Aug 9, 2008

पर्खिरहेको छ समयले निरन्तर



मोती चाम्लिड.


पर्खिरहेको छ समयले निरन्तर
युरेनियमको वोराहरुलाई सम्हालेर
संसार झलमल्ल वनाउने
उत्तर कालखण्डका नवजात वैज्ञानिकहरुलाई
न्यूक्लियरको तागतलाई जोहो गरेर
आकाश ताक्दै व्रम्हाण्डमा अर्को
एउटा पृथ्वीको खोजी गर्ने
यूरी गागरिन र नील आर्मस्ट्रंगहरुलाई
पर्खिरहेकै छ समयले निरन्तर
सद्भाव पकडने कर्मयोगीहरुलाई
यहुदीहरुको अत्याचारको भण्डाफोर गर्ने
येशु क्रिष्ट र अरवीहरुलाई मान्छे वन्न
र वनाउन सिकाउने पैगम्वर मुहम्मदहरुलाई
मुर्खहरुलाई वुद्ध वन्न सिकाउने
जस्तोसुकै कुलघरानाका भएपनि
मान्छेको धर्ममा जन्मिएका सिर्द्धार्थहरुलाई
पर्खिरहेको छ समयले निरन्तर
असलै असल मान्छेको कर्म गर्ने
धेरै धैरै मदर टेरेसाहरुलाई
अफगान, इराक, प्यालेष्टाइन जस्ता
जताततै आइया आथुहरुमा झिझो नमान्ने
फलोरेन्स नाइटिंगेलहरुलाई
जमीन हल्लाउने महाभूकम्प टाल्न सिस्मोग्राफलाई
सिचुवानको केन्द्रमण्डलसम्म ओराल्न सक्नेहरुलाई
पर्खिरहेको छ समयले निरन्तर
इण्डोनेसिया सुमात्रालाई लछेप्रै पार्ने
सुनामीलाई समुद्रैतिर धकेल्ने
प्रतिरोधात्मक शक्तिको सफल अन्वेषकहरुलाई
प्रकृतिलाई जित्नै नसकेपनि
प्रकृतिको विनासकारी तमासालाई
धित मरुञ्ज्याल लडेर
कमसेकम ठेगान लगाउनेहरुलाई
समयले भन्दैछ कि जवसम्म घाम सेलाउदैन
त्रि्रो हाम्रो अस्तित्वको दुखिरहने व्यथा
स्विकार गर्नु अनिवार्य नियति हो
फेरि पनि जन्मनै पर्छ सत्य वोल्ने
रेडियोका आविष्कारक गुग्लेल्मो मार्कोनीहरु
एड्सले सताएको संसारलाई मुक्ति दिने
नयां अनुहारमा थपिएका लुइ पाश्चरहरु
कालोलाई सेता पार्न सक्ने थोमस एडिसनहरु
सुखी र शान्ती भूमीको खोजीमा
समुद्रमा नहराउने कालोम्वस र डिगामाहरु
त्यसैले म लेख्छु र भन्छु
पर्खिरहेको छ समयले निरन्तर
युग वदल्ने, व्रम्हाण्ड छिचोल्ने
माथि भनिए झै महान, मान्छेहरुलाई
किनभने सूर्यलाई नझुकाई
रातमा दिनमा हरेक क्षणमा
नियालीरहेको छ निहारिकाले
अनि निहारिकाले भन्दैछ समयलाई
तिमी निराशावादी नै भएपनि आशावादी हौ
आशा नै मुक्ति हो, जुक्ति हो अनि सवथोक हो
पर्खिरहेको छ समयले निरन्तर, निरन्तर, निरन्तर
कालचक्रमा घुम्दै फिर्दै आउने कर्मयोगीहरुलाई
त्यसैले हामी पनि विश्वस्त हुनुपर्छ
समय पक्कै नपुंसक हुदैन
तर विचित्रको हुन्छ अवश्य
भविष्यको अर्को नाम हो रहस्य ।

२१ जुलाई २००८
हेन्नेसि रोड वानचाइ

No comments: