Nov 30, 2008
आमा
सुनिता गिरी
आमा तिमीलाई सम्झँदा ,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर,
लर्बराउछ पाइला धर्तिमा,
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो ,छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिर्सेर,
भबिष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ,
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बेाकेरै भए पनि
सीसाकलम समाउन सीकायौ
बाहृखरी लेख्न सीकायौ
तिम्रो स्पर्श कति पबित्र,
पौडिरहे आँचल भित्र
कोरीरहन्थे सुनौलो सचित्र
भत्काउन दुखको पहाड,
निस्कीएँ आगनबाट दिनदहाड,
अग्लामहल र कारहरुको कोलाहल छिचोलेर
भावनमा डुबिरहे एकैछिन
कल्पनामा टोलाइरहेँ सम्झेर तिम्रो काख
तर, भुलिरहेँ शहरको रमझममा,
नशामा उम्लीयो तिम्रो याद,
झस्कीए, तर्सिए,आफनै छायाँ देखेर,
भुलिसकेछु तिम्रो माया
बिर्सी सकेछु तिम्रो छाँया
फोन गर्छु हरपल साथीलाई,
एक घन्टी पनि बज्दैन तिमीलाई
जन्मायौ किन यस्तो सन्तान लाई !
यो ब्यस्तताको कुहिरो भित्र
सबैबाट तिरस्कृत भएछुँ ,
अपमानको पगरी गुथेछुँ
मानवता हराएको नगरीमा एक्लो भएछुँ
निसास्सीदो यो यात्रामा ,
पोलिरहृयो तिम्रो ममताले
बाटो भुल्ने छैन पाइला लर्रबराए पनि
बिर्सने छैन आफना लक्ष्यहरुलाई
पखाल्ने छु मेरा पापहरुलाई,
रिन तिर्नेछु आमा तिम्रो चोखो स्नेहको
सुयोग्य सन्तान भएर फक्रिनेछु
तिम्रै पाउमा पुजा गर्नेछु
आमा तिम्रै सेवा गर्नेछु
हङकङ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment