Sep 13, 2008

अब लेख्दिनँ कविता


किराँती भोगेन एक्ले

भो एहोई अब लेख्दिनँ कविता
कति लेख्नु ?
बोकेर सम्झना मुहानको
बगेर समुन्द्रमा बिलाएको खोला
डालीको माया सम्झन्दै न्यानो
चुडिएर हुरीसँगै उडेको पात
सपनामा देख्ने आफ्नो आगन
बिपनामा खेप्ने मुङ्लाने कर्म
जति लेखे पनि जे जे लेखे पनि
आफ्नो हराएर आफू बाँचेको बेला
जुठो टपरी सोहोर्नुकै व्यथा लेख्नु पर्छ
हराएको मान्छेकै कथा लेख्नु पर्छ
खाली निन्याउरो अनुहारमा
हाँसोको लेपन दलेर
बिलाएर एका देशमा देश खोज्दै
बिराएर देश पर्देशसँग तीतो पोख्दै
भो एहोई अब लेख्दिनँ कविता

मिसिएर झ्याउरे र हिपहप
दशगजा बनेको छ कान
ढिंडो र बर्गरको स्वादमा अलमलिएर
झन् झन् लाटा न बाठा बन्दै छ जिभ्रो
न बदल्न सक्छ आँखा आफ्नो श्यामश्वेत रङ्ग
न चिम्लन सक्छ देखेर झिलिमिली बत्ती
न छाड्न सक्छ नाक यो बेश्या सहरको गन्घ
न भुल्न सक्छ राम साइँलीको चुल्ठोको वास्ना
यस्तो दोसाँधमा
यस्तो दोधारमा
बिलौना पोखेर अस्थिर मनको
गाउँदै बेसूरा गीत
लगभग बेसूराझैं गिदीले
भो एहोई अब लेख्दिनँ कविता

अस्ति देशको मीठो लेखेँ
हिजो पर्देशको तीतो लेखेँ
आज न त्यो मीठो छ न तीतो छ
यो नहुनुको बेस्वादमा
कुन स्वादको कविता लेखौँ
खाली तिर्खै मार्नमात्र खै के लेखौँ
भो एहोई अब लेख्दिनँ कविता

कविता लेख्नलाई त
थिरमा हुनुपर्छ मन
तालमा हुनुपर्छ चाल
फुममा हुनुपर्छ मस्तिष्क
खरी झरेको मादल
ओसिएको च्याब्रुङ
बजाउनु भन्नुमात्र
ठटाउँदाको दास्ती
बजाउनेलाई भन्दा
बज्नेलाई सास्ती
यस्तो संकटमा
खै के लेखौँ कविता
बिच्चामा, राप्पाको तेसै
भो एहोई अव लेख्दिनँ कविता

No comments: