Jan 10, 2010

लिम्बुवान र सङ्ग्रामको समय


नगेन्द्र ईङनाम "आठराइली"

स्वाधीन नेपालको ईतिहासमा
लिम्बुवान राज्यको अस्तित्वमाथि
अनावश्यक कालो बादल थोपरेर
ओझेलभित्र पार्न खोजिंदै छ
दुबो, ढुङ्गो, पाथिभरा देवी,
तांबा, तुलसी र लालमोहर साक्षी छन्
कहिल्यै नमेटिएको लिम्बुवान नामलाई
षडयन्त्रै षडयन्त्रमा मेटाउन खोजिंदै छ
यसैले मुक्ति योद्धाहरुको आव्हानमा
अब यहां स्वतन्त्रताको सङ्ग्राम चल्दैछ,

मेरी आमा !
यो त सङ्ग्रामको समय हो
आंसुसरिको आंखा र भारि मन लिएर
मलाई कम्पित हातहरुले नरोक्नु
यो बेला त
बरु,
सिथिल पाउहरु अझ दह्रो बनाएर
"मुक्ति सङ्ग्राममा" जाउ छोर भनेर
हिम्मत थपि दिने बेला हो ।

चिन्ता नगर आमा
हाम्रो लिम्बुवानको रखवाला-
काङसोरे बाजेको कसम तिमीलाई
ईतिहास रचेर जाने सहयात्री
शहीद माङतोक लिम्बू
अनि शहीद मनिल तामाङ
दुवै जनाको जीवनदानको कसम
मेरो छाती बैरीको बन्दुकले फोर्ने छैन,
दुस्मनको चक्रब्युहमा कहिल्यै फस्ने छैन
म त स्वयम् सङ्ग्रामको आंधीहुरी भएर
लक्ष्यतर्फ चर्को बेगमा बेगिएको छु
स्वन्तन्त्रताकोलागि लड्न डराएका,
स्वन्तन्त्रताकोलागि जुट्न नजानेका
अन्यौल मानिसहरु बस्ने गाउंगाउंसम्म
लिम्बुवानका सबै थुमथुमहरुसम्म
सङ्ग्रामको ज्वाला भएर सल्किएको छु,
लिम्बुवानको नाम मेटाउन खोज्ने
सबै निरन्कुशतन्त्रीहरुको जङ्गलमा
डडेलो लाएर म सखाप पारि दिनेछु
कदम कदमको चालले होइन
मैले अब,
फड्को मारेर अघि बढ्नु छ
किनकि,
यो समय सङ्ग्रामको समय हो ।

लिम्बुवानको कसम आमा !
सङ्ग्राम अघि बढि रहनेछ
म मृत्युका हरेक तिरहरुलाई छलेर
क्रान्तिबीरको नामले अमर अमर बांच्नेछु
मलाई अझ साहस देउ आमा
तिम्रा शब्द शब्दहरुको तागतले
लिम्बुवान आन्दोलनमा उर्जा थपिदिनेछ
आज लिम्बुवानका मुक्ति योद्धाहरुलाई
तिम्रो प्रेरणा र बुद्धिमताको खांचो छ
ती योद्धाहरुको थोपा थोपा पसिनाले
क्रान्तिको ज्वालामा आगोका फिलिङ्गो थप्नेछ
क्रान्तिबीरहरुको पराक्रम बढ्दै जाने छ
झुठा ईतिहासका किताबहरु जल्दै जानेछन
एकपछि अर्को गर्दै लगातार
निरङ्कुशताका बारहरु ढल्दै जानेछन
सङ्ग्रामको सक्तिवान सुनामी अंधीबेहरीले
दुष्टहरुको बस्ति बस्ति बगाएर लानेछ
तिम्रो यो क्रान्तिबीर छोराले पक्कै पनि
एउटा सिङ्गो आवाज बुलन्द गर्ने छ
जय लिम्बुवान !
लिम्बुवान अमर रहोस !!
यही सङ्ग्रामको ताकतले
नयां ईतिहासको रचना गर्नेछ ।

तिम्रो योद्धा छोराको कसम आमा
स्वतन्त्र सङ्ग्राममा होमिएको तिम्रो छोरो
आफ्नो सङ्ग्रामको अन्त्य गरेर
चांडै नै उज्यालो नयां बिहानीमा
विजय जुलुस साथमा लिएर
विजय उत्सव मनाउनलाई
आफ्नो आमाको सामुन्ने
आसीर्वाद थाप्न आई पुग्नेछ
जबसम्म लिम्बुवान सुनिश्चित हुनेछैन
तबसम्म मुक्ति सङ्ग्राम पनि टुट्नेछैन
एकताको आव्हानमा आवाज उर्लिरहनेछ
जाग जाग लिम्बुवानीहरु हो !
यो समय सङ्ग्रामको समय हो ।।

(यो कविता लिम्बुवान प्राप्तीको आन्दोलनमा संघर्षरतहरुमा समर्पित)

No comments: