Mar 18, 2009

कवि एस्. पी. कोइरालालाई प्रश्न



भानेन्द्रकुमार लिम्बू

कविज्यू !
के कविता कोरा कल्पना मात्र हो ?
न्याय र सत्यका कुरा
के कविताका बान्की मात्र हुन् ?

कुन त्यस्तो साहित्य छ ?
जहाँ कविले
न्यायको हत्या गरेको छ
निर्मम् र क्रुर बनेर !

म बाँचेको संसारमा
मैले पढेको कवितामा
मैले पढेको इतिहासमा
ठूला-ठूला तानाशाहहरु
तहसनहस भएका छन्
अनि
ढलेका छन्
तिनका आलिशान महलहरु
तासका घरसरी
कविका शब्दबमबाट
न्यायको पक्षमा
के कविज्यूको संसार अर्कै हो ?

कविज्यू !
के कविता मिथ्या हो ?
के कविता आडम्बर हो ?
होइन भने-
कविज्यू !
तपाई केका लागि
लेख्नुहुन्छ कविता अथवा गीत ?
सौन्दर्य बयानको लागि !
त्यो पनि त-
न्यायकै पक्ष हो नि !
होइन र कविज्यू ?


कविता 'सृजना' हो
सृजना विनासको द्योतक
हुनसक्दैन कदाचित् पनि
कि हुनसक्छ त कविज्यू ?
कविता 'जीवन' हो
जीवन्तता यसको धर्म
'कविता' हृदयको मर्म पनि
कि होइन त कविज्यू ?
ठूला-ठूला संग्राम बोल्छन् कविता
अन्याय भयो भने
बलिदान दिन्छन् कवि
आवश्यक परेमा
किनभने-
कदाचित् देख्न सक्दैनन् कवि
न त सहन नै सक्छन्
अन्याय अनि अत्याचार ।

तर कविज्यू !
तपाईको कलमले
मसिको ठाउँमा
रगत छादेको छ
सौन्दर्यको बयानको सट्टा
जघन्य अपराध लादेको छ
अनि
दिनलाई रात
रातलाई दिन
लेख्दैछ दम्भकासाथ ।

विनम्र अनि शालिन शैलीमा
र्इमान्दार कानून्को पालक भएर
न्याय माग्दैछ वर्षौदेखि
जसलाई-
विवेकमा बिर्को लगाएर
पट्टी बाँधेर आँखामा
निरापराधलाई सजाय दिइयो
मालिकको ठाडो आदेशमा
कविज्यूबाट
कविको धर्मलाई बन्धकीमा राखेर,
तर
कविज्यूको कलम
चुपचाप छ
सुनुवाइमा कन्जुस्याइँ गरेर
बरु
समर्थनमा पाखण्डपूर्ण कुकर्मको
लागेको छ छाती खोलेर अहोरात्र
नयाँ नयाँ षडयन्त्र रच्न
अभ्यस्त भएर दुष्कर्म गर्न
मालिकको सेवामा ।

वास्तविक कवित्व धर्म
के यही हो
कवि एस्. पी. कोइरालाको ?
के देख्नै नसक्नेगरी
मोतिबिन्दु भएकै हो
कविज्यूको आँखामा
२१० र २१२ छुट्याउनै नसक्नेगरी ?
कविज्यूको आँखामा
फुलो परेकै हो त ?
फुलो परेकै भए पनि
भित्री आँखा त
बन्द नहुनु पर्ने ?

कविज्यू !
जनताको अधिकार खोसिएको छ
देखेर हो वा नदेखेर ?
तर
न्यायको हत्या भएको छ कविज्यूबाट
एउटा कवि
हत्यारा भएको छ
मेरो दृष्टिमा ।

कविज्यू !
छद्मभेषमा अपराधी
मीठो भाषा बोल्ने
नौरङ्गीको रुपमा
अत्याचारी प्रशासक
के एस्. पी. कोइराला
कविको रुपमा
साक्षात्कार भएको मात्रै हो त ?
'कवि' बहाना मात्रै हो त ?
होइन भने-
किन जोतियो न्याय लेख्ने कविको कलम
जनताको भाग्य विनास गर्न ?
किन वञ्चित गरियो त्यो कलमबाट
ऐनप्रदत्त अधिकार भोग्न ?
किन बोल्दैन कवि हृदय
आँखा अघिल्तिर
हजारौं जनता न्याय मागिरहँदा ?
त्यसैले-
यो चेतावनी कविज्यूलाई
"बस्दैनन् जीवनहरु
मूक दर्शक भएर
हातमा दही जमाएर
समय परिवर्तित् भइसकेको छ ।
आवाजहरु दब्दैनन्
कदमहरु पछि र्सर्दैनन्
किनकि-
जीवन, आवाज र कदम
जनता हुन्
संघर्ष गर्न अभ्यस्त भइसकेका छन्
समय तिनका गुरु ।"

काठमाण्डौ
२०६५/११/२०

द्रष्टव्यः कवि एस्. पी. कोइराला नाम चलेका गीतकार पनि हुन् । यिनी लोकतान्त्रिक नेपाल सरकारका वर्तमान जलस्रोत सचिव हुन् । सचिवको रुपमा यिनी शंकरप्रसाद कोइरालाको नामले चिनिन्छन् । यिनले आफ्ना सिर्जनामार्फत जनमानसमा जसरी आफूलाई सत्य र न्यायको पक्षपातीको रुपमा प्रस्तुत् गरेका छन् त्यो झुठो रहेछ भन्ने प्रमाण स्पार्क कम्पनीमाथि गरेको अत्याचारबाट स्पष्ट हुन्छ । नेपालका नदीनाला आफ्नो पैतृक सम्पत्ति ठान्ने जलमाफिया र राजनीतिक बेस्याहरुका दलालको रुपमा यिनी प्रस्तुत् भइरहेका छन् । यिनलाई नेपालका नदीनालाहरु आफू सचिव हुँदै बेच्न हतारो छ । विस्तृत जानकारीको लागि स्पार्कको अपील सम्लग्न गरिएको छ । तपाई सचेत र न्यायका पहरेदार साहित्यकारहरुबाट न्यायिक संघर्षको लागि सहयोगका हार्दिक अपेक्षा राखिन्छ ।

No comments: