भानेन्द्रकुमार सम्बाहाम्फे
खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रियतमा' भनुँ भने
गाली पो मिल्ने हो कि !
मायाले रसिएका
प्रितिले कसिएका
स्नेहले भरिएका
सुन्दर अनि नशालु
ती तिम्रा नयनहरु
मतिर प्रश्न गरिरहेछन् झैं लाग्छ
'के तिमी मलाई माया गर्र्छौ ?'
'के तिमीलाई शरम लाग्दैन ?'
'के तिमीले आफ्नो उमेर बिर्स्यौ ?'
खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रेयसी' भनुँ भने
कतै तिमीप्रति अन्याय पो हुने हो कि !
तर,
खुलस्त ती तिम्रा अभिव्यक्तिहरु
सत्य बोलिरहेछन् इमान्दारीका साथ
माया बिक्ने चिज होइन
बगरेको पसलमा
खसीको मासु किलो-किलोमा बिके झैं,
अनि होइन खेलौना पनि
जतिखेर मन लाग्यो खेल्यो
नयाँ र सुन्दर अर्को पाउँदा
मिल्काउने अर्थहीन पुरानो वस्तु
सम्झेर डस्बिनमा ।
गहभरी आँशु
मनभरी चाहना
भनुँ म कसरी तिमीलाई ?
मेरा मनका वेदना !
समय धेरै गुज्रिएछ
तर यो मन सुध्रिएन
चाहना अपुरो छ
जीवनलाई माया पुगेन ।
बिन्ती गर्छु तिमीसंग
मलाई गलत नसम्झ
म माया गर्छु तिमीलाई ।
मलाई थाह छ
हाम्रो उमेर मिल्दैन
तर
भावनाको उमेर पनि त हुँदैन ।
माया भनेको
सुन्दर भावना हो
काँडामाझ गुलाफ झैं
फुलिदिने ढक्कमक्क भएर
बेपर्वाह,
सुन्दर मनको बगैंचामा ।
सम्झाउँ म कसरी आफूलाई !
धेरै पटक
प्रयाश गरें एकान्तमा
तर यो मन
पटक्कै मान्दैन
उसलाई माया चाहिएको छ
ऊ पवित्र मायाको भोको छ ।
मायाप्राप्तिको मृगतृष्णा लिएर
मायाको सागरमा
भौंतारिरहेको छ आशावादी बनेर ।
स्वीकार गर या नगर
मलाई तिमी
प्यारी लाग्छ्यौ
आफ्नै लाग्छ्यौ
तिमी मात्र मेरी
स्वप्न सुन्दरी
स्वर्गकी परी
मनको अँध्यारो फटाउने
मात्र मेरी जुनकिरी ।
तिमीलाई पाउन म
मस्त जवान
महसुस् गर्दैछु,
शायद म ति म्रो मायामा
अन्धो भएको छु ।
तर
मलाई गर्व छ
किनभने
अलिकति भए पनि
हिउँ झैं कञ्चन
माया पाएको छु तिमीबाट ।
माया अमृत रहेछ !
चोखो माया पाए
स्वर्ग
धर्तीमा नै पाइनेरहेछ
जीवन
अजर-अमर बन्नेरहेछ ।
माया शक्ति रहेछ !
साँचो माया पाए
कस्तै आपदविपद पनि
सामान्य लाग्नेरहेछ
काँडैकाँडाको बाटो पनि
मलमल बिछ्याए झैं लाग्नेरहेछ ।
त्यसैले त म-
चोखो माया खोजिरहेछु
मुस्कानले युक्त
ती ति म्रा सुन्दर अधरहरुमा
निश्वार्थ माया चाहिरहेछु
मायाकी देवी तिमीबाट ।
किनकि-
मैंले धर्तीमा
'स्वर्ग' ल्याउनुछ
अजर-अमर जीवन बाँच्नुछ
आपत्विपत्का ज्वालामुखीमाथि
विजय प्राप्त गर्नुछ
यसर्थ मलाई
मायारुपी शक्तिको खाँचो छ ।
अन्यथा नसोच तिमी
यी त मेरा
अतृप्त मनका चाहनाहरु हुन्
प्रकट् हुनेगर्छन् कहिलेकाहीं
तँछाड्मछाड् गर्दै
साँघुरा गल्लीहरुमा मनका
जब मुटु दुःख्छ ।
आज-
मेरो मेरो मुटु
बेजोड्ले दुखेको छ
मैंले भोगे जस्तै
मैंले देखे जस्तै विगतमा
जब
मैंले ती ति म्रा निश्चल, निश्पाप
आँखाहरुमा, शब्दहरुमा
माया शंकटमा परेको पाएँ
त्यसैले-
यो हृदय फेरि भक्कानियो
यो मनमा
लाखौं तरङ्गहरु उठेका छन्
अशान्त मनका
यिनै तरङ्गहरु हुन्
यी मेरा भावनाहरु
जन्मन्छन् मनका भित्री पत्रहरुमा
अनायशै
जब-जब मुटु बेस्सरी दुःख्छ ।
२०६५/०९/०८
काठमाण्डौ ।
No comments:
Post a Comment