Mar 10, 2009

इतिहासको खालमा किन च्याँखे दाउ ?


टंक वनेम

हौ लुङवा ! मालुम हुनु पर्छ
यि इतिहासका अनुछेच्दहरु
किरात शब्द इतिहासको गहना मात्र हो
मुन्धुम्को हरक सुङघेर
कति चढ्नु स्वाभिमानको पहाड ?
कति घोक्नु बेचैन हुँदै
दिवोदास र सम्बरको इतिहास
लेलिम्सो र खाम्सोसोको भाई वेमिलाप
उवाहाङ र चाङवाहाङको धार्मीक आस्था
ठुङ्दै अरुनको सति ढुङगा
बगाले बाँदरको हुल भएर
कमिलाहरुले बोके झैं टाउकोमाथि अण्डा
एक ठाउँबाट सार्दै अर्को गुँड
छाडेर विरक्ततिन्दै थातथलो
बरु गाड्नै पर्छ भने अस्तित्वको मेहे
गाडौं आफ्नै माटोमा साकेलाको लिङगो
उभौं आफ्नै आँगनमा
तङसिङको याग्राङसिङ ।

किन ताक्नु ?साम,दाम,दण्ड र भेदको वाण
गुरु पुराहितहरुको मन्त्र छाँदेर
बली राजाको ऐश्वर्य
गुथेर पगरी विभिषणको आधुनिक मान्छे
रगतको साइनोमा घोल्दै विषका प्यालाहरु
मालुम हुनु पर्छ लुङवा
सति ढुङगामा जून घाम साक्षी बसेका थिए
के तिमीले थाहा पायौ र ?
इतिहासको गिद्धे भोज खान जाँदा
जून घाम ठुङगीएर आँखा फोरिएका छन्

नदी मृत्युको राग अलाप्दै मरी रहेको छ ।

लुङवा !
आस्थाका थुम्काहरुलाई
सम्याउँनु भन्दा अग्ल्याउँनु राम्रो हो
जहाँबाट
सूर्योदयको रातो घाम नाच्छ
उज्यालो घाम देख्नु
सपनाबाट ब्यूँझनु हो
मुक्तिको नाममा वारुद झोसेर
नीलो सपनाको कथा लेख्नुको के मज्जा ?
इतिहासको गहनालाई
आत्माको चोखो थानमा थन्काउँ
इतिहासको बाघे ऐनामा कति थाप्नु
वर्तमानको च्याँखे दाउ ?
रमाउँदै आत्मरतिको छलाङमा पौडी खेलेर ।

1 comment:

Unknown said...

Sahi chha hai adangbe kabita kinaki chandi chaudandi ma nachda astitwabadi, satyabadi huna sakchhya, chaudandi lai Rai ya khambu mitra harule bikash gare sunma sugandha hune chha.