Oct 30, 2008

म मदन र मेरी मुना


टंक सम्वाहाम्फे

उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्,

हङकङमा हामीले
परीपरीका सपनाहरू देख्यौ
तर मात्रै देख्यौ
थरीथरीका सपनाहरू भेट्यौ
तर मात्रै भेट्यौ
किनकी यहाँ त ती सपनाहरू
देख्ने र भेट्ने संयोग मात्र मिलेको छ
तर पनि त्यसको मोहले
छुन खोज्दा
यहाँको अग्लो महलहरू भन्दा माथि
अग्लिएकाछन् सपनाहरू
चुम्न खोज्दा
यहाँको भूमिगत रेल भन्दा
तिव्र गतिमा
हुईकिएकाछन् सपनाहरू
भेट्न खोज्दा
यहाँको दुईतले गाडीभन्दा
हतार-हतार
गुडेकाछन् सपनाहरू
त्यसैले म मदन र मेरी मुना
सपनाहरूको रमिते मात्र भएकाछौँ
तै पनि हाम्रा मनहरू
त्यसै त्यसै लोभिएकाछन्
सपनाहरूलाई देखेर
यसकारण सपना खोज्नेहरूको
भीडमा धकेलेर
हङकङ शहरमा
बर्षौदेखि हराई रहेकाछौँ
उत्ता गाउँलेहरू सोच्दै होलान्
मदनले
सपनाको महल ठड्याई सक्यो
उत्ता शहरका
आफन्तहरू भन्दै होलान्
मुनाले सपनाको भकारी
भराई सकि
तर यता हङकङ शहरमा
म मदन र मेरी मुना
जीउँनुको बाध्यताले
जीवन यन्त्रवत बनाई रहेकाछौँ
किनकी दिनभरीको
जोखीम र हैरान मोलेर
हरेक साँझ लखतरान
निदाएका हुन्छौँ
र हरेक विहान
अल्लामको घण्टिले
शिथिल जीउलाई उठाईरहेका हुन्छौँ
यो यन्त्रवत जीवनको भोगाईहरूमा
खोई कहाँ छ र ?
बिहानीको त्यो मीठो निंद्रा
खोई कहाँ छ र ?
मखमलको त्यो नरम ओछ्यान
खोई कहाँ छन् र ?
ती आफन्त जनहरू
यहाँ त सपनाले सवै सुखशान्ति
र चयनहरू
निर्मम लुटि दिएको छ
निर्मम खोसी दिएको छ,

हङकङका चाईनिज सिफुहरू
सपना दौडेको देख्छन्
घोडारेसमा
र घोडासँगै दौडाउँछन्
महिनाभरी कमाएको सपना पनि
तिनै सिफुहरू
सपना नै छापीएको देख्छन्
मार्क सिक्समा पनि
र स्वास्नीको सपनाले
किनी दिन्छन् मार्क सिक्स
तर, जब घोडा दौड सकिन्छ
र मार्क सिक्स खोलीन्छ
तब उनीहरूको हातबाट
सपना टाढी सकेको हुन्छ
तत्क्षण पाश्चातापले पोलिँदै
रीसले मुर्मुरीदै
र्फकन्छन् खाली हात आफ्नै घरतिर
यसरी सपनाले
म मदन र मेरी मुनालाई
मात्र नभएर
चाईनिज सिफुहरूलाई पनि
छक्याउँनसम्म छक्याएको छ
तै पनि हामीले
सपनालाई खोज्न छोडेनौँ
खोजीरहेकाछौँ
यता हङकङ पसेदेखि
त्यसकै पछिपछि दौडिरहेकाछौँ
थाहा छैन सपना कहिले भेटिने हुन् ?
थाहा छैन सपना सपना भएर
कहिले आउँने हुन् ?
तर पनि खोज्ने क्रम निरन्तर जारीछ
यसरी हङकङमा
म मदन र मेरी मुनालाई
वर्षौ देखि सपनाले अल्मल्याएकाछ ।

No comments: