मानप्रसाद सुब्बा
१।
मलिलो माटोसित मेरी आमा
खेतबारीका फाँट बनेर आइन्
आशा र आकांक्षाका पहाड-पर्वत उठिन्
माया-ममताको मधेश फैलोँदै गइन्
र थाम्नलाई घरेटी बसि दिईन्
हाम्रो लागि पूरै धरती नै सृष्टि गरी
आफू चाहिँ माटोबाटै मुक्त भएर गइन्
२।
पानी उम्रेर आमा पँधेरो झरिन्
हाम्रा गाग्री, बाल्टी, भुल्डुङभरि भरिएर बसिन्
फूलदानीहरूमा फूलको तिर्खा मेट्दै बसिरहिन्
खेतहरुमा पसिन् कुलो बग्दै
हाम्रै निम्ती निधारबाट पसिनाको झरना झारिन्
कहिले सानु आँखामा महासमुद्र अँटाइन्
खडेरी सुकिरहेको मनको बारीमा
वर्षा गुन्गुनाउँदै झरिदिइन्
हामीलाई यसरी पानीको धनी बनाइराखेर
आफू भने पानीबाट मुक्त भइन्
३।
पुजाथानमा आमा धूपबत्ती बलेर
घरभरि मगमग उज्यालो भइआइन्
चुल्हामा मायालु आगो भुरभुर बलिन्
जाडो लाग्दा उनको काख तापेर पाएको
न्यानोपन हाम्रो छाती र हत्केलाभरि छ
यसरी उज्यालो ताप दिइराखेर
आफू चाहिँ उज्यालोबाटै मुक्त भइन्
४।
हाम्रो छातीभित्र प्राणवायु बनेर
हामीलाई आ-आफ्नो श्वास-निश्वाससित
भित्र-बाहिर गर्न सिकाइन्
विपदका भत्भत् भाभरहरूमा
शितल हावाको सिर्सिर लहरले सुम्सुम्याइरहिन्
उनकै नाक-मुखबाट लहरिँदै आउँने
सुगन्धित हावाको बुइ चढेर
शब्द र सङ्गीतहरू आइरहे
यसरी हामिलाई हावासित बाँच्न सिकाइराखेर
आफू भने हावाबाटै मुक्त भइन्
५।
अग्लिने र उड्ने ठाउँ प्रशस्त बनाइदिएर
आमा सँधै हाम्रो आँखाभरि आकाश फैलिरहिन्
दु:ख-पीरका नीलडामहरूलाई नीरमा रङ्गाएर
आकाश फिँजिएको उनी
हाम्रा कोठाकोठा भएर आइदिइन्
बाँसुरी र सहनाइभित्र पसिन्
सादा पन्नामा आकाश टाँगिएर आमाले
शब्दका ताराहरूलाई निम्त्याइरहिन् सँधै
हत्केलाहरू अञ्जुली बन्नासाथ
अञ्जुलीभरि हुन्छ आकाश
मेरी आमा फिँजिएकी आकाश
मैले आँ गर्दैपिच्छे पस्छ मुखभित्र
अनि मेरो चेतनाको सिलिङसम्म टाँस्सिएर बस्छ
भोको भाँडाभित्रको पर्खाइ भएर पनि बस्छ
अनि सपनाहरूको क्षितिज उघार्दै फैलिरहन्छ
मेरो सारा अस्तित्व नै आकाशमय बनाइराखेर
मेरी आमा अब
आकाशमै पनि नबाँधिने गरी मुक्त भइन्
उपसंहार:
यसरी आकाशसहित सिंगो पृथ्वी नै
हाम्रै निम्ति छोडिराखेर
आमा त युमासाम् भइगइन्
निर्बन्ध निराकार
अब युमा हुनुबाट पनि उन्मुक्त भई
परम तागेरा निवाफुमाङमा लीन हुँदैछिन्
ऊँ तागेरा निवाफुमाङ
सेवारो !
आम्मा ए ! आसेवारो !!
No comments:
Post a Comment