Jan 8, 2009

म साहित्यकार हुँइन


आचार्य प्रभा

साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन /
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु/
'कबी''कबिता'हुनुपर्दछ
'कबिता' 'कबी',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबी बन्ने प्रेरणा पाएका छन /
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबी हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र हुँ /
(अमेरिका )

No comments: