Jan 22, 2011

समय र रेखाहरु


टंक सम्वाहाम्फे

जव समयसंगै रेखाहरु
कहि सामान्य
र कहि असामान्य हुदै दौडिन थाल्छन्
तव त्यसको आकृति र प्रकृतिसंग
रुमल्लिन पुग्छौ
अनि युक्लिड बनेर
रेखिय बिचारहरुको जन्मलाई
बिश्लेषण गर्न थाल्दछौ
त्यतिले मात्र नभएर
पाइथागोरसको ज्यामितिय रेखाहरुबाट
स्वयम सिद्ध तथ्यको खोजी गर्दै
जीवनका नयाँ तथ्यहरु
निरन्तर खोतल्न थाल्दछौ
के हामी युक्लिडको
रेखिय बिचारहरु संग मात्रै
सहमत छौ र ?
के हामी पाइथोगोरसको
ज्यामितिय तथ्यहरु संग मात्रै
अंगालिएका छौ र ?
पक्कै हामी यी बिचारहरु संग मात्रै
सहमत छैनौ
किनकी हामीसंग पनि बिचारहरु छन्
किनकी हामीसंग पनि तथ्यहरु छन्
त्यो वेलाको समय रेखा
र यो वेलाको समय रेखामा
निश्चय नै धेरै फरकहरु जन्मि सकेका छन् ।
लाग्दछ हरेक प्राणीका
आ आफ्नै रेखाहरु हुन्छन्
जहाँ उनीहरुको जीवन यात्रा
शुरुआत भएर अन्त्य हुँदछ
र हामी मान्छेहरुको
चेताना/ यात्रा
गन्तब्य/सपना
बिचार/भावना
र जीवन
सवैको बेग्ला बेग्लै हुन्छन् ।
यहाँ कतिलाई हामी
सामान्य रेखाभित्र पाउँछौ
यहाँ कतिलाई हामी
असामान्य रेखाहरुको कोणमा भेट्दछौ
यहाँनेर यसरी रेखाहरु
विभाजित भएर गएकाछन्
समयसंग
परिस्थितीसंग
बिचारसंग
अथवा रेखासंग जोडिएका अनेकौ कुराहरुसंग
के त्यसो भए समयसंग
रेखा हुन्छ त ?
वास्तवमा समय भन्दा यताका रेखाहरु
हामी देख्दछौ
हामी अनुभूत गर्दछौ
त्यसैले त रेखाहरुबाट सम्मोहित भएका हुन्छौ
समय भन्दा उताका रेखाहरु
अदृश्य छन्
तर समयलाई छिचोलेर
यहाँ सम्म आई पुग्दा
अनायासै रेखामा
पाइताला उचालि रहेका हुन्छौ
त्यस कारण समय र रेखाहरु
हाम्रो जीवनसंग गाँसीएर बाँचि रहेकै हुन्छन् ।
रचना काल - २०१०/१०/२९

No comments: