
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।

कोहि आउला भन्ने आशमा
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे परार्इहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा
भन्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

आमाको चित्कार


अविचन्द्र र्इङनाम

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो - २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु
मलाई फाल्न खोजि रहेछन यो धर्तिमा
केवल मेरो धुकधुकी मात्र राखेर यहा- २

जन्मिए म बाट धेरै सन्ततीहरु यहा
तर तिनै भए मेरा बैरि आज यहा,
नभएका होइनन सपुतहरु यहा, तर
लिए हुर्मत तिनीहरुको यिनै लाछीहरुले
बनाए क्षत बिक्षत अनि शक्ति हिन - २

बिश्वास नास्तिकहरुले गरुन वा नगरुन
नून पानीको कसमलाई बेवास्ता गर्दा
एकतिसेको बेहाल भएको छिपेको छैन
अब एकाईसेहरुले पनि बुझेनन भने
समय आउनेछ लिएर मेरो करामत - २

हुन नदेउ बाघको छालामा स्यालको रजाई
संघर्ष गर एकथोपा रगत रहे सम्म यहा
यदि मेरो सपुत हौ भने तिमीहरु सबै
एकजुट भएर अघी बढ हात मिलाएर
म सक्ति बनि आईरनेछु पछि पछि - २

मेरो ऐतिहासिक अस्तित्वलाइ बचाएर
तिमीहरुको भविश्यको निर्माण गर यहा
यहिछ मेरो चित्कार तिमीहरु सबलाई
बुझिदेउ यो लिम्बुवान आमाको चित्कार
सुनिदेउ कान खोलेर यो आमाको चित्कार - २
यो आमाको चित्कार ।

मुजोत्लुङ हाङबाट

Mar 18, 2010

सस्तो शहिद

प्रकाश श्रेष्ठ ‘प्रीयतमा’

के हो शहिद, को कसरी बन्छ शहिद
सोध्ने हो भने थाहा छैन होला
जसले सडकमा टायर बालेर चक्काजाम गर्छ
जसले शहिद घाषणाको माग गर्दछ,
जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ
जसले क्षतिपूर्तिको माग गर्दै
विकास निर्माणमा अवरोध सिर्जना गर्छ

तिनलाई के थाहा
चक्का जाम गर्न पाएपछि,
बन्द आहृवान गर्न पाएपछि,
शहिद घोषणको माग गर्न पाएपछि,
सरकारबाट १० लाख क्षतिपर्ति पाएपछि,

विचरा मर्ने मर्‍यो, मर्नेलाई के थाहा
आफनो नाममा यत्रो विधम्सा मच्चाएको
राष्टषको ढुकुटीबाट रकम असलेको
मर्नेको बहानामा सारालाई बिचमै बिचल्ली पारेको
बाच्ने र बचाउने आशमा दौडिएकालाई अलपत्र पारेको
के शान्ति पाउला तिनको आत्माले
के तिनले बुझेको होला शहिदको अपमान भएको ।

बाटो काट्न लाग्दा दर्घटनामा मरेपनि
आफनो अस्तित्व रक्षा गर्दा बलत्कारी मरेपनि
हाडी गाउमा जात्रा हेर्न जादा भिरबाट लडी मरेपनि
व्यक्तिगत रिस र्इष्याले हत्या भएपनि
आखिर सडकमा टायर त बलेकै छ
चोकचोकमा नारा जुलस त निस्केकै छ
शहिदको माग भएकै छ

राष्टष निर्माणमा जिवन वलिदान गर्ने पनि शहिद
बसबाट खसेर मर्ने पनि शहिद
छतमा बसेर आन्दोलन हेर्ने पनि शहिद
हुदा हदै हेर त गुन्डागर्दी गर्ने पनि हुने भए शहिद

यदि जो जहा जसरी जहिले मर्दा मार्दा पनि हुने भए शहिद
किन मनाउनु पर्‍यो शहिदको नाममा एक दिनका दिवस
किन शोक सभा र श्रद्धाञ्जली गर्न पर्‍यो
आखिर सबै वन्ने भएपछि सस्तो शहिद

Mar 12, 2010

थु..इक्क


देवु सुदामा

सपनाको एक क्षण
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।