गोविन्द घिमिरे 'वेदमणि'
प्राणीकै अवसान खोज्छ त्यसले त्यो जीवकै शत्रु हो
भेट्दा मित्र बनेर घुस्छ पहिले आनन्दले भित्र त्यो ।
घुस्दै जीवनचक्र बन्छ त्यसको बढ्छन् हजारौं गुणा
हुन्छन् शत्रु अचम्भको नचिनिने हुन् बीखका ती फणा ।।
देखिन्नन् सजिलै खुला नयनले सर्वत्र बस्दा पनि
टेलिस्कोप सिवाय हेर्न कसले सक्दैन त्यो जीवनी ।
उम्लेको जल वा विकीरणहरु यी शत्रुका शत्रु हुन्
आगो,औषधिका विषाणु अथवा यी जीवका शस्त्र छन् ।।
यी पस्छन् कमजोर अङ्गहरुको बाटो गरी देहमा
निस्कन्नन् तर लड्दछन् शरीरमा फैलेर सम्पूर्णमा ।
मारिन्नन् यदि, सर्दछन् सबतिरै सन्त्राश पारीकन
हाहाकार बनाउँछन् सबजना मार्छन् अनेकौं जन ।।
काट्दैनन् हतियार धार कहिल्यै गोली न ती छेड्दछन्
जानेछन् बम खेर भैकन यहाँ सूक्ष्मातिसूक्ष्मादिछन् ।
छोइन्नन् अझ मन्त्रले जति फुकी गर्दा यहाँ वास्तव
हो यो सूक्ष्म तथापि धेर बलको हारेर जान्छन् सब ।।
देखेको पर शत्रुबाट कहिले डर्दैन मान्छे त्यति
लेखेको पनि बुझछ मानिस यहाँ तर्सन्न कैले अति ।
त्यो भन्दा अनदेखका रिपुहरु जीवाणु कीटाणुले
मान्छेलाइ हराउँछन् घरिघरी यै भन्छ विज्ञानले ।।
दुर्गन्धी स्थलमा सदैव यिनको हुन्छन् बसोवासनै
बासी खाद्य, सडालु चीज सबमा यी नाच्दछन् धेर नै ।
जो हुन्छन् अनजान शत्रु यसमा ती ढल्दछन् वीरनै
जो टाढा यसबाट हुन्छ सजिलै त्यो जित्छ संग्राम नै ।।
यस्तो शत्रु चिनेर काम गरिनु हो बुद्धिमानी पनि
टाढा संगतमा बसेर यिनको कल्याण होला, भनी ।
भन्छन् डाक्टर बैद्य प्रेमसितले मान्दा यिनै शत्रुले
गर्दैनन् कहिले नि आक्रमणनै यी सूक्ष्म जीवाणुले ।।
No comments:
Post a Comment