Jan 18, 2010

चोरको स्वर


देवु सुदामा

- लानवेलामा लुटेर लग्यो
थुतेर लग्यो
चोरेर लग्यो
सोरेर लग्यो
सन्दूक फोरेर लग्यो ।
-लग्यो उस्ले
हामीलाई सुत्न लगाएर
हामी कुम्भकर्ण जस्तै
सुतेको वेला लग्यो
हामीलाई मात्न लगाएर
हामी मातेको वेला लग्यो
हामीलाई नाच्न लगाएर
हामी हा...हा...देवी ....
.....भैरवी.....जगाईए..भन्दै
नाचीरहेको बेला लग्यो
जब हामी व्यूंझियौ
जब हामी झस्कियौं
हाम्रा हातहरू रित्ता थिए
हाम्रा घरहरू रित्ता थिए।
- लग्यो उस्ले
फुर्क्याएर लग्यो
घुर्क्याएर लग्यो
पाखुरा सुर्क्याएर लग्यो
फकाएर लग्यो
छक्याएर लग्यो।
-लग्यो उस्ले
अन्याय गरेर लग्यो
अत्याचार गरेर लग्यो
उस्ले हाम्रो सर्वस्व लग्यो
हामी दिक्क थियौं ।
कालान्तरमा उस्लाई
डोकोले छोप्यौं
थुन्चेले छोप्यौं
पासोमा पार्यौं
अहिले उ आफ्नो अस्तित्वको
नितान्त अन्तिम बिन्दुमा
अथवा फाँसीको तख्तामा उभिएको छ
तर पनि अझै भन्दैछ
दिन्न । दिन्न ।। दिन्न ।।।
तिमीहरुको माटो दिन्न ।

रानीगाउँ-6,पाँचथर

No comments: