इन्द्रकूमार श्रेष्ठ 'सरित्'
उज्यालो बिहानी
एक्कासी हून्छ धूमिल उदासीमा
कारण छैन तैपनि मन छ छटपटीमा
पलपलले घोंच्छ, समयले घिर्सार्छ
हून्छ सृजना तनाव, बढ्छ व्याकूलता
बन्द झ्याल र ढोका खोलेर हेर्दा
घाम लागेकै छ तर अंध्यारो छ मनको कोठा ।
आँखामा पानी छैन, ओंठ नहाँस्नूमा कारण छैन
तैपनि जीवन तातोपानीमा चोबिएकोछ
फुलको आकर्षामा काँडाहरुले धर्फराएको छ
तिर्खैतिर्खा छ जीवनको घाँटीमा
तर पानी छैन कूवामा, केवल तिर्खा छ
गन्तव्य नै भएर पनि पीडा र गन्तव्यहीनताको
भ्रम छ, अन्यौल छ, आँखाको ज्योतिले भ्रम तोडिन्न
त्रासै त्रासको माझमा कहीं न कहीं आश पनि छ ।
चिप्लो बाटोमा लौरी टेक्ने चाहना, अहो ।
ओरालीमा तोक्मामा अडेश लाग्ने चाहना, अहो ।
यूग बित्यो चिन्ताको कसौंडीमा छड्किएको
जीवन नै पाक्न लागिसक्दा पनि चिन्ता पाकिसकेन
धाउंदा धाउंदा नतः चौतारी भेटियो नतः छहारी
नीरसरि पहाडसंगै टाँसिन नि सकिएन
पर्जन्यसरि खडेरीलाई जित्दै बृष्टि हून पनि सकिएन ।
आशा, आशा केवल आशा तर सधैं निराशा
चाहेकै हो चिर्न काला काला बादलका काला पर्दा
ऐठन गर्छन् दन्त्यकथाका राक्षसहरु हर रात
व्युंझिदा भिज्छ पसिनाले निथू्रक्क र हाँस्छू फिस्स
के जीवन हो यही ? नियति हो यही ?
अँ हँ । भाग्य लेख्नेछन् कर्मशील पाखूरीहरुले
उकूसमूकूस, छटपटी, बिध्नबाधालाई जितेर नै
मलहम लाग्नेछ गलेनी फाटेको नौनी मनहरुमा
धैर्यले, आँटले, परिश्रमले, बूद्धिले अनि जूक्तिले ।
No comments:
Post a Comment