May 31, 2008

मुन्धुमसंगै अग्लिएको फक्ताङ्लुङ


टंक वनेम

युरेसिया खण्डको विशाल
समुन्दी पिँध धसिन्दा
अभेद्य पर्खाल भएर उभ्ने तिब्बती ढाल
नडगमगाईकन उभि रहृर्‍यो
समुन्द्रको सतह चुलिन छाडेन
शायद-
त्यही विजयोत्सवमा
हिउँका सेता अक्षताहरुले
हिउँको बृष्टि बर्षायो
आस्थाको आसन जमाएर
ठिङ्ग उभ्न सक्यो फक्ताङ्लुङ
प्रभातको रातो घाम नाच्यो
प्रत्येक बिहान फक्ताङ्लुङमाथि ।

जूनको उज्यालोमा सम्मोहित
खाम्बोङबाका सम्मोहन रातहरु

बग्न थाल्यो धमिलो तमोर
सृष्टिको गाउँदै मुन्धुम् यात्रा
यो शाश्वत सत्य देख्दा देख्दै
भ्रमका आँखाहरु
नाङ्गै देख्छ फक्ताङ्लुङ
साङलो देख्छ
कमेरे माटोको उर्लदो नदी
के यती सजिलै
आस्थाको बाँध भत्किन्छर ?
र नाङगिन्छ फक्ताङ्लुङ
हिउँ बिनाको फक्ताङ्लुङ
कङगङलुङ हुन सक्दैन
न कुम्भकर्ण हुन सक्छ
हिउँको सेतो ताजमा
तन्नेरी जून र तरुनी घाम
टल्कयो भने मात्र
आस्थाको घाम हो
हिउँ बिनाको फक्ताङ्लुङ
फक्ताङ्लुङ हुन सक्दैन
त्यो दृष्टि भ्रम हो
र रङ्गनि प्रलाप
हेरौं
कस्ले नङ्गाउँन सक्दो रहेछ
त्यो आस्थाको हिमाललाई
कस्ले उल्टो बगाउँदो रहेछ
तमोर र काबेलीको अथाह भेललाई ।

फक्ताङ्लुङ सृष्टिको उचाई हो
त्यहीबाट
मुन्धुम्को बीउ रोपियो
त्यही बीउ बोकेर
आस्थाका पाइतलाहरुले
वर्तमान नापी रहेछ
हाउ लुङवा !
हिउँबिनाको फक्ताङ्लुङ देखेर
को जान सक्छ ?
त्यो मृत्युको परामधाम
को बाँच्न सक्छ ?
पानी बिनाको तमोर हेर्दै
आदाङमा आदाङबासे !
निलो पहाड हुन सक्दैन फक्ताङ्लुङ
हिउँको दरबार भत्काएर
आस्थाका जराहरु उखेल्दै
हिउँसंग उभ्ने फक्ताङ्लुङ मात्र
मुन्धुमसंगै अग्लिएको फक्ताङ्लुङ हो
ए फक्ताङ्लुङ वासी हो !
होचिन आँटेको फक्ताङ्लुङलाई
उचालौं हाम्रो काँधहरुले
आकाश छुने गरेर ।

No comments: