May 18, 2008

वन्द गर गोर्खा भर्ति


भूपेन्द्र चेम्जोङ 'मुक्कुम'

वन्द गर गोर्खा भर्ति
वन्द गर मानव विक्री
लाहुरे वनेर कहिले घर नफकर्ने वेलायती भर्ति
चाहिएको छैन,
तिम्रो कुत्सित साम्राज्य रक्षार्थ वहादुरी पोखाउने छुइन
पानी भन्दा पातलो रगत छैन मसंग
वन्द गर तिम्रा पोखरा क्याम्प
जहाँवाट छिर्ने गर्दछन् कहिले नओसिने वहादुरी वमहरु
कहिले नभुत्तिने भालाहरु ,
जहाँवाट नेपाली आइन्स्टाइन, गौतम वुद्ध, कार्लमार्क्सहरु
निर्यात भइरहेका छन् फोहोर पानीको भाउमा
जहाँ राष्ट्रियता निलाम भइरहेको छ
लेफ्ट-राइट लेफ्ट-राइट कवाजहरुसंगै
आमालाई सदा सदाको लागि रुवाएर
आफ्नो राष्ट्रियता लाई
पातलो पाउण्डको जलपले लेपन गरेर
जलिरहेकाछन् दिनहुँ जस्तो वीएनओको पातलो
कागज भएर
वन्द गर पहरा थाम्ने छाती नाप्न
फिर्ता लैजाउ तिम्रा मृत्यु पत्र जस्ता
राता पास पोर्टहरु,
अव सेतो पाउडर धसेर कुहीरे वन्नुछैन
फिर्ता लेउ मेरा हरिया पासपोर्टहरु
जहाँ वीरता हाँसेको छ ,
जहाँ सरगमाथा उभिएका छ
जहाँ पालाम ,हाक्पारे, रोधी , कौडा गुन्जिरहेकोहुन्छन्,
चाहिएको छैन तिम्रो सुलिसको भीसी तक्मा
फिर्ता लैजाउ तिम्रा भेदभाव पूर्ण दर्ज्यानीहरु
उठाउ तिम्रा अध्यगमनमा कार्यलयहरु
पूर्खाको रगतले पोतिएको प्यारो भूमी
पर्राईलाई सुम्पेर वेवारिसे नागरिक वन्नु छैन अव
तिमीले सयौ वर्षा नदिएका सम्पति एकै वर्षा
साँवा व्याज फिर्ता गरेका छौ ,
फर्काउ मेरा वर्षोनी ५ अरवको सम्पति
तिम्रो रक्षाको लागि विना शत्रुताको लडाइ
अव मैले लड्नु छैन
अव मेरो पालो आइसकेकोछ
मेरो सगरमाथाले मलाई वोलाइरहेकोछ
मेरो अरुण, कर्णाली र लुम्विनीले वोलाइरहेकोछ
मलाई मेरै आमाले वोलाएकि छिन
प्यारो प्यारो शव्दमा
अव यदि सक्छौ भने तिमी
मेरो धरतीमा आउ
भिसा लिएर आउ
सगरमाथाको देशमा आउ
वुद्धको देशमा आउ
तिमीलाई स्वागत छ
तर याद राख तिम्रो देशमा
मलाई कहिले लाहुरे वन्न नवोलाउ
अव म लाहुरे वनेर आउदिन तिम्रो देशमा
मलाई मूर्खताले साटेको वहादुरी चाहिएको छैन
म पर्यटक भएर आउनेछु , मेरो देशको दूत भएर आउने छु
मैले होइन अव
तिमीले मलाई स्याल्यूट गर्नुपर्छ ।

No comments: